उद्योगी व्यवसायीलाई सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्छ : गृहमन्त्री लामिछाने

काठमाडौं, पुस २० गते । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरुलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताउनुभएको हो ।

उहाँले उद्योग व्यवसायको सुरक्षाका लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनै पनि काममा नचुक्ने प्रतिबद्धतासमेत जनाउनुभयो । गृहमन्त्री लामिछानेले सरकारले उद्योग व्यवसाय क्षेत्रको काम गर्न छुट्टै युनिट खडा गर्ने र उद्योगी व्यवसायीहरु साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो ।

उहाँले उद्योगी व्यवसायीहरुले आफ्नो व्यापार वृद्धि गरी मुलुकको राजस्व वृद्धिमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले उद्योगी व्यवसायीहरुले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरुलाई भेटेर समय खेर फाल्नु नपर्ने जिकिर गर्नुभयो । गृहमन्त्री लामिछानेले सरकारको नीतिगत विषयमा समस्या आए व्यवसायीहरुले सल्लाह सुझाव दिन आग्रह समेत गर्नुभयो ।

गृहमन्त्री लामिछानेले उद्योगी व्यवसायीहरुले पैसा कमाउनुलाई अपराध गर्नु जस्तो व्याख्या गर्ने अवस्थाको अन्त्य गर्ने पनि आश्वासन दिनुभयो । उद्योगी व्यवसायीहरुले सही ढङ्गले स्वच्छ प्रतिस्पर्धा गरी व्यापार व्यवसायबाट पैसा कमाउँदा नै मुलुकको उन्नति हुनेछ । उहाँले उद्योग व्यवसाय बढ्दै जाँदा मुलुकभित्र रोजगारीको सिर्जना हुने बताउनुभयो ।

‘‘मन्त्रालयमा कुनै कामका लागि व्यवसायीहरुले मन्त्रालय वा कार्यालय धाउनुपर्दैन । उद्योगी व्यवसायीहरुले मुलुकको राजश्व वृद्धि, व्यवसायी वृद्धिमा सही ढङ्गले समय खर्च गर्ने हो । अब उद्योगी व्यवसायीहरुले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरु कहाँ गएर समय खेर फाल्नुपर्दैन । सरकारको नीतिगत विषयमा समस्या आए सल्लाह सुझाव दिनु होला ।,’’ गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘‘उद्योगी व्यवसायीहरुले पैसा कमाउनु अपराध गर्नु जस्तो व्याख्या छ त्यसलाई हामीले अन्त्य गर्छौं । उद्योगी व्यवसायीहरुले पैसा कमाउनुपर्छ कमाउनुस् । स्वच्छ प्रतिस्पर्धा गरेर व्यवसायीहरुको उन्नति हुँदा नै मुलुकको उन्नति हुने हो ।’’

उहाँले कानुनभन्दा बाहिर रहेर काम गर्नेहरुको सङ्ख्या ठूलो रहेको भन्दै फोहोर सफा गर्न समय लाग्ने धारणा राख्नुभयो । गृहमन्त्री लामिछानेले फोहोरको चाङ सफा गर्दा बढी दुर्गन्ध आउनसक्ने भन्दै त्यसका लागि उद्योगी व्यवसायीहरुले दुर्गन्ध सहन तयार हुनुपर्ने बताउनुभयो । उहाँले आफूले कसैलाई जोगाउन र कसैलाई फसाउनुपर्ने नभएको उल्लेख गर्दै कानुनीको परिधिभित्र रहेर काम गर्ने जिकिर गर्नुभयो ।

उपप्रधान एवम् गृहमन्त्री लामिछानेले प्रभाव कालोबजारीको कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेका भन्दै कालोबजारी गर्नु गृह मन्त्रालयको लागि चुनौतीको विषय भएको बताउनु भयो । उहाँले कालोबजारी, चोरी पैठारी नियन्त्रण गर्ने विषय मन्त्रालयको प्रमुख प्राथमिकतामा पर्ने जानकारी दिनुभयो ।

उहाँले कालोबजारी तथा कानुन विपरीतका काममा कुनै पनि राजनीतिक दबाव आए कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले गृह मन्त्रालयले राज्यको अर्थतन्त्रमा योगदान गर्ने क्षेत्रमा सुरक्षा व्यवस्थाको विषयमा अध्ययन भइरहेको बताउनुभयो । चेम्बरले गृह मन्त्रीलाई कालोबजारी, सीमानाकाबाट हुने चोरीपैठारी नियन्त्रण तथा उद्योग व्यवसायको सुरक्षा दिनुपर्ने माग राखेको छ ।

यसैगरी, खुला सीमाको फाइदा उठाएर हुने अवैध व्यापारलाई नियन्त्रण गर्न चेम्बर अध्यक्ष रोजेन्द्र मल्लले गृहमन्त्री लामिछानेको ध्यानकर्षण गराउनुभएको छ ।

गृहमन्त्री लामिछानेसँगको भेटका क्रममा चेम्बर अध्यक्ष मल्लले भारतसँगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो । मल्लले भन्नुभयो, ‘‘नेपाल–भारत खुला सीमाको फाइदा उठाएर अवैध कारोबार भइरहेकोे छ । सीमामा हुने अवैध व्यापारका कारण सरकारले अर्बौ रुपियाँ राजश्व समेत गुमाइरहेकाछ ।’’

चेम्बरले गृहमन्त्री लामिछानेलाई दिएको सुझावमा भनिएको छ, ‘‘खुला सीमा भएकाले अनियन्त्रित रुपमा अनधिकृत व्यापार फस्टाइ रहेको छ । यसबाट राजश्व प्रभावित हुन पुगेको र स्वच्छ व्यवसायीहरुले प्रतिस्पर्धा गर्न समेत नसकी रहेको परिस्थिति रहेकाले यसमा प्रभावकारी अनुगमन गरी करको दायरामा ल्याउनु पर्ने ।’’

नेपाल–भारत खुला सीमाको फाइदा उठाएर झण्डै ४० प्रतिशत अवैध कारोबार भइरहेको भन्नुहुँदै अध्यक्ष मल्लले मुलुकको व्यापारिक सन्तुलनका लागि आयात निर्यातलाई पनि व्यवस्थित गराउनु पर्नेमा जोड दिनुभयो ।

चेम्बरले सीमा व्यापारलाई व्यवस्थापन गर्नुपर्नेसहित विभिन्न १० बुँदे सुझाव गृहमन्त्रीलाई दिएको छ । वैदेशिक रोजगारबाट फिर्ता हुने युवाको सीपसम्बन्धी सम्पूर्ण विवरण सङ्कलन गरी उनीहरुको सीपलाई स्वदेशमै उपयोग गर्ने वातावरण मिलाउन समेत चेम्बरले आग्रह गरेको छ ।

नेपालमा पछिल्लो समय बैंकिङ सफ्टवेयर ह्याक हुने, एटीएमबाट अनधिकृत रुपमा पैसा चोरी हुने लगायतका वित्तीय अपराधका घटना वृद्धि भइरहेकाले यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न समेत चेम्बरले गृहमन्त्री लामिछानेलाई आग्रह गरेको छ । आमसर्वसाधारणसँगै निजी क्षेत्र पनि साइबर अपराधको सिकार भइरहेकाले सरोकारवाला सबैसँग सुझाव लिइ, अन्तर्राष्ट्रिय अभ्यासका आधारमा साइबर सुरक्षासम्बन्धी कानुन बनाई व्यवस्थित गर्न पनि चेम्बरले माग गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter