नश्ल सुधार गरिएका बाख्राप्रति आकर्षण

बाबुराम देवकोटा / सिन्धुलीमाढी, फागुन २४ गते । सिन्धुलीको फिक्कल गाउँपालिकाका विपन्न किसानहरू नश्ल सुधार गरिएको बाख्रापालन व्यवसायप्रति आकर्षित भएका छन् ।

फिक्कल गाउँपालिका र हेरफेर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित कृषि तथा पशुपालन उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत स्थानीय किसानलाई निःशुल्क नश्ल सुधार गरिएका बाख्रा वितरण गरेपछि उनीहरू त्यसप्रति आकर्षित भएका हुन् ।

स्थानीय बाख्राभन्दा नश्ल सुधार गरिएका बाख्राबाट बढी आम्दानी लिन सकिने भएपछि किसान त्यसप्रति आकर्षित भएका फिक्कल गाउँपालिका –३ चनौटेकी किसान हिमा श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘मैले पनि नश्ल सुधार गरिएका दुई वटा बाख्रा उपहार स्वरूप निःशुल्क पाएको छु । मैले ती बाख्राबाट पहिलो बेतमा ब्याएका दुई वटा पाठी बहिनी समूहको अर्को किसानलाई निःशुल्क दिई सके ।’

नश्ल सुधार गरेका बाख्राबाट जन्मिएको पाठापाठी उन्नत जात र बढी आम्दानी लिन सकिनेखालको हुने उहाँले बताउनुभयो । फिक्कल गाउँपालिकाका छ वटै वडामा सामूहिक सरोकार समाज (सिसिएस) को साझेदारीमा कृषि तथा पशुपालन उद्यमशीलता विकास कार्यक्रम २०७८ मङ्सिरदेखि सञ्चालन हुँदैआएको गाउँपालिकाले जनाएको छ ।

सिसिएसका अध्यक्ष नवराज पहाडीका अनुसार छ वटै वडामा ४८ वटा समूह गठन भएको छ । ती मध्ये १२ वटा मूल समूह र ३६ वटा बहिनी समूह रहेका छ । कृषि तथा पशुपालन उद्यमशीलता विकास कार्यक्रमबाट एक हजार दुईसय घर परिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।

ती सबै वडामा गरी नश्ल सुधार गरिएका २१६ वटा बाख्रा र ४१ वटा उन्नत जातको ब्याडे बोका वितरण गरिसकेको उहाँले जानकारी दिनुभयो । पालिका भरिमा ९० वटा आधुनिक खोर निर्माण भइसकेको र एउटा खोर निर्माण गर्न किसानलाई दश हजार रुपियाँ अनुदान दिएको उहाँले बताउनुभयो ।

सो कार्यक्रमअन्तर्गत कृषिलाई आधुनिकीकरण गरी उत्पादनमा जोड दिने उद्देश्यले किसानलाई प्रविधि, उपकरण सहयोग, टनेल वितरण, किम्बु, बडहर, नेपियर, अम्रिसो, बकाइनो, इपिललगायतका उन्नत जातको घाँसका बिरुवा वितरण हुँदै आएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले कृषि तथा पशुपालन उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत किसानको उत्पादनलाई सहकारीमार्फत बजारीकरण गर्ने गरी काम भइरहेको बताउनुभयो । ‘फिक्कलमा किसानलाई बाख्रापालनसहित कृषि तथा पशुपालनसँग जोडिएका अरू पनि आय–आर्जनको काम भइरहेको छ’ उहाँले भन्नुभयो, ‘पालिका भरिमा चार हजार घरधुरी छ । ती घरधुरीमा यो कार्यक्रम पुगाउने प्रयास भइरहेको छ ।’

गाउँपालिकाले महिलालाई कृषि र पशुपालनको क्षेत्रमा घरमै बसेर आम्दानी लिन सक्ने कार्यक्रमलाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको अध्यक्ष सुनुवारको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter