नवनियुक्त प्रधानसेनापति शर्मालाई दर्ज्यानी चिह्न र पदभार ग्रहण

काठमाडौँ, भदौ २४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिनुभयो । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रुपमा शर्माले तीनवर्षे कार्यकालका लागि आजैदेखि औपचारिकरुपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्नुहुनेछ ।

समारोहमा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो । राष्ट्रपति भण्डारीले सरकारको सिफारिशमा उहाँलाई यही भदौ ११ गते आजदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो । नवनियुक्त प्रधानसेनापति शर्माले जङ्गी अड्डामा निशान भगवतीको पूजार्चना गर्नुहुनेछ । उहाँको सम्मानमा सैनिक टुकडीले प्रधानसेनापति सम्मान गारत अर्पण गर्नेछ । आजै पदबहाली, रथीवृन्दलाई सम्बोधन तथा सैनिक मञ्च टुँडिखेल र छाउनी पुगेर वीर सैनिकप्रति पुष्पहार अर्पण गर्ने नवनियुक्त प्रधानसेनापति शर्माको कार्यक्रम छ ।

यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीनवर्षे कार्यकाल आजै सकिएको छ । नवनियुक्त प्रधानसेनापति शर्माले सामूहिक नेतृत्व, तालिम र आर्थिक पारदर्शितालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने यसअघि नै बताइसक्नुभएको छ । उहाँका सम्मानमा आज सैनिक मुख्यालय टुँडिखेलमा स्वागत समारोह आयोजना हुनेछ ।

महारथी शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद एवं सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा तथा ब¬ङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालीम प्राप्त गर्नुभएको छ । युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गर्नुभएका शर्मा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार हुनुहुन्छ । उहाँले संयुक्त राष्ट्र संघको शान्ति मिशनअन्तर्गत पूर्वी टिमोरमा गुल्म र कङ्गोमा गणको अन्तरराष्ट्रिय कमाण्ड गर्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफिल गर्नुभएका शर्मासँग सरल स्वभाव, स्पष्ट अभिव्यक्ति र ठोस निर्णय गर्ने क्षमता छ । सेनाको तीन जोड एक अवधारणाको पुनर्संरचनालाई व्यवस्थित कार्यान्वयन गर्नु उहाँको प्रमुख कार्यभार रहनेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter