विश्वव्यापी चुनौतीको सामूहिक र क्षेत्रीय समाधान खोज्नुपर्छ : मन्त्री साउद

काठमाडौँ, माघ ३ गते । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विश्वले सामना गरिरहेका साझा चुनौती र समस्याको विश्वव्यापी र क्षेत्रीय समाधान खोज्न सहयोग आवश्यक रहेकामा जोड दिनुभएको छ ।

युगान्डाको राजधानी कम्पालामा भइरहेको असंलग्न आन्दोलन (नाम)को मन्त्रिस्तरीय बैठकलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामी कोभिड-१९ महामारीको निरन्तर प्रभाव, जलवायु परिवर्तन, द्वन्द्व, खाद्यान्न र ऊर्जालगायतमा भएको मूल्यवृद्धि, ऋणको बोझलगायतका सङ्कट र चुनौतीको सामना गरिरहेका छौँ । यसका लागि विश्वव्यापी र क्षेत्रीय समाधान खोज्न सहयोग आवश्यक छ ।”

मन्त्री साउदले विश्वव्यापी समृद्धि समानरुपमा बाँडफाँट गर्न र समावेशी विश्वव्यापी व्यवस्थाका लागि नामले सामूहिक आवाजलाई जोड दिनुपर्ने उहाँको भनाइ थियो । नाम आन्दोलन ध्रुवताको पूर्वाग्रहबाट मुक्तिका लागि एक शक्तिशाली राजनीतिक आवाज बनेको उल्लेख गर्दै उहाँले नाम एक सय २० देशको प्रतिनिधित्व भएको सबल सङ्गठनका रूपमा रहेको र यसमा विश्वको करिब ६० प्रतिशत जनसङ्ख्या रहेको उल्लेख गर्नुभयो ।

नाम द्वन्द्वदेखि जलवायु परिवर्तन, आर्थिक सामाजिक असमानता, भोक, रोगलगायत चुनौती र समस्याको विश्वव्यापी समाधान खोज्ने सबल सङ्गठन भएको उहाँको भनाइ थियो । मन्त्री साउदले संयुक्त राष्ट्र सङ्घ बडापत्र र अन्तर्राष्ट्रिय कानुनको रक्षा गर्दै नामले समस्या र चुनौतीको शान्तिपूर्ण समाधानमा निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले नामले दिगो विकास लक्ष्य र अन्य अन्तर्राष्ट्रिय रूपमा निर्धारण गरिएका विकास लक्ष्यका उपलब्धिका साथै जलवायु न्याय र जोखिममा रहेका मुलुकको हितमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

मन्त्री साउदले नामको उद्देश्य र सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याउँदै यसलाई नेपालको संविधानले विदेश नीतिका रूपमा आत्मसात् गरेको अवगत गराउनुभयो । “हामी सधैँ स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गरेका छौँ”, मन्त्री साउदले भन्नुभयो । असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म युगान्डा गणतन्त्रको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि माघ ४ गते त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

शिखर सम्मेलन अघि आजदेखि दुई दिने मन्त्रिस्तरीय बैठक सुरु भएको छ । शिखर सम्मेलनको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो । यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रियरुपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter