भूकम्पबाट ९१० वटा भवन पूर्ण रूपमा क्षति; नेपालमा अझै ठूला र शक्तिशाली भूकम्पको जोखिम बाँकी नै छ
काठमाडौं, कात्तिक १९ । जाजरकोट र रूकुम पश्चिममा ९१० वटा घर भूकम्पका कारण पूर्ण रूपमा क्षति पुगेको छ।
शुक्रबार राति ११:४७ जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पका कारण ९१० वटा घर पूर्ण रूपमा क्षति पुगेको नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएको छ।
यस्तै २ हजार ८६१ घरहरूमा आंशिक रूपमा क्षति पुगेको छ। जाजरकोट, रूकुम पश्चिमसँगै कर्णाली प्रदेशका अन्य केही जिल्लाका केही घरहरूमा पनि आंशिक रूपमा क्षति पुगेको छ।
भूकम्पका कारण दुई जिल्लामा मात्रै १५७ जनाको मृत्यु भएको हो। आफन्तले उक्त शव बुझिसकेका छन्।
जाजरकोटमा १०५ जना र रूकुम पश्चिममा ५२* जनाको मृत्यु भएको थियो। अहिले पनि विपद् व्यवस्थापनको लागि प्रहरीमात्रै एक हजार ६४ जना खटिएका छन्।
त्यसबाहेक सशस्त्र प्रहरी बल र नेपाली सेनाको पनि छुट्टाछुट्टै टोली खटिएर उद्धार तथा व्यवस्थापनको काम भइरहेको छ।
भूकम्पमा परी साढे २ सय बढी मानिसहरू घाइते भएका छन्।
१४६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज समेत भइसकेका छन्। अझै ११० जना उपचाररत छन्।
‘नेपालमा अझै ठूला र शक्तिशाली भूकम्पको जोखिम बाँकी नै छ’
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले नेपालमा अझै शक्तिशाली भूकम्पको जोखिम कायमै रहेको बताएका छन् । उनले नेपालको पश्चिम क्षेत्रमा झन्डै ५ सय वर्षदेखि महाभूकम्प नगएकोले ठूला भूकम्पको जोखिम रहेको बताए ।
भूकम्पको असर अध्ययनका लागि हाल जाजरकोट पुगेका डा.अधिकारीले भने,‘अहिले कर्णाली प्रदेशमा गएको भूकम्प नेपालमा यसअघि गइरहने भूकम्पजस्तै हो । नेपालको भौगोलिक अवस्थाअनुसार जमिनमुनी रहेको दक्षिण तर्फको इन्डियन प्लेट उत्तरतर्फको प्लेटसँग घर्षण हुँदा जुन शक्ति सञ्चय हुन्छ, त्यही जम्मा भएको शक्ति उत्पन्न हुने क्रममा बेला बेला भूकम्प जान्छ ।’
जाजरकोटमा करिब १५ किलोमिटर जमिनमुनिबाट सञ्चितशक्ति निस्किएको बताउँदै यस्ता भूकम्प जानका लागि गोरखादेखि पश्चिम र देहरादुनदेखि पूर्वको भागमा करिब ५ सय वर्षदेखि महाभूकम्प नगएकोले त्यसबेलादेखिको सञ्चित शक्ति निस्किरहने उनले बताए ।
उनले भने,‘जमिनमुनिको सञ्चित शक्ति निस्कँदा जति ठूलो भूकम्प जान थाल्यो, त्यो दोहोरिने अवस्था निर्माण हुँदै जान्छ । जस्तै ८ म्याग्निुच्यूडभन्दा माथिका भूकम्पहरु धेरै अन्तरालमा आउने हुन्छन्, त्यो भन्दा तल ६ देखि ७ म्याग्नुच्यूडसम्मका दशकौंको अन्तरालमा आउने गर्छ । त्यो भन्दा साना केही वर्षको अन्तरालमा र ४ म्याग्नीच्युडभन्दा तलका भूकम्प जुन दैनिक रुपमा नै आइरहेका हुन्छन् ।’
नेपालमा ४ म्याग्नीच्यूडभन्दा माथिको भूकम्प जाँदा मानिसले थाहा पाउने र भूकम्प मापन केन्द्रले पनि जानकारी गराउने गरेको उनले बताए । हामीले थाहा नपाएपनि ४ म्याग्नीच्युडभन्दा तलका धेरै भूकम्प दैनिक रुपमा जाने गरेको उनले बताए ।
