पूर्व गृहमन्त्री सुधन गुरुङको छानबिन प्रतिवेदन ग्रहण गर्ने, रेडक्रसको नयाँ तदर्थ समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौँ, जेठ २६ गते । मन्त्रीपरिषद् बैठकले पूर्व गृहमन्त्री सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ । मङ्गलबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले भन्नुभयो, ‘पूर्व गृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय भएको छ ।’
उहाँका अनुसार प्रतिवेदन अध्ययन गरेर थप निर्णय हुने छ । मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिनुहुँदै प्रवक्ता पोखरेलले प्रतिवेदन ग्रहण गरेपछि आवश्यक प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । उहाँले तत्काल गृहमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढाउने विषयमा कुनै निर्णय नभएको उल्लेख गर्नुभयो । ‘आजको बैठकबाट त्यस्तो कुनै निर्णय भएको छैन ।’
त्यसैगरी सरकारले तल्लो अरुण जलविद्युत् आयोजना, लोवर न्यादी खोला जलविद्युत् आयोजना, घुन्सा खोला जलविद्युत् आयोजना र तादी खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने, निजामती सेवा (सोह्रौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने र विशालकुमार भण्डारी, दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।
सरकारले रेडक्रसको पुरानो समिति भंग गरेर नयाँ तदर्थ समिति बनायो
नेपाल सरकारले नेपाल रेडक्रस सोसाइटीको नयाँ तदर्थ समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पुरानो तदर्थ समिति विघटन गरी दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको छ ।
समितिको महामन्त्रीमा गोरखाका ऋषिरमण खनाल, कोषाध्यक्षमा काठमाडौंका प्रेमसागर कर्माचार्यलाई जिम्मेवारी दिइएको छ ।
यस्तै सदस्यहरूमा भोजपुरका वसन्तकुमार श्रेष्ठ, दाङकी अविस्मी न्यौपाने, तेह्रथुमकी पुष्पा दास, सिन्धुपाल्चोकका प्रेम लामा, सप्तरीका मोहम्मद आयतुल्ला रहमान र कैलालीकी मञ्जु साउँद बोहरालाई राखिएको छ ।