‘विज्ञान, प्रविधि र नवप्रवर्तनमा नामले उच्च प्राथमिकता दिनुपर्छ’; नामको १९ औँ शिखर सम्मेलनमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्य सहित
कम्पाला (युगान्डा), माघ ५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान विश्वमा ‘गेम चेन्जर’ का रूपमा देखा परेका ‘विज्ञान, प्रविधि र नवप्रवर्तनमा असम्लग्न आन्दोलन (नाम) ले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको ‘नाम’ को १९ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भन्नुभयो, “विकासशील र अल्पविकसित देशले सामना गरिरहेको संस्थागत र क्षमताका बाधाहरूलाई सम्बोधन गर्न ‘नाम’ ले ‘विज्ञान, प्रविधि र नवप्रवर्तन उच्च प्राथमिकता दिनुपर्छ ।”
‘नाम’ का धेरै सहयात्री देशले सामाजिक–आर्थिक र प्राविधिक विकासमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उत्तर–दक्षिण र त्रिपक्षीय सहकार्यका साथै दिगो विकासका लागि साधन र स्रोतको कमी न्यूनीकरण गर्न दक्षिण–दक्षिण सहयोगलाई अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
विश्वव्यापीकरण विश्वास गरिएअनुरुप अगाडि नबढेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसले आयमा असमानता र थोरै मानिसहरू र थोरै देशरूको हातमा सम्पत्ति केन्द्रित गरेको उल्लेख गर्नुभयो ।
उहाँले विश्वव्यापीकरणबाट आधा मानवलाई समृद्धिको यात्राबाट बहिष्करणमा पारिएको उल्लेख गर्दै त्यसलाई विकसित विश्वले बुझ्नुपर्छ भन्नुभयो । ‘नाम’ ले दिगो विकासका लागि सन् २०३० को मुद्दा र अन्य अन्तर्राष्ट्रिय रूपमा सहमत विकासका लक्ष्यहरूको समयमै उपलब्धिमार्फत दक्षिण विश्वको आर्थिक विकास र समृद्धिमा जोड दिनुपर्ने बताउनुभयो ।
‘नाम’ ले संयुक्त राष्ट्र सङ्घका साथै विश्वव्यापी वित्तीय संरचना र व्यापारिक व्यवस्थालाई विकासशील देशको आवश्यकताप्रति उत्तरदायी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हाम्रा बहुपक्षीय संस्थाहरू समावेशी, पारदर्शी र लोकतान्त्रिक हुनुपर्छ, जसलेगर्दा वहुआयामिक विश्वव्यापी समस्याको समाधान गरी दिगो शान्ति र साझा समृद्धि सुनिश्चित गर्न सहयोग गर्छ ।”
बढ्दो द्वन्द्व, गरिबी, भोकमरी, असमानता र अनेकौँ समस्याले निम्त्याएका विकासका साझा चुनौतीहरूलाई सम्बोधन गर्न ‘नाम’ ले नेतृत्व गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको सुझाव छ ।
‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिनुभएको मन्तव्य
महामहिम जनरल योवीरी कागुता मुसेभेनी, गणतन्त्र युगान्डाका राष्ट्रपति,
महामहिम सरकार प्रमुखहरू
माननीय मन्त्रीहरू
प्रतिष्ठित प्रतिनिधिहरू
महिला तथा सज्जन वृन्दहरु
‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ भन्ने महत्त्वपूर्ण नाराका साथ अफ्रिाकाको मोती, सुन्दर देश युगान्डामा आयोजना हुन लागेका असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्न पाउँदा सम्मानित महसुस गरेको छु ।
साझा समृद्धिका लागि शान्ति अति आवश्यक भएको समयमा यो सम्मेलन सफलताका लागि मैले गौतमबुद्धको जन्मस्थलबाट शान्तिको सन्देश लिएर आएको छु ।
असम्लग्नहरूको ऐतिहासिक आन्दोलनको नेतृत्व गर्ने महत्त्वपूर्ण जिम्मेवारी पाउनुभएकोमा अध्यक्ष महोदयलाई सर्वप्रथम म हार्दिक बधाई ज्ञापन गर्दछु । म विश्वस्त छु, तपाईको गतिशील नेतृत्त्वमा यसले थप ताकत, ऐक्यबद्धता र सहकार्यको उपचाइ लिनेछ ।
हामी कम्पालाको यो सुन्दर सहरमा आएदेखि नै यहाँहरूले प्रदान गर्नुभएको न्यायो स्वागत र विशेष अतिथ्यताका लागि म सरकार र गणतन्त्र युगान्डाका जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
अरु नेताहरूलेजस्तै कोभिड –१९ महामारीले चुनौतीका वाबजुद पनि १८ औँ ‘नाम’ शिखर सम्मेलनपछि विगत पाँच वर्षदेखि निवर्तमान अध्यक्ष गणतन्त्र अजरबैजानले गरेको प्रशंसनीय कार्यको म उच्च कदर गर्दछु ।
अध्यक्ष महोदय,
सन् १९५५ अफ्रो–एसियाली सम्मेलनबाट ‘नाम’को बिजारोपण भएदेखि यसले लामो यात्रा तय गरेको छ । यस आन्दोलनले विश्वका धेरै देशहरूको राजनीतिक स्वतन्त्रता, उपनिवेशीकरण र सार्वभौमसत्ता प्राप्त गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । यो खालको गरिमा, गर्व, एेक्यबद्धता र सहयोगका लागि आशापूर्ण अवस्था हो ।
यद्यपि आन्दोलनले न्यायोचित, समतामूलक, समावेशी, शान्तिपूर्ण र समृद्ध विश्वका लागि सङ्घर्ष जारी राखे पनि आजको संसार अन्याय, असमानता, विभाजन, विभेद र बहिष्कारले भरिएको छ । यससँगै संरक्षणवाद, हिंसात्मक अतिवाद र युद्ध र द्वन्द्वले भरिएको छ । त्यसैगरी सैन्य खर्च र हतियारको दौड बढीरहेको छ ।
पछिल्लो शिखर सम्मेलनदेखि नै कोभिड –१९ महामारीका कारण लाखौं मानिसको मृत्यु, विपन्नता र विस्थापन लगायतका ठूला मानवीय चुनौतीहरू आइपरेकाछन् । सत्य के हो भने महामारीपछिको पुनरउत्थान सुस्त र असमान रहेको छ । यसले समाजका गरिब र समाजका सबैभन्दा कमजोर वर्गलाई प्रहार गरेको छ । यसले अरु वहुआयामिक सङ्कट निम्त्याएको छ ।
त्यस्तै, हाम्रा जनताको आशा, मर्यादा र सभ्य जीवनको युगमा प्रवेश गर्न महत्त्वपूर्ण मानिएको दिगो विकासका लक्ष्यहरू (एसडीजी) हासिल गर्न असम्भव देखिएको छ । त्यसैगरी, विशेष परिस्थितिमा रहेका देशहरूलाई आफ्नो विकासका दृष्टिकोण र लक्ष्यहरू प्राप्तिका लागि वित्तीय सुरक्षा गर्नका लागि विश्वको वित्तीय संरचना सुधार गर्नु पर्दछ । यी देशहरूलाई विकास न्याय प्रदान गर्न, विकसित देशहरूले ढिलाई नगरी वित्तीय प्रतिबद्धता पूरा गर्नुपर्छ । अन्तर्राष्ट्रिय व्यापार न्यायोचित, निष्पक्ष र समावेशी हुनुपर्छ, जसले तल्लो तहका अर्बौं जनतालाई फाइदा पुग्छ ।
विश्वव्यापीकरण हामीले जुन रूपमा विश्वास गरेका र्छौँ, त्यही अनुरूपमा समान तवरले उठेको छैन । बरु यसले आयमा असमानता र थोरै मानिसहरू र थोरै देशरूको हातमा सम्पत्तिकेन्द्रित गरेको छ ।
