स्थिर सरकार र निष्पक्ष समाज : युवा आन्दोलनको मूल माग

डा. प्रल्हाद कार्की

राजनीतिकरणको विष : समाज र संस्थाको क्षति

नेपालले अहिले भोगिरहेको संकट कुनै आकस्मिक घटना होइन। यो दशकौँदेखि फैलिएको राजनीतिकरणको विषको परिणाम हो। राज्यका संस्थाहरू नागरिक सेवाका लागि होइन, दलगत स्वार्थका लागि सञ्चालन भइरहेका छन्। नियुक्ति, पदोन्नति, जागिर, ठेक्का—सबै प्रक्रियामा योग्यताभन्दा पहुँच र निष्ठा प्राथमिक भएको छ। शिक्षा क्षेत्रमा समेत यही प्रवृत्ति छ। विश्वविद्यालयका पाठ्यक्रमहरू पार्टीअनुकूल फेरिने परम्परा बनिसकेको छ, जसले विद्यार्थीलाई विश्वसनीय ज्ञानभन्दा बढी दलगत लाभका साधनमा परिणत गरेको छ।

पेशागत संघसंस्थाहरू पनि स्वतन्त्र हुन सकेका छैनन्। शिक्षक, चिकित्सक, इन्जिनियर वा वकिलका संघहरू दलगत प्रभावको कारणले प्रदूषित बनेका छन्। यो संस्कृतिले संस्थागत हैसियतलाई कमजोर बनाएको छ, जहाँ योग्यता भन्दा नाता र पहुँचले मूल्य पाउँछ। निजी क्षेत्रमा समेत यही प्रभाव गहिरो छ। ठेक्का, इजाजतपत्र वा ठूला व्यवसाय राजनीतिक संरक्षणबिना सम्भव छैन।
यसरी समाज र संस्थाको मूल संरचना दलगत रंगले ढाकिएको छ। विचारधारा केवल नारामा सीमित बनेको छ, जबकि गुट र पहुँच नै वास्तविक शक्ति बनेका छन्। यसरी राजनीतिकरणले केवल संस्थालाई कमजोर पारिरहेको छैन, नेताहरूलाई पनि दीर्घकालीन रूपमा असफल बनाइरहेको छ।

आन्दोलनको मूल्य : मृत्यु, घाइते र कर्फ्युको त्रासदी

यही असमानता र अन्यायविरुद्ध सडकमा उत्रिएका युवाहरूले आन्दोलनलाई ऐतिहासिक मोडमा पुर्याएका छन्। Generation Z को नेतृत्वमा सुरु भएको यो लहरले मुलुकभर ठूलो ध्यान खिचेको छ। तर यसको मूल्य असहनीय रूपमा बढेको छ। अहिलेसम्म चौध जनाले जीवन गुमाइसकेका छन्, एक सय चौरानब्बे जना गम्भीर घाइते भएका छन्, र मृत्यु सङ्ख्या अझै बढिरहेको खबर आइरहेको छ।
सडकमा नारा लगाइरहेका युवाहरू, सुरक्षाकर्मीको बल प्रयोग, अनि अराजक भिडन्त—यी सबैले परिवारहरूलाई असहनीय पीडामा धकेले। घाइतेहरूमध्ये धेरै अझै अस्पतालमा उपचाररत छन्, जसको भविष्य अनिश्चित छ। अभिभावकहरू भयभीत छन्, विद्यार्थीहरू कक्षाबाट वञ्चित छन्, र श्रमिकहरू रोजगारी गुमाएर घर फर्किएका छन्।

आन्दोलनका दिनहरूले केवल मृत्यु र घाइते मात्र होइन, कर्फ्युजस्तो कठोर कदम पनि जन्मायो। राजधानीका मुख्य चोकदेखि प्रमुख सहरसम्म सरकारले कर्फ्यु घोषणा गर्न बाध्य भयो। सामान्य नागरिकलाई घरभित्र थुनियो, बजार सुनसान भए, विद्यालय बन्द भए, यातायात रोकिन पुग्यो। अस्पताल पुग्न नसक्दा उपचार ढिलो भयो, घाइतेहरूको पीडा थपियो।

कर्फ्यु राज्य र नागरिकबीचको गहिरो अविश्वासको प्रत्यक्ष प्रमाण हो। सरकारले सडकको आवाज सुन्नुको साटो बन्दुक र आदेशमार्फत नियन्त्रण गर्न खोज्दा, आफ्नो कमजोरी अझै स्पष्ट पार्यो। तर यस्तो कठोर नियन्त्रणले समाधान ल्याउँदैन। यसले सडक खाली पार्छ, तर जनताको मनमा असन्तोष अझै गहिरो बनाउँछ। यही असफलताको परिणामस्वरूप आन्दोलन त्रासदीमा परिणत भएको छ।

