माधव समूह तथा ठाकुर पक्षद्वारा पार्टी दर्ताका लागि निवेदन
काठमाडौं, भदौ २ गते । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । नेपाल समूहका सांसद मेटमणि चोधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको जानकारी दिनुभयो ।
एमाले वरिष्ठ नेता नेपालले पार्टी एकताकाे संभावना टरेपछि नयाँ दल दर्ताका लागि निवेदन दिनुभएको हो । नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ ।
नेपाल समूहका सांसद चौधरीका अनुसार आयोगमा माधवकुमार नेपाल रामकुमारी झाँक्री, राजेन्द्र पाण्डेलगायतका नेता निर्वाचन आयोग पुगेर दल दर्ता गरेर फर्किनुभएको हो ।
ठाकुर पक्षद्वारा जसपा नेपाल (लोकतान्त्रिक) पार्टी दर्ताका लागि निवेदन, चुनाव चिन्ह साइकल
जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ । ठाकुर पक्षका नेता चन्दा चौधरीले अनुसार नयाँ पार्टी दर्ताका लागि निवेदन दिन निर्वाचन आयोग पुगेको जानकारी दिनुभयो ।
चौधरीका अनुसार नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) र चुनाव चिन्ह साइक प्रस्ताव गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपा ठाकुर पक्ष नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको हो ।