दुर्गा प्रसाईं भारतमा पक्राउ; दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौं, चैत २८ गते । गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गरेर नेपाल ल्याइँदैछ ।
तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए ।
त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।
सामाजिक सञ्जालमा उनको तर्फबाट सन्देशहरु आइरहँदा समेत प्रहरीले ट्र्याक गर्न नसकेको भनेर आलोचना पनि भएको थियो ।
तीनकुनेमा भएको प्रदर्शन भाँडिएपछि प्रदर्शनकारीले लिएको उग्र शैलीका कारण दुई जनाको मृत्यु भएको थियो । निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
उनको सचिवालयले प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरेको छ ।
‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंलेज्यूले आफ्नो सुरक्षाका लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ’, उनको सचिवालयले बिहीबार राति फेसबुकमार्फत भनेको छ ।
हिजो आफूहरुले भिडियो मार्फत ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुने भनेको र आज उपस्थित भएको सचिवालयको भनाइ छ ।