गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिनुभयो पद तथा गोपनीयताको शपथ

काठमाडौँ, जेठ २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम राष्ट्रपति पौडेलसमक्ष मन्त्रीद्वयले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । नवनियुक्त मन्त्रीद्वयले अहिले केहीबेरमा पदबहाली गर्दै हुनुहुन्छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारी, राष्ट्रिय सभाका उपाध्यक्ष लिलाकुमारी भण्डारी लगायतको उपस्थिति थियो ।

उक्त समारोहमा मन्त्रीपरिषद्का सदस्य अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री तथा नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको उपस्थिति रहेको थियो ।

उक्त विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विभिन्न राजनीतिक दलका नेता, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त प्रेमकुमार राई, नेपाल सरकारका सचिव र उच्च अधिकारी, प्रधान सेनापति अशोकराज सिग्देल, सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल, नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्की, राष्ट्रिय अनुसन्धान विभागको महानिरीक्षक टेकेन्द्र कार्की लगायतको उपस्थिति थियो।

गुरुङ पूर्व गृहमन्त्री हुनुहुन्छ भने पुनसमेत पूर्व शिक्षामन्त्री हुनुहुन्छ । गुरुङ रास्वपाका प्रतिनिधिसभा सदस्य हुनुहुन्छ भने पुन स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो ।

पहिलो पटक २०८२ चैत १३ गते गृहमन्त्री बन्नुभएका गुरुङले मन्त्री पदबाट २०८३ वैशाख ९ गते राजीनामा दिनुभएको थियो । व्यापारी दीपक भट्टसँग सेयर लगानी गरेको भन्दै प्रश्न उठेपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।

२०८३ वैशाख २८ गतेको मन्त्रीपरिषद् बैठकले गुरुङमाथि छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहने गरी समिति गठन गरेको थियो ।

उक्त समितिले बुझाएको प्रतिवेदन मङ्गलबार मन्त्रीपरिषद्ले ग्रहण गरे लगत्तै उहाँ पुन: गृहमन्त्री बन्नुभएको हो ।

महावीर पुन भने २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा बनेको सरकारका शिक्षामन्त्री हुनुहुन्थ्यो । उहाँले २०८२ फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गर्नु अघि मन्त्री पदबाट राजीनामा दिनुभएको हो । उहाँ नेपाल आविष्कार केन्द्रका संस्थापक हुनुहुन्छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter