एकसय बढीको आँखाको शल्यक्रिया
ताप्लेजुङ, मङ्सिर १२ गते । ताप्लेजुङमा सञ्चालित तीन दिने आँखा शिविरमा एकसय बढी रोगीको आँखाको शल्यक्रिया गरिएको छ। मङ्गलबार सकिएको शिविरमा मोतियाविन्दु भएकासमेत कुल १३१ जना विरामीको आँखाको शल्यक्रिया गरिएको हो।
नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ, फुङ्लिङ नगरपालिका र सेवा फाउन्डेसन काठमाडौंको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो। शिविरमा ६८ जना पुरुष र ६३ महिलासहित १३१ जना आँखाका रोगीको शल्यक्रिया गरिएको नेपाल नेत्र ज्योति सङ्घका जिल्ला उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार १२१ जनाको मोतियाविन्दु र १० जनाको आँखाको साधारण शल्यक्रिया गरिएको छ। यस्तै शिविरमार्फत ५२४ जनाको आँखा परीक्षण गरिएको आयोजकले जनाएको छ।
सदरमुकाम फुङ्लिङस्थित नेत्र ज्याति सङ्घद्वारा सञ्चालन डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा शिविर सञ्चालन गरिएको थियो। आइतबारदेखि सुरु गरिएको आँखा शिविरमा विराटनगर आँखा अस्पतालका नेत्र चिकित्सक डा. सगुन मल्ल सहितको टोली संलग्न रहनुभएको पनि नेपाल नेत्र ज्योति सङ्घले जानकारी दिएको छ।
सङ्घका अनुसार लायन्स क्लब अफ काठमाडौं, हाम्रो रुपान्तरण लायन्स क्लब अफ तार्केश्वर, हेल्पिङ ह्याण्डस् नामक संस्था र सानिमा मध्यतमोर हाइड्रोपावर लिमिटेड ताप्लेजुङको शिविरमा सहयोग रहेको थियो।