निर्वाधरूपमा प्रचारप्रसारको वातावरण सिर्जना गर्न आयोगको ध्यानाकर्षण; ७२ घण्टा सीमा सिल हुने

काठमाडौं, कात्तिक २७ गते। निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न/गराउन सम्बन्धित पक्षलाई पुनः ध्यानाकर्षण गराएको छ।

आयोगले आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यही कात्तिक २२ गते नेपाल सरकार, गृह मन्त्रालयमार्फत राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न–गराउन र निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न निर्देशन दिएको थियो।

चितवनलगायत विभिन्न जिल्लामा उम्मेदवारले निर्वाधरूपले प्रचारप्रसार गर्ने कार्यमा अवरोध तथा निर्वाचनमा सहभागी पक्षहरूबीच विवाद भएर सवारी साधन तोडफोड भएको भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित समाचार तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका विषयप्रति आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो।

आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा नेपालको संविधानको प्रस्तावनामा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन र कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्यमान्यताप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरिएकोले निर्वाचनमा उम्मेदवार भएका हरेक व्यक्तिलाई प्रतिस्पर्धाको समान अवसर प्राप्त हुने भएको हुँदा सबै राजनीतिक दल एवं सबै उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्ने वातावरण सृजना गर्न आयोग गृह मन्त्रालयलाई पुनः निर्देशनसहित ध्यानाकर्षण गराइएको छ।

आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को खण्ड (ख) बमोजिम स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला नगर्न, सोही दफाको खण्ड (च) बमोजिम एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा भातृ सङ्गठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला नगर्न र त्यस्तो अवस्थामा स्थानीय प्रशासनले त्यस्तो कार्यक्रम गर्ने स्थल वा मार्ग परिवर्तन गर्न दिएको निर्देशन पालना गरी आपसी विवाद वा द्वन्द्वको अवस्था सिर्जना नगर्न पनि सम्बन्धित सबैमा आग्रह गरेको छ।

निर्वाचनका लागि ७२ घण्टा सीमा सिल हुने

भारतीय सीमासँग जोडिएको मधेश प्रदेशका जिल्लाको सीमा नाका ७२ घण्टा बन्द (सिल) गरिने भएको छ । सुरक्षित, व्यवस्थित एवम् भयरहित वातावरणमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ७२ घण्टा नेपाल–भारत सीमानाका बन्द गरिने निर्णय भएको हो ।

नेपाल–भारत जिल्लास्तरीय सीमा समन्वय समितिको बैठकले नेपाल–भारत सीमानाका बन्द गरिने निर्णय गरेको छ । मधेश प्रदेशका आठ वटै जिल्ला भारतीय सीमासँग जोडिएको छ । भारत बिहार राज्यको मधुवनी जिल्लास्थित जयनगरमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

दुवै देशका सुरक्षा अधिकारीको सहभागिता रहेको सो बैठकमा खुला सीमा नाकाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले मङ्सिर ४ गते हुने मतदानको ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको प्रजिअ पौडेलले बताउनुभयो ।

बैठकमा दुवै देशको सीमा भएर हुने अपराध, अवैध हातहतियार, चोरी पैठारी, लागूऔषध ओसारपसार लगायत अवैध कारोबार नियन्त्रण गर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो । बैठकमा नेपालतर्फको नेतृत्व प्रजिअ पौडेलले र भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डीएम अरविन्दकुमार बर्माले गर्नुभयो ।

सो बैठकमा नेपालका तर्फबाट धनुषा, महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, भन्सार कार्यालयका प्रतिनिधि र भारतको तर्फबाट मधुवनी जिल्लाको मजिस्ट्रेट (डीएम) तथा भन्सार कार्यालयका प्रतिनिधिको सहभागिता थियो ।

गत बुधबार यस्तै बैठक सर्लाहीको मलङ्गवामा बसेको थियो । सो बैठकमा सर्लाही, महोत्तरी र रौतहट तथा भारतको सीतामढी जिल्लाका पदाधिकारी र सम्बद्ध अधिकारीको सहभागिता रहेको थियो । जिल्लास्तरीय सीमा समन्वय समितिको सो बैठकले पनि मतदानको ७२ घण्टा अघिदेखि सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो ।

निर्वाचन सुरक्षालाई मध्यनजर गरी मङ्सिर १ गतेदेखि नाका ‘शील’ गर्ने निर्णय भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । सो बैठकमा पनि सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रण, अन्तर्राष्ट्रिय सीमा अतिक्रमण, मानव बेचबिखन, मदिरा तथा लागूऔषध ओसारपसार नियन्त्रण, अवैध मुद्राको कारोबार नियन्त्रण लगायतका विषयमा आपसी सहयोग र समन्वयका साथै निर्वाचनमा सुरक्षा व्यवस्थापनका विषयमा सौहार्दपूर्ण वातावरणमा छलफल भएको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनभयो ।

मदिरा बिक्रीमा प्रतिबन्ध

मधेश प्रदेशका जिल्ला प्रशासन कार्यालयले मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएका छन् । प्रदेशका सप्तरी, सिरहा, धनुषालगायतका जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सम्बद्ध जिल्लाभर मदिरा बिक्री वितरण, सेवन तथा ओसारपसारमा रोक लगाएको छ ।

मङ्सिर ४ गते हुन गइरहेका प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न ऐनमा भएको व्यवस्थाअनुसार सो प्रतिबन्ध लगाइएको सुरक्षा निकायको भनाइ छ ।

निषेधित अवधिमा मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter