राजनीतिक स्थिरताका लागि संविधान संशोधन : प्रधानमन्त्री ओली; राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गरौं : राष्ट्रपति पौडेल
काठमाडौँ, असोज ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेसम्म सबै दलको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै सो विचार व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म हामी संविधान संशोधनको माध्यमबाट पनि गर्न सक्छौँ । यसप्रति निश्चय नै राष्ट्रिय चासो छ । म विश्वास दिलाउन चाहन्छु, संशोधन प्रक्रियामा हामीले संसद्को गणितीय सङ्ख्या मात्र हेर्ने छैनौँ । सरकारमा रहेका पार्टीहरूको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिनेछ ।’’
प्रधानमन्त्री भन्नुभयो, ‘‘संविधानलाई समयानुकूल बनाउनुपर्छ । समयानुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो । मेरो विचारमा संविधानको संशोधन भनेको लिखत र मर्म (लेटर एन्ड स्पिरिट) अनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु हो । विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु हो ।’’
जनताका अधिकारीलाई अझ सबल र प्रभावकारी बनाउन संविधान संशोधन गर्न लागिएको स्पष्ट गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘मलाई थाहा छ, एउटा नागरिकले संविधानको मर्मसँग आफ्नो भावनालाई साट्न खोज्छ । संविधानमा लेखिएको कुरा व्यवहारमा लागू होस् भन्ने चाहन्छ । नहुँदा आम नागरिक कहिलेकाहीँ निराश पनि हुन्छ । मैले संसदमा विश्वासको मत लिँदै गर्दा भनेको थिए २०४६ सालपछिको पुस्ताले यति चरम निराशा सायद पहिलो पटक बोकेको र पोखेको छ । म देख्छु, खासगरी युवा पुस्ताभित्र असीमित ऊर्जा छ । केही गरौँ भन्ने हुटहुटी छ, उत्प्रेरणा छ, सपना छ ।’’
यसैगरी, प्रधानमन्त्री ओलीले संविधान संशोधनको प्रक्रियामा सरकारका रहेका दलको संसदको गणितीय सङ्ख्यालाई मात्र नहेरी सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम् प्रयास गरिने स्पष्ट गर्नुभएको छ । उहाँले संविधानलाई समयानुकूल बनाउँदै अमिल्दा विषय र राजनीतिक तहमा देखिएको अस्थिरताको केही हदसम्म सम्बोधन संविधान संशोधनले गर्ने विश्वास व्यक्त गर्नुभयो ।
संविधानमा लेखिएको कुरा व्यवहारमा लागू होस् भन्ने आम नागरिकको भावनालाई कदर गर्दै यस संविधानलाई जनसंविधानका रुपमा लिएर संविधान दिवसलाई औपचारिक मात्र नभई नागरिकस्तरमा भव्यरुपमा मनाउन पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो ।
“संविधानमा लेखिएका कतिपय अधिकारहरु नागरिकका जीवनमा अनुदित भएका छैनन् । संविधानलाई जीवनमय बनाउन राज्य र नागरिक दुवै पक्षको प्रयास जरुरी छ । संविधानलाई जीवनमय बनाउने बाहेक यो सरकारसँग अरु कुनै मुद्दा छैन ।’’, संविधान दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री ओलीले भन्नुुभयो, “युवा पुस्तासँग भएको ऊर्जा, हुटहुटी र सपनाको सही उपयोग हुनुपर्छ । युवाहरुलाई म भन्न चाहान्छु, तपाईंहरुसँग केही गरौँ भन्ने आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरुबाट बचाउनुहोला ।’’
प्रधानमन्त्री ओलीले समाजमा अनुशासन र सामाजिक व्यवस्था तथा मर्यादाको पालनाका लागि स्मरण गराउँदै भीडतन्त्र र अराजकता लोकतन्त्र अनुकूल हुन नसक्ने बताउनुभयो ।
राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गरौं : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गर्न अपिल गर्नुभएको छ। संविधान दिवस २०८१ को अवसरमा राष्ट्रपति भवन शीलत निवासमा बिहीबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति पौडेल उक्त अपिल गर्नुभएको हो।
उहाँले भन्नुभयो,“हामी संकल्प गरौ कि हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन्। नागरिकको हितबाहेक हाम्रो राज्यको अरु कुनै स्वार्थ हुनेछैन। ”
उहाँंले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न संकल्प चाहिने उल्लेख गर्दै भन्नुभयो, “लक्ष्य प्राप्त गर्न साधना चाहिन्छ भन्दै उहाँले लक्ष्य प्राप्त गर्न अविचलित भइ अगाडि बढ्ने अटल आस्था र उच्च नैतिक शक्ति चाहिन्छ। ”
“हामीले प्राप्त गर्न चाहेको राष्ट्रिय लक्ष्य हासिल गर्न आज महत्त्वपूर्ण संकल्प गरौं, पहिलो संकल्प गरौं, हामी लोकतन्त्रप्रति प्रतिबद्ध रहने छौं। जस्तोसुकै अप्ठ्यारोमा पनि हामी लोकतन्त्रको गरिमालाई बचाउनेछौ र नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नेछौं”, राष्ट्रपति पौडेलले भन्नुभयो, “अर्को संकल्प गरौं कि हामी सुशासन प्रति प्रतिवद्ध रहने छौं तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आवद्ध गर्नेछौं। ”
