मिटरब्याज नियन्त्रणको ‘साइड इफेक्ट’: ऋण पाउनै गाह्रो
काठमाडौं, कात्तिक २९ गते । मिटरब्याजमा संलग्न साहुहरुलाई कानुनी कारबाहीको दायरामा ल्याएपछि कयौँ ऋणीले राहत महसुस गरेका छन् । तर, मिटरब्याजविरुद्धको कारबाहीले ऋण नपाउँदा ग्रामीण क्षेत्रका कतिपय न्युन आयस्तर भएकाहरु समस्यामा समेत परेका छन् ।
जसका कारण चाडपर्व, विवाह, ब्रतबन्ध, औषधि उपचार, पढाइ लेखाइका अतिरिक्त वैदेशिक रोजगारीमा जान समस्या भएको नवलपरासीका गोपाल यादव बताउँछन् ।
यादवले भने, ‘मिटरब्याज पीडितलाई न्याय दिलाउनु सरकारको काम राम्रो हो तर त्यसको साइड इफेक्ट गाउँघरमा देखिन थालेका छन्, अब त गाउँघरमा गरिब तथा असहायले पैँचो–सापटी पनि पाउन सकस हुन थालेको छ ।’
कम आयस्रोत भएकालाई बैंकले पनि पत्याउँदैन, बैंकले ऋण दिँदैन, मिटर ब्याजीलाई सरकारले कडाइ गरेको कारण गाउँघरका साहु महाजनहरु ऋण दिन डराउन थालेको उनको भनाइ छ ।
सिरहा बरियारपट्टीका रामस्वगारथ साहले भने, ‘हामी दैनिक ज्याला मजदुरी गर्छौं, आयस्रोत राम्रो छैन, मोटो रकम खर्च गर्नुप¥यो भने साहु महाजनसँग लिने र बिस्तारै तिरेर चुक्ता गर्ने गरेका थियौँ तर अहिले ऋण दिनै छाडेका छन्, यसले हामीलाई निकै गाह्रो बनाएको छ ।’
दसैँ, तिहार, छठजस्ता ठुला पर्वमा गरिब तथा विपन्नहरुले साहु महाजनसँग ऋण वा सापटी नलिइ सुखै हुँदैन । तर अहिले त गाउँमा ५÷१० हजार रुपैयाँ सापटी दिन पनि महाजनहरु डराउने गरेको साहको भनाइ छ ।
‘छठ मनाउनका लागि रकमको जोहोमा लागेको छु, तर अहिलेसम्म पाएको छैन,’ उनले भने, ‘पहिला जो जोसँग लिएको थिएँ, ऊसँग माग्दा अहिले पैसा लिन्छौ तर पछि मिटरब्याजी भनेर फसाइदिन्छौ भन्दै पैसा दिन डराएका छन् ।’
संविधान सभा सदस्य बीपी यादवले मिटरब्याजी अहिले समाप्त भएको बताए । ‘पैसावालाहरु सबै सदरमुकाममा बस्न थालेका छन्, अरुले पनि त्यही मिटरब्याजीमा फस्ने हो कि भन्ने त्रासका कारण ऋण दिन मानेका छैनन्,’ उनले भने । अहिले त्यसको सबैभन्दा बढी मारमा दलित र पिछडिएका समुदाय पारेको उनले बताए ।
सप्तरी राजगढ गाउँपालिकाका विजय मण्डलले ऋण नपाएर विदेश उड्न पाएका छैनन् । उनले धेरै ठाउँमा ऋणका लागि प्रयास गरे तर कसैले पनि दिन नमानेपछि वैदेशिक रोजगारीमा जान पाएका छैनन् ।
मण्डलका अनुसार ऋण–सापटी नपाएका कारण कतिपयले चाडपर्व पनि राम्रोसँग मनाउन सकेका छैनन्, गरिबलाई बैंक तथा सहकारीले पत्याउँदैनन्, पत्याए पनि त्यसको प्रक्रिया नै यति झन्झटिलो छ कि त्यसमा कोही जान चाहँदैनन् । ‘कतिपयको नागरिकता नै छैन, नागरिकता नभएका कारण बैंकले ऋण दिँदैन,’ उनले भने, ‘मिटरब्याजीलाई नियन्त्रण गरेर समाजका एउटा तप्कालाई फाइदा भएको छ भने अर्को तप्कालाई घाटा भइरहेको छ ।’
सिरहा औरही–५ का विनोद कामतलाई आफ्नो बुबाको श्राद्ध गर्न पनि समस्या भएको थियो । गाउँभरि ऋण खोजे पनि उनलाई कसैले दिन मानेनन् । सोही ठाउँका बासिन्दा अशोक साहले भने, ‘विनोद कामतमात्र होइन, यो गाउँमा सयौँ युवाले पासपोर्ट बनाएर राखेका छन् तर ऋण नपाएका कारण वैदेशिक रोजगारीमा जान सकेका छैनन् ।’
यस्तो समस्या मिटरब्याजविरुद्धको आन्दोलन अघि थिएन । अहिले साहु महाजनले बहाना बनाउन थालेको साहले बताए ।
जसपाका स्थानीय राजनीतिकर्मी रामकुमार यादवले पनि छठ पर्वका लागि गरिब समुदायहरु गाउँभर रकम खोज्दै हिँडेको तर कसैले दिन नमानेको सुनाए । उनले भने, ‘आज मसँग तीन जना दुई–तीन हजार रुपैयाँ सापटी माग्न आएका थिए तर मसँग थिएन, उनीहरुलाई दिन सकिनँ ।’
कम आयस्रोत भएका व्यक्तिले पैसा नहुँदा उपचारमा समेत कठिनाइ झेल्नु परेको उनले सुनाए । उनले भने, ‘पहिला यस्तो हुँदैनथ्यो, पछि फिर्ता गर्दिन्छु नि भन्दै जसले पनि ऋण वा सापटी दिएर सहयोग गर्थे तर अहिले एउटै डर छ, ऋण लिएपछि फिर्ता दिँदैनन् । त्यसैले सर्वसाधारणलाई सापटी अथवा ऋण पाउन गाह्रो भएको छ ।’