विकास र समृद्धिका लागि सबै दल एक हुनुपर्छ : अर्थमन्त्री महत
काभ्रे, असोज १३ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सबै राजनीतिक दल एक हुनुपर्ने बताउनुभएको छ ।
चैतन्य एकेडेमीले शुक्रबार आयोजना गरेको सुशासन, दीगो विकास र समृद्धि विषयक छलफलमा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘राजनीतिक दलहरुबीच द्वन्द्व हुन्छ, बहस हुन्छ, चुनाव हुन्छ, हारजीत हुन्छ । यी सबै स्वभाविक प्रक्रिया हुन् । तर देशले एउटा कोर्ष लिनुपर्छ, विकास हुनुपर्छ, समृद्धि सिर्जना हुनुपर्छ, यसका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुन जरुरी छ ।’
‘हाम्रो अर्थतन्त्रले विस्तारै लय पक्रिदैछ । समस्या छन्, पहिला हामीले खुकुलो मौद्रिक नीति अपनायौं, धेरै खुकुलो हुँदा सजिलै पैसा प्रवाह भयो । त्यसपछि कसिलो मौद्रिक नीति आयो । जसले बैंक व्याजदर बढायो’ अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘यसलाई विस्तारै सुरक्षित अवतरण गर्नुपर्छ । यसमा केही सुधारका कुरा आएका छन्, केही कुरा हुन बाँकी छ ।’
सेयर बजार र घरजग्गा किनबेचमा चाहिनेभन्दा अप्राकृतिक ढंगले वृद्धि भएको उहाँले बताउनुभयो। सेयर बजारमा पनि सुधार आउँछ । विदेशी पर्यटक मात्र होइन, आन्तरिक पर्यटनले पनि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्छ, उहाँले विश्वास व्यक्त गर्नुभयो ।
‘“राज्यले गर्नुपर्ने विकास खर्च धेरै छैन, हाम्रा चालू खर्च बढी छ । ऋणको दायित्व बढी छ । खर्च गर्ने क्षमता हामी बढाउँछौं, यसले पनि अर्थतन्त्र चलायमान हुन्छ । अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेका छन्” मन्त्री डा. महतले भन्नुभयो, ‘यो संकेतसँगै हामी सकरात्मक बहस चलाउन थालौं । सबैले नकरात्मक कुरा गरियो भने आत्मविश्वास घट्छ । खराब भनिरहेको ठाउँमा किन लगानी गर्ने ? उपभोक्ताले खर्च गरेन भने माग आउँदैन, माग भएन भने लगानी हुँदैन ।”
उपभोक्ता र लगानीकर्ताको आत्मविश्वास बढाउन मन्त्री डा. महतले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘रेमिटेन्स यति धेरै आइरहेको छ, त्यो पैसा घुम्नुपर्ने हो । त्यसको प्रयोग भइरहेको छैन । नकरात्मक बहस चलाइएकाले त्यसको प्रयोग नभएको हो ।’
मन्त्री डा. महतले भन्नुभयो, ‘नकरात्मक माहोल ज्यादा छ, यो नकरात्मक कुरा सामाजिक सञ्जालमार्फत् संसारभरि छिटो फैलिन्छ । गालीका भाषा बिक्छन् । सकारात्मक कुरा पनि देशमा भइरहेका छन् । चुपचाप मानिसहरु काम गरिरहेका छन् । यो कुरो चाहिँ छोपिन्छ । शासन सत्तामा बस्नेहरु सामाजिक सञ्जालको आक्रमणको केन्द्रविन्द्रमा पर्छन् ।’
‘यो परिवर्तन ल्याउन कठिन छ, धैर्यता चाहिन्छ, धेरै मेहनत गर्नुपर्छ, समय चाहिन्छ र निरन्तर काम गरिराख्नुपर्छ । आजको भोलि नतिजा आउँदैन’ मन्त्री महतले भन्नुभयो, ‘तत्काल नतिजा खोजी भइरहेको अवस्थामा त्यो सम्भव छैन । सबैलाई थाहा छ, भन्न सजिलो छ । गर्न कठिन छ । त्यसकारण सकरात्मक कुरा बिकाउन गाह्रो छ ।’
उहाँले भन्नुभयो, ‘समस्या सिस्टममा छ, नकरात्मक बहसले निरन्तर राम्रो काम गरिरहेको छ । राम्रो काम गर्न चाहनेहरु ओझेलमा पर्ने भए । राजनीति र प्रशासनमा राम्रो काम गर्नेहरु छन्, सुशासन, दीगो विकास र समृद्धिको जुन मापदण्ड बनाइएको छ, त्यसमा खरो नउत्रिने पनि छन् । अर्थात् शासनभित्र र बाहिर सबैखाले प्रवृत्ति छन् ।’
देशमा सकरात्मक बहसको आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सही काम गर्नेहरुलाई चिन्न आवश्यक छ । यो किसिमको बहस देशमा चल्यो भने जसले काम गर्दैन, त्यसलाई छुट्याउँ । जसले काम गरेको उसलाई चिनौं । यो परम्पराको थालनी हुनुपर्छ ।’
कानुनी शासन सुशासनको पहिलो आधार भएको उहाँले स्पष्ट पार्नुभयो । मन्त्री डा. महतले भन्नुभयो, ‘कानुनअनुसार हामी काम गर्छौ कि गर्दैनौं ? त्यत्ति मात्र होइन, हामी कामप्रति समर्पित छौं कि छैनौं । कानुन मान्ने तर काममा ढिलासुस्ती भयो भने नतिजा आउँदैन । नतिजा बिनाको सुशासनको अर्थ छैन । राज्य संरचनामा हामीले अनेकौं संरचना सिर्जना गरेका छौं । सही काम गर्दागर्दै पनि त्यहाँ प्रश्न उठाइराखेका हुन्छौं । ठीक काम गरे पनि त्यसमा प्रश्न उठाउने भएकाले प्रशासनतन्त्रमा निर्णय नगर्ने प्रवृत्ति छ ।’
मन्त्री डा. महतले भन्नुभयो, ‘समृद्धि पनि तत्कालिक र दीर्घकालीन हुन्छ । आधुनिक विकास हामीले धेरै ढिलो सुरु गरेका हौं । राजनीतिक स्थरिता पनि ढिलो भयो । यो कुरा अहिले गरियो भने क्षमा पाइँदैन । सत्तामा बस्नेको यो बहानाबाजी हो भनिन्छ ।’