प्रधानमन्त्री प्रचण्डलाई तेस्रो पटक विश्वासको मत; मेरो जिम्मेवारी अझ बढेको छ: प्रधानमन्त्री

काठमाडौं, फागुन ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा तेस्रो पटक प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज प्रतिनिधिसभा बैठकमा उहाँको पक्षमा १५७ र विपक्षमा ११० मत परेको छ ।

पक्षमा बहुमत मत प्राप्त भएकाले उहाँले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । प्रतिनिधिसभामा कायम २७५ सांसदमध्ये बुधबारको बैठकमा २६८ जनाको उपस्थिति रहेको थियो । एक जना सांसदले तटस्थमा मतदान गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार संसद् बैठकबाट विश्वासको मत लिनुभयो ।

विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभामा कायम सदस्यको १३८ मत ल्याउनुपर्ने हुन्छ । प्रधानमन्त्री प्रचण्डलाई सोभन्दा बढी मत प्राप्त भएकाले उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले यसअघि २०७९ पुस १० गते नेकपा (एमाले) को समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुँदा पुस २६ गते पहिलो पटक संसद् बैठकबाट विश्वासको मत लिनुभएको थियो । सोपछि ६२ दिनमा प्रधानमन्त्री प्रचण्डले एमालेसँगको गठबन्धन त्यागी नेपाली कांग्रेससँग २०७९ फागुन १२ गते गठबन्धन गरी पुनः प्रधानमन्त्रीको जिम्मेवारीमा आउनुभएको थियो ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँले पुनः २०७९ चैत ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको थियो । अहिले फेरि कांग्रेससँग गठबन्धन त्यागी फागुन २१ गते एमालेसहित दलसँग नयाँ गठबन्धन बनाएर सरकारको जिम्मेवारीमा रहनुभएकाले काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोहीकारण प्रधानमन्त्री प्रचण्डले पुनः बुधबार तेस्रो पटक विश्वासको मत लिनुभएको हो ।

अहिलेको गठबन्धनमा प्रधानमन्त्रीसँग ६ दलको समर्थन रहेको छ । नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन सांसदले उहाँलाई पक्षमा विश्वासको मत दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डको विपक्षमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेमकिपाका सांसदले मत दिनुभयो ।

यसअघि २०७९ पुस २६ गते लिनुभएको विश्वासको मतमा प्रधानमन्त्री प्रचण्डले २६८ मत प्राप्त गर्नुभएको थियो । त्यतिबेला एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीले उहाँको समर्थनमा मत दिएका थिए ।

त्यसैगरी सत्ता गठबन्धन फेरिएपछि दोस्रो पटक चैत ६ गते प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिनुभएको थियो । दोस्रो पटक उहाँले सांसदहरुबाट १७२ मत प्राप्त गर्नुभएको थियो । उहाँको विपक्षमा ८९ मत परेको थियो ।

प्रतिनिधिसभामा रहेको दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोहीकारण प्रधानमन्त्री प्रचण्डले बुधबार विश्वासको मत लिनुभयो । प्रधानमन्त्री प्रचण्डलाई स्वतन्त्र सांसद प्रभु साह, अमरेशकुमार सिंहले मतदान गर्नुभयो ।

प्रधानमन्त्रीको प्रतिक्रिया, ‘मेरो जिम्मेवारी अझ बढेको छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट तेस्रो पटक विश्वासको मत पाएसँगै आफ्नो जिम्मेवारी अझै बढेको प्रतिक्रिया दिनुभएको छ । बुधबार संसदमा विश्वासको मत लिएसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले आफ्नो जिम्मेवारी बढेको प्रतिक्रिया दिनुभएको हो ।

प्रधानमन्त्रीले राष्ट्र र जनताको पक्षमा राम्रो काम तीव्र गतिमा पूरा गर्ने आफ्नो जिम्मेवारी रहेको जानकारी दिनुभयो । उहाँले काँधमा जिम्मेवारी थपिएको बताउनु भयो । उहाँले संयमित वातावरणमा लोकतान्त्रिक ढङ्गले विश्वासको मत पाएको पनि बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने सांसदहरू र सांसदप्रति आभार पनि व्यक्त गर्नुभयो ।

‘‘आजको संसदमा जीवन्त रूपले लोकतान्त्रिक अभ्यास भयो । बडो राम्रो संयमित वातावरणमा । यसले हाम्रो लोकतन्त्र अझ सजीव बनेको छ । अझ सुदृढ बनेको छ भन्ने मैले महसुस गरेको छु । मलाई प्रधानमन्त्रीको रूपमा जसरी विश्वासको मत प्राप्त भएको छ । तीन पटक, तीनवटा अलग अलग अनुभूति र अलग अलग अनुभव पनि भए । पहिलो पटकको अनुभव मैले पुरानै गठबन्धन बाट नै प्रधानमन्त्री बन्ने अन्तिम तयारी गरेको बेलामा नै अन्तिम घडीमा बालकोटमा गएर केपी ओलीजी लगायतको समर्थनमा म प्रधानमन्त्री बने ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘दोस्रो पटक पुरानै गठबन्धनमा फर्किएपछि झण्डैझण्डै शतप्रतिशत समर्थन मलाई प्राप्त भयो । विश्वासको मत यो रूपमा सदनबाट दुईजना छोडेर बाँकी सबैको समर्थन प्राप्त हुनेकुरा पनि नेपालको इतिहासमा एउटा असाधारण र अभूतपूर्व परिघटना थियो । मैले त्यो अनुभूति पनि गरेँ । सम्पूर्ण सदनको नै समर्थन हुँदा कस्तो हुँदोरहेछ नेतृत्वलाई भन्ने कुराको सकारात्मक, सुखद अनुभूति पनि गरेँ ।

आज फेरी नयाँ राजनीतिक समीकरणसहित विश्वासको मत लिदाँखेरीको अनुभव अझ बढी लोकतान्त्रिक ढङ्गले सजीव रह्यो । मेरो जिम्मेवारी अझ बढेको छ । राष्ट्र र जनताको पक्षमा राम्रा काम तीव्र गतिमा पुरा गर्ने, अगाडी बढाउने जिम्मेवारी हो यो । मेरो काँधमा जिम्मेवारी थपिएको छ । म सदनप्रति आभार व्यक्त गर्न चाहन्छु ।’’

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter