मन्त्रिपरिषद् बैठकका १८ निर्णय; मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय
काठमाडौँ / जेठ ४ गते । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
मन्त्री शर्माले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।
त्यस्तै, बैठकले स्टाण्डर्ड नाप र तौल (छैटौं संशोधन) नियमहरु, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।
मन्त्री शर्माले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा लोकनाथ पौड्याललाई बढुवा गरी मधेश प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय बैठकले गरेको बताउनुभयो ।
यसैगरी, नेपाल कृषि वन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीो रिक्त पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव (पशुपन्छी विकास) मा पदस्थापन गर्ने । साथै, सचिव डा. दीपककुमार खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव (कृषि विकास)मा सरुवा गर्ने निर्णय बैकठले गरेको छ ।
त्यस्तै, बैठकले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको रिक्त कार्यकारी अध्यक्ष पदमा प्रा.डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने र वर्तमान मन्त्रिपरिषद्का सदस्यहरुको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।