‘फोहोर प्लाष्टिक’बाट मासिक पचास हजार कमाइ
हरिप्रसाद कोइराला / उर्लाबारी, फागुन १४ गते । मध्य फागुन भए पनि पश्चिमको चिसो सिरेटोले औसत मानिस बिहान १० बजेभन्दा अघि काममा निस्कँदैनन् । ‘भारतमा काम नपाएर बेरोजगार बन्नुभएका मोहम्मद असरफुललाई चिसोको वास्तै हुँदैन । असरफुल बिहानै पूर्व–पश्चिम राजमार्गको सडक किनारमा फालिएका प्लाष्टिक र टिनका बोतल सङ्कलन गरेर बोरामा खाँद्दै हुनुहुन्थ्यो । “सरकारले रोजगार दिँदैन । ९ जनाको परिवार छ । बिहान–बेलुका खुवाउनै प-यो” मोरङको कानेपोखरी बजारबाट थोरै पूर्वपट्टिको वरको रुखमुनि बसेर प्लाष्टिकका थोत्रा बोतल बोरामा हाल्दै भारतीय नागरिक मोहम्मद असरफूलले भन्नुभयो ।
असरफूल आफ्ना तीन सन्तानका साथ विगत ३ वर्ष यता पूर्व–पश्चिम राजमार्गको दुईतर्फ किनारमा फालिएका थोत्रा बोतल सङ्कलन गरी बिक्री गर्दैआउनुभएको छ । पूर्व–पश्चिम राजमार्गमा सयौंको सङ्ख्यामा सार्वजनिक यातायातका बस, गाडी गुड्ने गर्छन् । बसमा सवार यात्रीले पानी पिएर जथाभावी फालेका प्लाष्टिकका बोतल, अल्मुनियममा प्याक पेय पदार्थका बट्टा सङ्कलन गर्नु उहाँहरुको दैनिकी हो । यात्रीहरूले मानव बस्ती नभएको (जङ्गल) राजमार्ग क्षेत्रमा अझ बढी बोतल फाल्नेगरेका छन् । उहाँहरुको ध्यान त्यस क्षेत्रतर्फ बढी हुनेगर्छ ।
६६ वर्षीय असरफूलका छोरा आमीदूलले भन्नुभयो– “चिसाङ खोला पूर्वदेखि डाँस खोला पश्चिमसम्म हामी बोतल सङ्कलन गर्छौ । डाँस पूर्व र चिसाङ पश्चिम सङ्कलन गर्ने अरु साथीहरू पनि छन् । उहाँहरू पश्चिम बंगालको बागडुग्रा, सूर्यनगरका स्थायीबासी हुनुहुन्छ ।” असरफुलको परिवार मात्र होइन, उहाँका बुवासमेत नेपालमा कवाडी सङ्कलनको काम गर्नुहुन्थ्यो । बुवाकै लय पछ्याउनु भएका असरफूलले उमेर छउन्जेल साइकलमा घुमेर कवाडी सङ्कलन गर्नुभएको बताउनुभयो ।
शरीरमा ताकत घट्दै गएपछि उहाँले सडक किनारमा कवाडी सङ्कलन गर्ने काम सुरु गर्नुभएको हो । उहाँले भन्नुभयो– “सडकमा कवाडी सङ्कलन गर्दा खर्च छैन् । दैनिक ४ जनाले सोह्र सत्र सय रुपियाँ कमाउँछौं ।” आमीदूलकी पत्नी जमसराई पनि श्रीमान र ससुरासँगै बोतल सङ्कलनमा हिड्नुहुन्छ । एक जना, दुई जनाले काम गर्न गाह्रो छ । त्यसैले परिवार नै हिड्छौं–जमसराईले भन्नुभयो ।
आमीदूलका भाइ खाना र खाजाको प्रबन्ध मिलाउनु हुन्छ । एक पटक नेपाल आउँदा उहाँहरू महिना दिनसम्म नेपाल नै बसेर काम गर्नुहुन्छ । आमिदूलले भन्नुभयो –“एक महिनामा ४ जनाले ३० हजार भारतीय रुपियाँ लिएर जान्छौं ।”
प्लाष्टिकका थोत्रा बोतललाई रिसाइक्लिन गर्ने उद्योग झापाको बिर्तामोडमा खुलेपछि उहाँहरूको ब्यापार अहिले खुबै फस्टाएको छ । अर्को समूहका मोहम्मद इमरान उर्लाबारीको कृषिबजार नजिकै रुखमुनि प्लाष्टिक बोतल ठूलो बोरामा हाल्दैगरेको भेटिनुभयो ।
पश्चिम बङ्गालको नक्सलबाट गाउँका बालबालिका लिएर प्लाष्टिक बोतल सङ्कलनमा आउनुभएका इमरानले भन्नुभयो– “गाउँमा केही काम छैन् । छोराछोरी स्कुल पनि जाँदैनन् । त्यसैले बालबालिका लिएर आएको हुँ ।” दैनिक २ हजार माथिको बाेतल सङ्कलन गर्नेगरेको उहाँले बताउनुभयो । भारतमा बाेतल सङ्कलनको काम पाइँदैन भन्ने जिज्ञासामा उहाँको भन्नुभयो, “नेपालमाज स्तो धनी मान्छे भारतमा छैनन् । भारतमा बाेतलको पानी गाउँको मान्छेले खान सक्दैन ।”
संघ संस्थाको भेला, सभा, गोष्ठीमा समेत बोतलको पानी खुव चल्नेगरेको उहाँको भनाइ छ । इमरानले भन्नुभयो, “हामी विना तलब फोहोर सङ्कलन गरेर लान्छौं । कार्यक्रम गर्नेलाई पनि फाइदा छ । पानी प्याक भएका प्लाष्टिकका थोत्रा बोतल प्रतिकेजी २० रुपियाँ, पेय पदार्थका २५ रुपियाँ र अल्मुनियमका प्रतिकेजी १ सय रुपियाँमा बिक्री हुन्छ ।”