‘लक्षित बालबालिका नै खोप लगाउन आउँदैनन्’
बाँके, माघ ६ गते । बाँकेका विभिन्न स्थानीय तहमा दादुराविरुद्धको खोप सञ्चालनका लागि प्रयाप्त मात्रामा खोप मौज्दात रहेको छ । नेपालगन्ज खजुरा, नरैनापुर स्थानीय तहमा दादुराबिरुद्धको खोप अभियानका लागि हालसम्म एक लाख ५ हजार जनालाई पुग्ने खोप आइपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
७० हजार ५०० जनालाई पुग्ने दादुरा रुबेला खोप रहेकोमा थप ३० हजार डोज खोप प्रदेश स्वास्थ्य आपुर्ति केन्द्रबाट प्राप्त भएको हो । बाँकेमा हालसम्म ५३ हजार ६५१ जनाले खोप लिइसकेका छन् ।
बालबालिकालाई दादुराविरुद्धको खोप अभियान जारी छ । ४२ हजार ९७८ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा लक्ष्यभन्दा बढी ४३ हजार २४६ जना बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयका अनुसार बाँकेको नेपालगञ्जसहित कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका, खजुरा गाउँपालिका र डुडुवा गाउँपालिकामा पनि दादुराका विरामी भेटिएका छन् ।
“पछिल्लो पटक डुडुवामा बिरामी भेटिएपछि खोप कार्यक्रम सञ्चालनको योजना बनिरहेको छ” स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत श्रेष्ठले भन्नुभयो, “नेपालगञ्जमा पनि खोज्ने र खोप लगाउने कार्य निरन्तर चलिरहनेछ ।”
नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले नगरभित्र बसोबास गर्ने र यही अध्ययनरत बालबालिकाले खोप लिएका कारण नगरभित्रको लक्ष्य पूरा भए पनि धेरै बालबालिका खोप लिनबाट छुटेको बताउनुभयो ।
“नगरभित्रका लक्षित बालबालिकालाई खोप लगाउने जनचेतनामुलक लगायतका कार्यक्रम पनि भइरहेका छन” चन्दले भन्नुभयो, “दादुरा खोप सम्पूर्ण बालबालिकाले लिनुपर्ने भएकाले अभिभावकलाई पनि आग्रह गरिरहेका छौं ।”
नेपालगञ्जका १ देखि १५ वडामा एक हजार ९२३ जना दादुराका विरामी फेला परेका छन् । तीमध्ये एक जनाको मृत्यु भएको छ भने २९ जना उपचाररत रहेका छन् । २९ जना भने घरमै छन् । स्वास्थ्य कार्यालयका अनुसार नरैनापुरमा १३, खजुरामा ११, डुडुवामा ७ र कोहलपुरमा २ जना गरी जिल्लाभर २२६ जना बालबालिकामा दादुरा देखिएको छ । दादुरा भएकामध्ये १७१ जना निको भइसकेका छन् ।