यो अनाचर र अनैतिक मात्र होइन, आधा मानवलाई समृद्धिको यात्राबाट बहिष्करणमा गर्ने कार्य हो भन्ने विषय उत्तरी विश्वले बुझ्नुपर्छ । नामले दिगो विकासका लागि सन् २०३० को मुद्दा र अन्य अन्तर्राष्ट्रिय रूपमा सहमत विकासका लक्ष्यहरूको समयमै उपलब्धिमार्फत दक्षिण विश्वको आर्थिक विकास र समृद्धिमा जोड दिनुपर्छ ।
धेरै सहयात्री ‘नाम’ का सदस्य मुलुकहरूले सामाजिक–आर्थिक र प्राविधिक विकासमा उल्लेखनीय प्रगति गरेकाले उत्तर–दक्षिण र त्रिपक्षीय सहकार्यका साथै दिगो विकासका लागि साधन र स्रोतको कमी न्यूनीकरण गर्न दक्षिण–दक्षिण सहयोगलाई अभिवृद्धि गर्नुपर्छ । त्यसैगरी वर्तमान विश्वमा ‘गेम चेन्जर’ का रूपमा देखा परेको ‘विज्ञान, प्रविधि र नवप्रवर्तन’ मा विकासशील र अल्पविकसित देशहरूले सामना गरिरहेका संस्थागत र क्षमताका बाधाहरूलाई सम्बोधन गर्न ‘नाम’ ले उच्च प्राथमिकता दिनुपर्छ । ‘नाम’ ले संयुक्त राष्ट्रसङ्घको पुनःसंरचनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।
हाम्रा बहुपक्षीय संस्थाहरू समावेशी, पारदर्शी र लोकतान्त्रिक हुनुपर्छ, जसले दिगो शान्ति र साझा समृद्धि सुनिश्चित गर्न सहयोग गर्छ । हामीले झेल्नुपरेका साझा र समसामयिक चुनौतीहरूलाई सम्बोधन गर्न ‘नाम’ ले नेतृत्व लिनुपर्छ ।
अध्यक्ष महोदय,
‘सहयोग’ बाट नै सबैभन्दा उच्चकोटीको मानवता प्राप्त गर्न सकिन्छ भन्ने राम्रो पाठ मानव सभ्यताको इतिहासले सिकाएको छ । ‘नाम’ आफैंमा सहयोगलाई प्रगाढ बनाउने थलो हो । सहयोगको माध्यमबाट हामीले विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्छ । समृद्धि थोरैका लागि सुअवसर हुन सक्दैन । सामूहिक प्रयासको फल प्रत्येक देश र सबैलाई उपलब्ध हुनुपर्छ । हामीले यस्तो स्तरको खेल मैदान सिर्जना गर्नुपर्छ जहाँ सबै देशहरूले समृद्धिलाई सकेसम्म समान रूपमा बाँडफाँट गर्न सकुन् ।
नयाँ र पुराना द्वन्द्वका नतिजाले यस क्षेत्रलाई नभई सम्पूर्ण विश्व र विशेषगरी दक्षिण विश्वलाई घेरेको छ । त्यसैले यो सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्ने समय हो । संयुक्त राष्ट्रसङ्घपछिको सबैभन्दा प्रतिनिधि संस्थाको रूपमा आन्दोलनले सुरक्षा, स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण, समतामूलक समृद्ध विश्वको स्थापना गर्न निर्णायक भूमिका खेल्नुपर्छ ।
‘नाम’ का निरन्तरको मूल्यमान्यता र सिद्धान्तहरु हाम्रा लागि पवित्र छन् । यसको पालनाले हामीलाई शान्तिमय, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको छ ।
अध्यक्ष महोदय,
नेपालले स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको छ । हाम्रो परराष्ट्र नीति सार्वभौम समानता, आपसी सम्मान, आपसी हित र विवादको शान्तिपूर्ण समाधानमा आधारित छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तहरूमध्ये एक हो । नेपाल शान्तिका प्रतीक गौतम बुद्धले दिक्षित गरेको शान्तिपूर्ण सहअस्तित्वको शाश्वत सत्यमा विश्वास गर्दछ । विविधतामा एकता र वसुधैव कुटुम्बकम अर्थात् ‘विश्व एउटै परिवार’ हाम्रो जीवन पद्धती बनेको छ । यी मूल्य मान्यताहरू हाम्रा सामाजिक–सांस्कृतिक परम्परामा परापूर्वकालदेखि नै स्थापित हुँदैआएका छन् ।
