प्रधानमन्त्री ओली स्वदेश फिर्ता; राहत, उद्धार र पुनर्निर्माणलाई तीव्रता दिइने प्रधानमन्त्रीको घोषणा
काठमाडौँ, असोज १४ गते । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्कनु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।
प्रधानमन्त्री ओलीले अमेरिकामा रहँदा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्नुभयो । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ४ गते न्युयोर्क प्रस्थान गर्नुभएको थियो ।
राहत, उद्धार र पुनर्निर्माणलाई तीव्रता दिइने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्तिको बेला विरोधका लागि विरोध गर्नुको साटो विपत्तिमा परेकाहरूको उद्धार, राहत र पुनर्निर्माणमा तीव्रता दिनुपर्ने बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई सोमबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारी निकाय र जनस्तरबाट उद्धारको कार्य भइरहेको भन्दै अव थप तीव्रता दिइने बताएका हुन् ।
त्यसक्रममा उनले बाढी आउने कुरालाई रोक्न नसकिने भन्दै आफूले सकेअनुसार राहत र उद्धार गर्न सरकारका अङ्गलाई निर्देशन दिएको पनि बताए । ‘बाढी र पहिरो आउने कुरा पूर्वसूचना गरेर जाँदैन । गएपछि क्षति पुर्याउने नै हो । सरकारले राहत र उद्धारको काम गरेको छ’, उनले भने, ‘मैले बाहिर हुँदा पनि जानकारी लिएको छु । सरकारले आफ्नो बुताअनुसार गरेको छ । विरोधका लागि विरोध होइन । सबै मिलेर अघि बढ्नु आवश्यक हुन्छ ।’
प्रधानमन्त्रीले अब आफू स्वदेश फर्केपछि पनि उद्धार, राहत र पुनर्निर्माणमा लाग्ने भन्दै त्यसलाई थप प्रभावकारी बनाउने बताए ।
प्रधानमन्त्रीले नेपालको परिपूर्ण लोकतन्त्र, मानवअधिकार, सामाजिक सुरक्षालगायतका विषयमा प्रकाश पार्नुका साथै नेपालले शान्ति प्रक्रियामा गरेको प्रगति, जलवायु परिवर्तन र त्यसले हिमाली राष्ट्रमा पारेको प्रभाव तथा चुनौतीका सन्दर्भमा विश्वका राष्ट्रको ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्रीको १० दिने अमेरिका भ्रमणका क्रममा अमेरिकाका राष्ट्रपतिका साथै अन्य मुलुकका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखहरूसँग पनि भेटवार्ता र नेपालको चासो र सरोकारका विषयमा ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले भ्रमबारे जानकारी गराएका थिए ।