बालविवाह रोक्न सिफारिस अनिवार्य
प्रेमराज सिम्खडा / कालीकोट, फागुन २६ गते । कालीकोटको केही स्थानीय तहले बालविवाह रोक्न सिफारिस प्रणाली सुरु गरेका छन् । सचेतीकरणका कार्यक्रमले बालविवाह नरोकिएपछि अब विवाह गर्ने दम्पतीका आफन्तले वडा कार्यालयबाट सिफारिस लिएर मात्र विवाह गर्नुपर्ने निर्णय गर्न थालेका हुन् ।
सान्नीत्रिवेणी गाउँपालिका–४ ले विवाह गर्ने केटा र केटीको घर परिवारले आफ्नो वडामा आएर छोरा र छोरीको उमेर प्रमाणित गरेको सिफारिस अनिवार्य राख्नु पर्ने निर्णय गरेको छ । वडा अध्यक्ष देवनाथ योगीले विवाह गर्नेले वडाको सिफारिस अनिवार्य राख्नु पर्ने निर्णय गरेको बताउनुभयो ।
अध्यक्ष योगीले बडामा सिफारिस नलिएको तर विवाह भइरहेको पाइएमा सिफारिस नलिनुको कारणका बारेमा अनुसन्धान हुने र उमेर नपुगेको भेटिएमा कानुनअनुसार विवाह मण्डपबाटै पक्राउ गर्ने निर्णय भएको बताउनुभयो ।
स्थानीय सरकारले बालविवाह रोक्न गरेका प्रयास असफल भएपछि कडा रूपमा प्रस्तुत हुन थालेको वडा कार्यालयका प्रतिनिधिको भनाइ छ । यसअघि रास्कोट नगरपालिका ४ ले पनि सिफारिस अनिवार्य हुनुपर्ने निर्णय गरेको थियो ।
बालविवाह न्यूनीकरणको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले काम गरिरहेका छन् । तर पनि बालविवाह रोक्न सकिएको छैन । जिल्लाको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा बालविवाह न्यूनीकरणका कार्यक्रम जारी छ ।
ती क्षेत्रमा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल) सादा नेपाल र हुरेन्डेक नेपाल बालबालिकाको क्षेत्रमा काम गरिरहेका छन् । बालविवाह रोक्ने बलियो उपाय वडाको सिफारिस अनिवार्य भएपछि अरू वडा तथा पालिकाले पनि अभ्यास गरिरहेका छन् ।
एक वर्षअघि जिल्लाको शुभकालिका गाउँपालिकाले विवाहका लागि वडाको सिफारिस अनिवार्य गरेपछि बालविवाहमा कमी आएको छ । सानै उमेरमा हुने विवाहले घरेलु हिंसा, बहुविवाहजस्ता घटना बढ्नुका साथै शारीरिक रूपमा पनि महिला कमजोर हुनेगर्छ । त्यसलेगर्दा आकालमै ज्यान जाने खतरा पनि रहने चिकित्सकको सुझाव छ ।