नेपालमा केही भएन भन्ने भाष्य द्रुतमार्गले खण्डन गरेको छ : प्रधानमन्त्री

मकवानपुर / साउन २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नयाँ प्रविधियुक्त ढङ्गले लामा सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ एउटा महत्त्वपूर्ण कार्य भएको बताउनुभएको छ । राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)स्थित घट्टेपाँखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेकाले अब यो विकास निर्माणको गति नरोकिने दृढता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “विगतमा जुन रफ्तारमा विकास हुनुपर्थ्यो, त्यो भएन, अब विकासको नमुना यो द्रुतमार्ग हुनेछ ।” द्रुतमार्ग अघि बढाउने सन्दर्भमा देखिएका बाधा व्यवधानलाई समाधान गर्न सरकार तयार रहेको बताउँदै उहाँले द्रुतमार्ग निर्माणमा देखिएको व्यवधान राजनीतिक मात्र नभई अर्थतन्त्रसँग पनि जोडिएको स्पष्ट पार्नुभयो ।

नेपालमा केही भएन भन्ने भाष्य खडा गर्न खोजिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले द्रुत मार्गको सुरुङ निमार्णले त्यसलाई खण्डन गरेको बताउनुभयो । सांस्कृतिक अन्तरघुलन, राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण र पर्यटन उद्योग प्रवर्द्धन गर्न मुलुकको आत्मविश्वासको दृष्टान्तकारुपमा द्रुतमार्ग भएको बताउँदै प्रधानमन्त्री ओलीले देशमा पूर्णशान्ति र भयरहित वातावरण बनाउन प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।

उहाँले देश विकास होस, नागरिकको जीवनस्तर माथि उठोस्, सुखी नेपाली र समृद्ध नेपालका राष्ट्रिय आकाङ्क्षा पुरा होस् भन्ने दृष्टिकोणले सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । अप्टिकल फाइबर, फोर जी इन्टरनेटलगायतका सेवा सबै जिल्लामा पुर्‍याउने काम अघि बढिरहेको बताउँदै प्रधानमन्त्री ओलीले द्रुतमार्गलगायतका पूर्वाधारले यस्ता कार्यक्रमलाई सहयोग पुर्‍याउने बताउनुभयो ।

उहाँले सुरु गरेका काम समयमै सम्पन्न गर्न पूर्वाधार विकाससँग जोडिएका मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिनुभयो । मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा आज एक समारोहबिच प्रधानमन्त्री ओलीले काठमाडौँ–निजगढतर्फको एक दशमलव सात सय २८ किमी लामो सुरुङ ब्रेक थ्रु गर्नुभएको थियो ।

द्रुतमार्ग वि.सं २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना १३ प्योकजमा विभाजन गरी निर्माण भइरहेको छ । आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा छन् । प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको सो द्रुत मार्गको लम्बाइ ७० दशमलव नौ सय ७७ किलोमिटर छ । द्रुत मार्ग पहाडी भू–भागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ ।

द्रुतमार्गमा १० दशमलव तीन सय नौ किमी लम्बाइका छ वटा सुरुङ बन्ने छन् । सो सडकमा विभिन्न स्थानमा १२ दशमलव आठ सय ८५ किमी लम्बाइका ८९ पुल निर्माण हुनेछन् । बुदुनेमा दुई विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एक/एक इन्टरचेन्ज र टोल प्लाजा निर्माण गरिने जनाइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter