चीनले नेपाललाई नौ अर्ब अनुदान दिने; औद्योगिक तथा पूर्वाधार विकासदेखि गरिबी निवारणसम्मको सम्झौतामा हस्ताक्षर


काठमाडौँ, मङ्सिर १८ गते। चिनियाँ राष्ट्रपति सी चिन फिङलेले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार प्रधानमन्त्री केपी ओलीसँगको भेटपछि चिनियाँ राष्ट्रपति सीले सहयोग रकम घोषणा गर्नुभएको हो। चिनियाँ पाँच सय मिलियन आरएमबी अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको हो। यो रकम नेपाली रुपियाँ नौ अर्ब हुन्छ।

नेपालका प्रधानमन्त्री ओलीले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी र चिनियाँ राष्ट्रपतिसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको हो।

मङ्गलबार बिहान ओली र चिनियाँ प्रधानमन्त्री ली चियाङबीच बेइजिङमा भेटवार्ता भएको हो। उहाँहरूको उपस्थितिमा दुई देशका अधिकारीहरूले पारस्परिक सहयोगका लागि विभिन्न नौ वटा सहमतिपत्रमा हस्ताक्षर भएको छ। सहमतिपत्रमा आर्थिक सहकार्य, व्यापार प्रवर्धन र भौतिक संरचना निर्माणका विषय समेटिएका छन्।

सहसचिव ढकालका अनुसार नेपाल र चीन पुराना र असल छिमेकी तथा मित्रराष्ट्र भएको उल्लेख गर्दै राष्ट्रपति सीले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, सम्मान र सहयोगमा आधारित रहेको बताउनुभयो । उहाँले नेपालको विकास र समृद्धिमा चीनको दरिलो साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

राससका अनुसार, राष्ट्रपति सीले नेपाली वस्तु चिनियाँ बजारमा आयात गर्न र चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्न तयार रहेको बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले चीन र नेपालको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको बताउँदै आपसी सम्बन्धको मूल आधार सार्वभौमिक समानता र आपसी समझदारी एवं विश्वास भएको स्पष्ट पार्नुभयो ।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई निमन्त्रणा दिनुभयो ।

जवाफमा राष्ट्रपति सीले नेपाल भ्रमण आमन्त्रणको लागि धन्यवाद व्यक्त गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताउनुभयो ।

नेपाल–चीनबिच औद्योगिक तथा पूर्वाधार विकासदेखि गरिबी निवारणसम्मको सम्झौतामा हस्ताक्षर

प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा नेपाल र चीनबिच विभिन्न समझदारी भएको छ । दुवै देशका प्रधानमन्त्रीबिच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले नेपाल र चीनबिच टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेको जानकारी दिनुभयो ।

यसैगरी, नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनर्निर्माण सम्पन्न गरेको प्रमाणपत्रको आदानप्रदानका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको छ ।

प्रवक्ता ढकालले भन्नुभयो, “सम्पर्क सञ्जाल विस्तार, औद्योगिक तथा पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रमा सहकार्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकुद, प्राकृतिक प्रकोप व्यवस्थापन, दुई देशबिचको जनस्तरको सम्बन्ध, गरिबी निवारणलगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ ।”

परराष्ट्र मन्त्रालयका प्रवक्ता ढकालका अनुसार विकास आयोजनासम्बन्धी सम्झौता, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नगद सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान भएको छ ।

त्यस्तै, स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबिच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर उहाँको भनाइ छ ।

‘अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहायता सामग्री सरकारले उपलब्ध गराउँछ’

काठमाडौं / मङ्सिर १८ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने सहायता सामग्री सरकारले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मङ्गलबार अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘अपाङ्गता भएका नागरिकको क्षेत्रमा केही गरेर देखाउन चाहन्छौँ । त्यसैले यस्ता खाले कार्यक्रमहरू काठमाडौँमा मात्र नभई सात वटै प्रदेश र ७७ वटै जिल्लामा गर्नुपर्दछ । आज साङ्केतिक रूपमा एउटा सहायता सामग्री प्रदान गरेका छौँ । ७७ वटै जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरूका लागि सहयता सामग्री वितरण गर्नेछौँ ।’’

मन्त्री सुडीले आउँदो आर्थिक वर्षको बजेटमा यस शीर्षकमा बजेट छुटाउँदै निजी तथा सरकारी निकायहरूसँग समन्वय गरेर देशभरका अपाङ्गता भएका व्यक्तिहरूलाई सहयता सामग्री प्रदान गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अपाङ्गता भएका व्यक्तिहरूका आवश्यक पर्ने सहायता सामग्री उपलब्ध गराउँछौँ । यसका लागि आउँदो आर्थिक वर्षको बजेटमा समावेश गरेर र सरकारी तथा गैरसरकारी निकायहरूसँग समन्वय गरेर सहायता सामग्रीको व्यवस्था गर्छौँ । मैले मन्त्रीको रूपमा कार्यभार सम्हालेपछि अपाङ्गता भएका व्यक्तिहरूका लागि कसरी सहयोग जुटाउन सकिन्छ भनेर लागिपरेको छु ।’’

उहाँले अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिनुहुँदै दिवसले जीवनयापनको संवैधानिक हक सुनिश्चित गर्न सबैलाई प्रेरणा मिल्ने बताउनुभयो । अपाङ्गता भएका नागरिकको क्षेत्रमा देखिने गरी काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले गत सरकारले अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्ने भनेर सम्झौता गरेपनि बजेट नछुट्याएको जिकिर गर्नुभयो । बजेट बन्ने समयसम्म आफू मन्त्री रहेको खण्डमा बजेटको प्रबन्ध गर्दै देशभरका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता प्रदान गर्ने उहाँको प्रतिबद्धता छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter