कृषि मजदुरलाई ‘ओभर टाइम’
नवराज कट्टेल / विराटनगर, साउन २८ गते । झापा बुद्धशान्ति गाउँपालिका–४ का महेश लिम्बू साउन अन्तिमदेखि भदौभर रोजगारीका लागि इलाम पुग्नुहुन्छ । इलाममा उत्पादित अलैँची टिप्ने समय आएपछि पछिल्लो पाँच वर्षयता कृषि मजदुरका रूपमा लिम्बूले रोजगारी पाउँदै आउनुभएको छ ।
रोजगारीका लागि मलेसिया र दुबई बसेर फर्कनुभएका लिम्बूलाई इलामका किसानले दिनभरको रोजगारीसँगै ‘ओभर टाइम’ कामसमेत दिने गरेका छन् । बिहान ७ देखि साँझ ४ बजेसम्म अलैँची टिपेको रकमबाहेक प्रतिकिलोग्राम अलैँची छोडाउँदा पाँच रुपियाँ थप पाउने व्यवस्थासमेत छ । “बिहान ७ देखि ४ बजेसम्म अलैँची टिप्छौँ,” लिम्बूले भन्नुभयो, “मेलाको कामपछि घरमै बसेर छोडाउँदा प्रतिकेजी पाँच रुपियाँसमेत कमाइ हुन्छ ।”
लिम्बूजस्तै पुरानो थातथलो ताप्लेजुङ छोडेर झापा स्थान्तरण हुनुभएका भगेश्वर इदिङ्बोको दैनिकी पनि त्यस्तै छ । धान रोपाइँ सकिएपछि बाल्यकालमा अलैँची टिप्न सिकेको सीप इलामका किसानलाई बेचेर उहाँले आम्दानी गरिरहनुभएको छ । “झापामा साउनपछि कात्तिकसम्म काम हुँदैन,” उहाँले भन्नुभयो, “इलाम आएपछि यो अवधिभर काम पाइन्छ ।” खोल्साको कालो सुन भनेर चिनिने अलैँची अहिले खेतबारीमा रोप्न थालिएको छ । चिसो र ओसिलो जमिनमा मात्रै हुन्छ भन्ने मान्यता तोड्दै पहाडका बेँसी र फाँटमा अलैँची फल्न थालेको छ । लेकमा पाक्ने समय भइनसके पनि बेँसी (औल)का किसानलाई अहिले अलैँची भित्र्याउने हतारो छ ।
इलामको रोङ गाउँपालिका–३ का किसान राम आचार्यका अनुसार पहाडको पुरानो बेँसीमा धान र मकै विस्थापित गरेर अलैँची खेती लगाइएको छ । बहुसङ्ख्यक किसानका खेतमा अलैँची पाक्ने भएपछि कृषि मजदुरको अभाव हुने गरेको छ । थोरै खेतबारी र धेरै पाखो भएका स्थानीयवासीले अहिले खेतबारीसँगै पाखामा अलैँची लगाएका छन् । किसानले लगाएको अलैँची भिœयाउने समय आएसँगै प्रत्येक घरका लागि कृषि मजदुरको जरुरी पर्छ ।
जनशक्ति अभाव भएपछि झापाबाट खेताला झिकाउने चलन सुरु भएको हो । पुरानो थातथलो पाँथचर र ताप्लेजुङ भएर झापा बसाइँ झरेकाले अलैँची टिप्ने सीप राख्दछन् । उनीहरूको सीपलाई इलामका किसानले फलाएको अलैँची बारीमा सदुपयोग गर्ने अवसर सिर्जना भएको हो ।
रोङ गाउँपालिका–३, सिम्लेमा अलैँची टिप्न जानुभएका श्याम लिम्बूले एक महिनाभर इलामका किसानबाट रोजगारी पाउने गरेको सुनाउनुभयो । उहाँका अनुसार खाना र बस्ने सुविधा दिएर दैनिक छ सय रुपियाँ र ओभर टाइमको छुट्टै पैसा पाइने गरेको छ । रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोका अनुसार अलैँची रोप्न थालेपछि किसानको दैनिकी सहज हुँदै गएको छ । अलैँची उत्पादनका लागि निश्चित अवधि मात्रै काम गर्नुपर्ने भएकाले किसानको दैनिक जीवनमा परिवर्तन ल्याएको उहाँको दाबी छ । रोङ गाउँपालिकामा मात्रै वार्षिक एक लाख २३ हजार ७०८ केजी (तीन हजार मन) अलैँची उत्पादन हुने गरेको तथ्याङ्क छ ।
अलैँची व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष सुवास भट्टराईका अनुसार गत आर्थिक वर्ष पाँच अर्ब बराबरको अलैँची निकासी भएको थियो । उत्पादनमा केही कमी र मूल्य न्यून भएका कारण अघिल्लो आर्थिक वर्ष २०७७÷७८ भन्दा झन्डै एक अर्ब कमको निकासी भएको थियो । उपाध्यक्ष भट्टराईका अनुसार अहिले अलैँचीको मूल्य ३२ हजार प्रतिमन रहेको छ ।