राष्ट्रपति पौडेलले समावेशीकरण र सामाजिक न्यायप्रति प्रतिबद्द रहने तथा हाम्रा विभिन्न जाति, भाषा, धर्म, संस्कृति र सभ्यतालाई साझा बनाउने तेश्रो संकल्प गर्न आग्रह पनि गर्नुभयो। राष्ट्रपति पौडेलले भन्नुभयो, “भ्रातृत्व, एकता र समभाव हाम्रो जीवन पद्दति हुनेछ, सामाजिक एकता र आपसी सम्मान हाम्रो सांस्कृतिक चरित्र हुनेछ। ”
उहाँले जस्तोसुकै परिस्थितिमा पनि देश, यसको स्वाधिनता र सार्वभौमिकतालाई झुक्न दिनेछैनौं भन्ने अर्को संकल्प गर्न आग्रह गर्नुभयो। “पाँचौ, संकल्प गरौं कि हामी नागरिकको हितका लागि समर्पित हुनेछौ”, राष्ट्रपति पौडेलले भन्नुभयो।
यी संकल्प गर्दै मुलुकको समृद्धिको यात्रामा अघि बढिरहँदा हामीले ध्यान दिनपर्ने केही महत्त्वपूर्ण विषयहरू भएको बताउँदै उहाँले पहिलो त हामीले राज्यलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण, जनमुखी र सुशासित बनाउन आवश्यक रहेको बताउनुभयो।
“राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न हामीलाई प्रभावकारी सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक हुन्छ, जसले नागरिकमा आशा जगाउन सकोस्, जसले नागरिकलाई यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित छ भनेर लोकतन्त्रप्रति भरोसा जगाउन सकोस्”, राष्ट्रपति पौडेलले भन्नुभयो।
उहाँले संविधानको वास्तविक कार्यान्वयन गर्दै सुशासन कायम गर्ने, विकास निर्माणलाई तिब्रता दिने र सेवा प्रवाहमा चुस्तता ल्याउनुपर्ने अहिलेको महत्वपूर्ण समयमा यसको पूर्ण कार्यान्वयनमा सबैले ध्यान दिनु अहिलेको आवश्यकता हो भन्नुभयो।
आज उत्साह र उमंगका साथ संविधान दिवस मनाइरहँदा आफैभित्र आशाको नयाँ दियो बाल्न उहाँले आग्रह गर्नुभयो। “किनभने, यो निरास बस्ने समय होइन, यो हामीबीच आरोप प्रत्यारोप गर्ने समय होईन, यो देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होईन, यो एकतावद्ध हुने समय हो, यो आफैंप्रति विश्वस्त हुने समय हो, यो भविष्य उन्मुख हुने समय हो, आजको दिनले हामी सबैलाई निरासाबाट आशा र समृद्ध नेपाल निर्माणको बाटोतिर जान प्रेरणा दिन सकोस्”, राष्ट्रपति पौडेलले भन्नुभयो।
यो संविधानले हामीलाई लोकतन्त्र दिएको छ र हामीले इतिहासमै सबैभन्दा धेरै स्वतन्त्रता र सम्मान प्राप्त गरेका छौं भन्दै राष्ट्रपति पौडेलले यो संविधानले हामीलाई संघीयता दिएको छ, अधिकार सम्पन्न स्थानीय तह दिएको छ र केन्द्रको अधिकार गाउँ गाउँसम्म पु¥याउने अवसर दिएको बताउनुभयो। “एकात्मक र केन्द्रिकृत शासनप्रणालीको बदलामा प्राप्त संघीयता हाम्रा लागि संविधानले दिएको महत्त्वपूर्ण उपहार हो, त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्र साकार पारौं”, राष्ट्रपति पौडेलले भन्नुभयो।
हामीलाई यो संविधानले बहुलवादमा आधारित एक समावेशी नेपाल बनाउने अवसर दिएको र वर्तमान संविधानले निरंकुश र केन्द्रिकृत राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेकोमात्र होइन वास्तविक अर्थमा नेपाली जनतालाई मालिक बनाएको उहाँको भनाइ थियो। “राज्यशक्तिको स्रोत अब नेपाली नागरिक भएका छन्”, राष्ट्रपति पौडेलले भन्नुभयो।
उहाँले संविधानमार्फत यो राष्ट्र निर्माणको समय हो र यसका लागि हामीले राज्यको आवधिक र दीर्घकालीन लक्ष्य निर्धारण गर्न आवश्यक छ भन्नेमा जोड दिनुभयो।
“जुन लक्ष्य, हामी सबै नेपालीको साझा लक्ष्य बनोस्, जुन लक्ष्य, हाम्रा सबै राजनीतिक दलको साझा लक्ष्य बनोस्, जुन लक्ष्य, हाम्रा प्रत्येक युवाको साझा लक्ष्य बनोस् र त्यसले हामी सबैलाई एकतावद्ध भइ अगाडि बढ्न प्रेरित गरोस्”, राष्ट्रपति पौडेलले भन्नुभयो।
राष्ट्रपति पौडेलले आफूले निर्वाचित गरेका जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफैं लेख्ने नेपाली जनताको पटक पटकको आन्दोलन, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको नौ वर्ष पुरा भएको गौरवमय क्षणमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्दाञ्जली व्यक्त भन्नुभयो।
आन्दोलनका क्रममा जेल, नेल, निर्वासनसहित अनेकौं यातना सहने र जस्तै कष्टमा पनि अविचलित भइ परिवर्तनको पक्षमा क्रियाशील हुने लोकतन्त्रका योद्धाहरूलाई सम्मानसहित हृृदयबाट नै धन्यवाद र आभार व्यक्त गर्नुभयो। उहाँले लोकतान्त्रिक आन्दोलनका अग्रज नेतालाई यो अवसरमा सम्मानपूर्वक स्मरण गर्नुभयो। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उच्च पदस्थ सरकारी अधिकारी तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभाव तथा सर्वसाधारणको उपस्थिति थियो। सो अवसरमा नेपाली सेनाले विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेको थियो।