Gen Z को माग : शक्ति जनतामा र स्थिर सरकार

यो आन्दोलनलाई कतिपयले केवल केपी ओलीविरुद्धको आक्रोशका रूपमा चित्रण गर्ने गरेका छन्। तर वास्तविकता फरक छ। ओली अहिले सत्ता नेतृत्वमा भएकाले उनको नाम बढी चर्चामा आएको हो, तर आजको संकट दशकौँदेखि सबै दलका नेताहरूले मिलेर बनाएको हो। कांग्रेस, एमाले, माओवादी वा मधेसवादी—सबै दलले सत्ता सम्हाल्दा संस्थागत सुधार नगरी आफ्ना कार्यकर्तालाई मात्र सुदृढ पारे। यसैले आजको आन्दोलन कुनै एक नेतामाथि मात्र होइन, सम्पूर्ण नेतृत्व संरचनाविरुद्ध उठेको हो।

Gen Z ले दिएको सन्देश स्पष्ट छ। पहिलो, राजनीतिकरण रोक, ताकि शिक्षा, स्वास्थ्य, रोजगारी र सेवा–संस्थाहरू निष्पक्ष हुन सकून्। दोस्रो, शक्ति जनतामा फर्क, ताकि दलगत पहुँचभन्दा नियम र योग्यता आधार बनोस्। र तेस्रो, नेपाललाई स्थिर सरकार देऊ। दशकौँदेखि निरन्तर अस्थिरताले नीति र योजना असफल बनाएको छ। सरकारहरू बारम्बार बदलिँदा नीति उल्टिन्छन्, गठबन्धन फेरिँदा सुधार अधुरै रहन्छन्। नागरिकले असुरक्षा र अनिश्चितता मात्र भोग्छन्।
स्थिर सरकार भनेको एक दलको लामो वर्चस्व होइन। यसको अर्थ हो—सरकार नीति र सुधारमा स्थिर रहोस्, पाँच वर्षे कार्यकाल पूरा गरोस्, र संसदमा अनावश्यक खेलवाड अन्त्य होस्। यस्तो स्थिरता आइसके मात्र नागरिकले विश्वास गर्न सक्छन् कि उनीहरूको भविष्य कुनै क्षणिक गठबन्धन सौदाबाजीमा होइन, दीर्घकालीन राष्ट्रिय योजनामा टेकेको छ।

Gen Z पुस्ता केवल आक्रोशको प्रतीक होइन, विवेक र मूल्यमा आधारित नेतृत्वको स्रोत हो। उनीहरूको आन्दोलन आक्रोशमा होइन, उद्देश्यमा अडिएको छ। उनीहरूको माग सरल तर गहिरो छ—राजनीतिकरण रोकी शक्ति जनतामा फर्काऊ, र नेपाललाई स्थिर सरकार देऊ।

निष्कर्ष : आन्दोलनलाई संस्कृतिपूर्ण र उद्देश्यपूर्ण बनाऔं


आज नेपालले फेरि एक ऐतिहासिक मोड देखेको छ। सडकमा देखिएको आक्रोश केवल क्षणिक असन्तोष होइन, यो दशकौँदेखि संचित अन्यायविरुद्धको आवाज हो। तर मृत्यु सङ्ख्या बढ्दो छ, घाइतेहरूको पीडा अझै गहिरो छ, र कर्फ्युको कठोर अनुभवले हामीलाई सम्झाएको छ कि यदि राजनीतिकरण रोकिएन भने, लोकतन्त्रकै विश्वास संकटमा पर्छ।

त्यसैले अब यो आन्दोलनलाई अझ संस्कृतिपूर्ण र उद्देश्यपूर्ण बनाउन आवश्यक छ। हिंसा, तोडफोड र अराजकताले यसको नैतिकता कमजोर पार्छ, जबकि शान्ति, विचार र विवेकले यसको शक्ति बलियो बनाउँछ। Gen Z को आन्दोलनलाई कुनै एक दललाई कमजोर बनाउने साधन वा सरकार बदल्ने शॉर्टकटको रूपमा प्रयोग गर्नु घातक हुन्छ। यसलाई कतिपय स्वार्थी समूहले आफ्नो लाभका लागि कब्जा गर्ने प्रयास गर्लान्, तर युवाले सचेत भएर त्यस्तो मौका दिनु हुँदैन।

यो आन्दोलन नेपाललाई दीर्घकालीन रूपमा बदल्ने अवसर हो। यसलाई सरकार फाल्ने अभ्यास वा व्यक्तिगत लाभको साधनमा सीमित नगरी, राष्ट्रिय सुधारको बाटोमा मोड्नु सबैको साझा जिम्मेवारी हो। संस्कृतिपूर्ण अभ्यास, स्पष्ट उद्देश्य र दृढ प्रतिबद्धता नै यस आन्दोलनको असली शक्ति हो।

नेपाललाई अहिले सरकार बदल्ने होइन, शासन संस्कृतिलाई सुधार्ने आन्दोलन चाहिएको छ। यसरी मात्रै यो आन्दोलनले इतिहासमा आफ्नो स्थान सुरक्षित गर्छ, र नेपाललाई न्यायपूर्ण, समान र पारदर्शी समाजतर्फ लैजान सक्छ।

Related News

Comments are closed

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter