दुई हजार ३३५ जनामा सङ्क्रमण पुष्टि, एक हजार ३७३ जना निको
काठमाडौं, साउन १४ गते । पछिल्लो २४ घण्टामा दुई हजार ३३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा नाै हजार ५५५ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा अहिले २४.२ प्रतिशत सङ्क्रमण दर रहेकाे छ ।
यस्तै, चार हजार ६८७ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार ३० जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ३७३ जना कोरोना सङ्क्रमित निको भएका छन् । सङ्क्रमणका कारण १६ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ८०७ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.३७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।