उनले भने,‘यो वर्ष एकैपटक बझाङमा पनि गयो, त्यसअघि त्यत्रै भूकम्प डोटीमा गएको थियो । २०५८ सालतिर बैतडीमा पनि भूकम्प गएको थियो । साना भूकम्प पहिलेदेखि नै गइरहेको हो । पृथ्वीको भूवनोटअनुसार कतै बलियो ठाउँ भएर जमिनमुनि धेरै समयसम्म शक्ति सञ्चित भएको हुन सक्छ र पछि ठूलो भूकम्पको रुपमा जान सक्छ । कुनै कमजोर भूवनोट भएको ठाउँमा भने थोरै शक्ति जम्मा हुँदा पनि छिटो र साना भूकम्प जाने हुन्छ ।’
नेपालको सबै क्षेत्र भूकम्पको जोखिममा रहेपनि गोरखादेखि पश्चिमतिर झन्डै ५ सय वर्षपछि महाभूकम्प नगएकोले त्यो क्षेत्रप्रति बढी सरोकार र चासो रहेको उनले बताए ।
डा. अधिकारीले भने,‘पश्चिम नेपाल महाभूकम्प जान सक्ने सम्भावना भएको क्षेत्र हो । पश्चिम नेपालमात्र हैन, अफ्गानिस्तानदेखि वर्मासम्मको हिमालय श्रृङ्खला मुिनको भाग भूकम्पीय जोखिममा रहेको छ । नेपालमा पनि पूर्वदेखि पश्चिमसम्म सबै क्षेत्र भूकम्पीय जोखिममा छ ।’
बझाङ र जाजरकोटको तुलना
गत असोज १६ गते बझाङमा गएको भूकम्प र गत शुक्रबार राती जाजरकोटमा गएको भूकम्प एउटै प्रकारको रहेको अधिकारीले बताए । यी दुवै भूकम्प जमिनको १० देखि १५ किलोमिटर तलबाट गएको बताउँदै हिमालय बन्ने प्रक्रियामा जमिनमुनिको दुईटा प्लेट सर्ने क्रममा जम्मा भएको शक्ति निस्किएको उनले उल्लेख गरे ।
उनले भने,‘दुवै भूकम्प जाने तरिका एउटै थियो । फरक के थियो भने बझाङको भूकम्प सानो थियो, जाजरकोटको भूकम्प त्यो भन्दा ठूलो हो । बझाङको भूकम्पभन्दा जाजरकोटको भूकम्प बढी समय लगाएर पनि गएको छ, जसले गर्दा क्षति बढी हुन गयो ।’
क्षति बढ्नुको कारण कच्ची भवन
जाजरकोटमा गएको भूकम्प ठूलो क्षति पु¥याउने भूकम्प नभएपनि कमजोर भौतिक संरचना र रातको समय भएकाले धेरै क्षति भएको उनले बताए ।
उनले भने,‘मानवीय तथा भौतिक संरचनामा धेरै क्षति पुग्नुको कारण हाम्रा घरको संरचना धेरै कमजोर हुनु हो । अर्को कुरा राती भूकम्प गयो, त्यही किसिमको भूकम्प दिउँसो गएको मानवीय भए क्षति कम हुन्थ्यो ।’
ठूलो भूकम्पपछि जाजरकोटमा ४ रेक्टरभन्दामाथि ३ वटा ठूला भूकम्प गएको छ । त्यो भन्दा साना १ सय भन्दा बढी परकम्प गइसकेको छ । एक ठाउँमा भूकम्प गयो भने त्यहाँ धेरै परकम्प जाने डा.अधिकारीले बताए ।
बझाङको भूकम्प जानुअघि एउटा पूर्वकम्प आएका कारण मानिसहरु सचेत हुन पाएको तर जाजरकोटको हकमा भने सिधै ठूलो भूकम्प आएको उनले बताए ।
डा. अधिकारी नेपाल सधैँ भूकम्पीय जोखिमको अवस्थामा रहेको बताउँदै क्षति कसरी कम गराउन सकिन्छ भन्ने बारेमा पूर्वतयारीमा सरोकारवाला पक्ष लागिरहनुपर्ने बताउँछन् ।
उनले भने,‘नेपालमा अझै ठूलो शक्तिशाली भूकम्प जान बाँकी नै छ । त्यो भूकम्प कहिले जान्छ भन्न सक्ने अवस्था हुँदैन । त्यसैले, जोखिमका लागि सधैँ पूर्वतयारी गरिरहनुपर्छ ।’