नेपाल शान्तिप्रिय देश भएकाले विश्वमा भएका सबै प्रकारका द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्वको निन्दा गर्दछ । युक्रेन र गाजामा भइरहेको द्वन्द्व अत्यन्त पीडादायी छ ।
मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्रसङ्घको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सिमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहन्छ । नेपाल आफ्नो अनुपम, राष्ट्रिय स्वामित्वको र नेपाल आफैँले विकास गरेको शान्ति प्रक्रियाको निष्कर्षमा पुगेको छ । हामी सङ्क्रमणकालीन न्यायलाई एक पटक र सदाका लागि समाधान गरेर दिगो शान्ति सुनिश्चित गर्न प्रतिबद्ध छौँ । द्वन्द्वबाट स्थापित नेताका रुपमा सम्बोधन गर्दै गर्दा मलाई के विश्वास छ भने शान्ति सम्भव छ, दृढ विश्वास र इच्छा शक्तिले राष्ट्र र विश्वव्यापी रूपमा रहेका ऐतिहासिक, सामाजिक–सांस्कृतिक र आर्थिक अन्यायलाई सम्बोधन गर्न सकिन्छ ।
स्तरोन्नती हुँदैगरेको अल्पविकसित देश, नेपालले आफ्नो विकास प्रयासहरूमा धेरै चुनौतीहरूका सामना गरिरहेको छ । अल्पविकसित राष्ट्रहरूको अध्यक्षको हैसियतमा म अल्पविकसित राष्ट्रहरूलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा डो¥याउन सहयोगको भावना र यस भावनामा सहयोग गर्न अन्तर्राष्तिट्रय समुदायलाई सहयोगको स्तर बढाउन आह्वान गर्दछु ।
अध्यक्ष महोदय,
हिमालयको देशबाट आएको हुनाले मैले यो महत्त्वपूर्ण सम्मेलनमा हिमालको विषयमा केही भन्नैपर्छ । पहाडहरू विश्वव्यापी जनसङ्ख्याको १५ प्रतिशत र पृथ्वीको जैविक विविधताको ५० प्रतिशतको घर हो । यसले सबै जीवित प्राणीहरूलाई विश्वव्यापी सेवाहरू प्रदान गर्दछ । तर उनीहरूले ठूलो पीडा भोगीरहेका छन् । हिमाली देश नेपालले हिमाल, हिमाली पारिस्थितिक प्रणाली र त्यहाँ बसोबास गर्ने जनताको संरक्षणका लागि वकालत गर्दैआएको छ ।
हामीले जलवायु परिवर्तनको विनाशकारी प्रभावका कारण दरलाग्दो दरमा घट्दैगएको हिमनदीहरूका स्वरुप र यसले अरबौंको जीवन र जीविकोपार्जनमा ल्याउने अनगिन्ती पीडा देखेका छौँ ।
हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु हाम्रो साझा हितमा छ । यसका लागि म ‘नाम’ का साथीहरूलाई हाम्रो आह्वान–हिमालयको आह्वानलाई समर्थन गर्न आह्वान गर्दछु ।
अन्त्यमा, अध्यक्ष महोदय, असंलग्नताको मूल्य र सिद्धान्तप्रति हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गरौँ र हामी कुनै पनि दोहोरो मापदण्डबाट जोगिऔँ । हाम्रो साझा समृद्धिका लागि अत्यन्त इमान्दारी सद्भाव, ऐक्यबद्धता र सहयोगका साथ काम गरौँ । कसैलाई पनि पछि नछोडी न्यायपूर्ण, समतामूलक, शान्तिपूर्ण, दिगो र समृद्ध विश्व निर्माण गर्न ‘नाम’ लाई बलियो बनाऔँ । अन्त्यमा, मन्त्रीस्तरीय बैठकले प्रस्तुत गरेका ‘अन्तिम दस्तावेज’ र ‘कम्पाला घोषणापत्र’ को फलदायी छलफल र अबलम्बन गरेकामा म प्रशंसा गर्दछु ।
धन्यवाद