नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति छ : प्रवक्ता पोखरेल

काठमाडौँ, जेठ १० गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गर्नुभएको छ ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा आज आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा मन्त्री पोखरेलले स्थानीय जनताले उठाएका सडक, ढल, बिजुली, खानेपानी लगायतका समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
सोही निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद समेत रहनुभएका मन्त्री पोखरेलले निर्वाचनका दौरानमा महिनामा एउटा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने घोषणा गरेअनुरूप आइतबार काठमाडौँ महानगरपालिका वडा–४ स्थित विशाल मिलन केन्द्रमा पहिलो कार्यक्रम गर्नुभएको हो ।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले नागरिकका कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो । उहाँले शिक्षा मन्त्रालयका साथै सरकारको प्राथमिकता र हालसम्म भएका कार्यसम्पादनबारे स्थानीयलाई जानकारी गराउनुभयो ।
मन्त्री पोखरेलले देशैभरका सबै सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको मूल्याङ्कन गरेर आगामी वर्षदेखि प्राथमिकताका आधारमा बजेट विनियोजन लगायत अन्य स्रोत साधनको सुनिश्चितता गरिने विश्वास व्यक्त गर्नुभयो । यसअघि सबै विद्यालयलाई समान बजेट पठाउँदा समस्या उत्पन्न भएको भन्दै उहाँले अर्को वर्षदेखि कुन सामुदायिक विद्यालयलाई कति बजेट चाहिन्छ, सोही अनुरूप पठाइने उल्लेख गर्नुभयो ।
मन्त्री पोखरेलले विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रियालाई पारदर्शी र व्यावसायिक बनाउन विज्ञ समितिले दक्षता र विशिष्टताका आधारमा छनोट गर्ने जानकारी दिनुभयो । उहाँले सोही निर्वाचन क्षेत्रको जनप्रतिनिधिको हैसियतले स्थानीयले उठाएका सरोकारका विषय र गुनासो सुन्दै तिनको समाधानका लागि प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सार्वजनिक सुनुवाइमा स्थानीयले विद्यालय भर्ना शुल्कदेखि क्षेत्रगत समस्या सडक, बिजुली, खानेपानी लगायतका गुनासो गरेका थिए । सो निर्वाचन क्षेत्रमा मेलम्चीको खानेपानी आइनपुगेकाले पानीको समस्या भोगिरहनुपरेको तथा जारको पानी फोहोर भएको गुनासो उनीले पोखेका थिए ।
स्थानीयवासीले विद्यार्थी भर्ना शुल्क, खानेपानीको समस्या, ढल व्यवस्थापन वैज्ञानिक तरिकाले हुन नसकेको, सडक बत्ती, सिसिटिभी व्यवस्थापनका विषय सम्बोधन गर्न मन्त्री पोखरेलसमक्ष अनुरोध गरेका थिए । यस्तै, त्रिवि सेवा आयोगको परीक्षा भएको छ महिना भइसक्दा पनि परीक्षाफल प्रकाशित नभएको गुनासो समेत उनीहरूले राखेका थिए ।
स्थानीय जनताको गुनासो सुनिसकेपछि शिक्षामन्त्री पोखरेलले विद्यार्थी भर्नाबारे स्थानीय तहलाई पत्राचार भई तोकिए बमोजिम गर्न निर्देशन दिइसकेको बताउनुभयो । उहाँले खानेपानीको विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग समन्वय गरेर पानीको गुणस्तर मापन गरी सफा खानेपानीको सुनिश्चितता गरिने बताउनुभयो ।
त्यसैगरी सडक बत्ती र सिसिटिभीको विषयमा काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर चाँडै समाधान गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । मन्त्री पोखरेलले उपकुलपतिको छनोट प्रक्रिया सकिएलगत्तै त्रिवि सेवा आयोग लगायत सबै परीक्षाको परीक्षाफल नियमित समयमा ल्याइने विश्वास दिलाउनुभयो ।
काठमाडौँ क्षेत्र नं ५ का १५ वडामध्ये हरेक महिना कम्तीमा एक–एक वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम गरी जनताको गुनासो सुन्ने र सम्बोधन गर्ने गरी अघि बढेको मन्त्री पोखरेलले उल्लेख गर्नुभयो । उहाँले आफ्नो मन्त्रालय र सरकारको कामबारे जनतालाई सुसूचित गराउने कार्यक्रमलाई निरन्तरता दिइने पनि बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा. ओजस्वी शेरचनले जनसरोकारका विषयलाई संसद् र सरकारले आवश्यक सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा क्षेत्र नं ५ का उल्लेख्य सङ्ख्यामा स्थानीय जनता, बुद्धिजीवी, समाजसेवी लगायतको उपस्थिति थियो ।