दाइजोविरुद्ध अन्तिम साससम्म लड्छु : उपसभामुख ठाकुर

सर्लाही, जेठ १० गते । उपसभामुख रुबिकुमारी ठाकुरले दाइजो प्रथाविरुद्ध अन्तिम साससम्म संघर्ष जारी राख्ने बताएकी छन् । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ गौचरण बजारमा आइतबार आयोजित बालविवाह तथा दाइजो प्रथा उन्मूलनसम्बन्धी बृहत् सभालाई सम्बोधन गर्दै उनले छोरा–छोरीबीच समान व्यवहार भए मात्रै समाजबाट दाइजो प्रथा अन्त्य गर्न सकिने बताइन् ।
‘बाल विवाह जिन्दगी तबाह, दाइजो हटाऔं, छोरी बचाऔं’ भन्ने नारासहित आयोजित कार्यक्रममा बोल्दै ठाकुरले दाइजोका कारण विशेषगरी मधेश क्षेत्रमा छोरीमाथि हिंसा बढिरहेको उल्लेख गरिन् ।
दाइजोको दबाबकै कारण धेरै छोरी र बुहारीले ज्यान गुमाउनुपरेको तथा गर्भमै छोरी हत्या हुने अवस्था समेत देखिएको उनको भनाइ थियो ।
मधेशमा दाइजो प्रथा गहिरो रूपमा फैलिएको र यसको असर अहिले देशका अन्य क्षेत्रमा पनि देखिन थालेको उल्लेख गर्दै उनले व्यवहारमा परिवर्तन नआएसम्म यस्ता सामाजिक विकृति अन्त्य हुन नसक्ने बताइन् । छोरीलाई पनि छोरा सरह शिक्षा र अवसर दिनुपर्नेमा जोड दिँदै अभिभावकले बुहारीलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्ने धारणा राखिन् ।
कतिपय अभिभावकले अझै पनि छोरीलाई बोझका रूपमा हेर्ने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै ठाकुरले छोरी अभिशाप नभई वरदान भएको स्वीकार गर्न समाज तयार हुनुपर्ने बताइन् ।
कार्यक्रममा सर्लाही क्षेत्र नं. – १ बाट निर्वाचित सांसद नितिमा भण्डारी कार्की ले दाइजो प्रथा अन्त्यका लागि महिलासँगै युवापुस्ताको सक्रिय भूमिका आवश्यक रहेको बताइन् । कानुनी व्यवस्था र चेतना विस्तार भए पनि व्यवहारमा परिवर्तन आउन नसक्दा धेरै छोरीको जीवन कष्टकर बनेको उनको भनाइ थियो ।
गाउँपालिकाका अध्यक्ष राजकुमार महतो ले २० वर्ष पूरा भएपछि मात्रै छोरीको विवाह गर्ने अभिभावकलाई गाउँपालिकाले सम्मान गर्दै आएको जानकारी दिए । उनका अनुसार गाउँपालिकाले पछिल्ला चार वर्षदेखि कक्षा १२ उत्तीर्ण गरी २० वर्षपछि विवाह गर्ने छोरीलाई ५० हजार रुपैयाँ प्रोत्साहनस्वरूप उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै, कक्षा १२ पछि स्नातक अध्ययन गर्ने छोरीलाई ११ हजार रुपैयाँ सहयोग दिने व्यवस्था गरिएको उनले बताए । हालसम्म १५७ जना छोरीलाई ५० हजार रुपैयाँ तथा १९७ जनालाई ११ हजार रुपैयाँ सहयोग उपलब्ध गराइसकिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा ३५४ जना छोरी तथा उनीहरूका परिवारलाई उपसभामुख ठाकुरको हातबाट सम्मान गरिएको थियो ।