विश्व विद्यालयहरू पतनतर्फः को जिम्मेवार ?

डा. प्रल्हाद कार्की / नेपालको उच्च शिक्षा अहिले एउटा निर्णायक मोडमा पुगेको छ । सन् १९९० पछि विश्वविद्यालय र कलेजहरूको तीव्र विस्तारलाई “शिक्षा–लोकतन्त्रीकरण” को सफलता ठानियो । जसको उद्देश्य थियो— सबैका लागि उच्च शिक्षा । तर तीन दशकपछि नतिजा उल्टो देखिँदैछ । देशभर करिब एक हजार सातसय भन्दा बढी सम्बन्धन प्राप्त कलेजहरू छन् (विश्व विद्यालय अनुदान आयोग, २०२३) । तर विद्यार्थी घट्दै छन् । गुणस्तर खस्किँदै छ । विश्व विद्यालयहरूको विश्वसनीयता कमजोर हुँदै गएको छ । यस्तो विस्तारले समावेशिता होइन, असमानता जन्माएको छ ।

आर्थिक मोड र मूल्य–प्रतिस्पर्धा

सरकारी अनुदान सीमित भएपछि विश्व विद्यालयहरूका लागि सम्बन्धन आम्दानीको मुख्य स्रोत बनेको छ । सम्बन्धन शुल्क, परीक्षा शुल्क, दर्ता राजस्व र आन्तरिक आयले कतिपय विश्वविद्यालयको ६० प्रतिशत बजेट ओगट्छ (युजिसी, २०२३) । यसले शिक्षालाई सेवा होइन, बजारमा रूपान्तरण गरेको छ । कलेजहरू बीच शुल्क घटाउने होड चलेको छ — कतिपय इञ्जिनियरिङ कार्यक्रम वर्षमा केवल एक लाख रूपैयाँमै सञ्चालित छन् (कान्तिपुर दैनिक, २०२४) । यस्तो मूल्यमा गुणस्तरीय शिक्षक, प्रयोगशाला र अनुसन्धान सम्भव छैन ।

lAtbach / de Wit (२०२०) ले यसलाई शैक्षिक पूँजीवाद भन्छन् — जहाँ शिक्षाको मिशन बजारको मुनाफामा हराउँछ । नेपालमा सम्बन्धन सङ्ख्या नाप्ने संस्कृतिले ज्ञान सिर्जनालाई पछाडि पारेको छ Dewey (१९१६) ले शिक्षालाई लोकतान्त्रिक जीवनको आधार मानेका थिए — तर यहाँ शिक्षा जीविकोपार्जनको
माध्यम बनेको छ ।

लगानीको जोखिम र नैतिक क्षय

एउटै लगानीकर्ताले फरक–फरक विश्वविद्यालयबाट सम्बन्धन लिने प्रवृत्ति हाम्रो उच्च शिक्षाको नयाँ रोग हो । उनीहरू भन्छन् — “एक विश्वविद्यालय असफल भए अर्कोले बचाओस्” (The Rising Nepal, २०२४) । तर यस्तो जोखिम विविधीकरण रणनीतिले शिक्षालाई व्यापारिक पोर्टफोलियो बनाएको छ । प्बलत (१७८५÷१९९३) को विचारमा, विद्यार्थी र शिक्षक दुवैलाई साधनका रूपमा होइन, उद्देश्यका रूपमा हेर्नुपर्छ । तर यहाँ उनीहरू मुनाफाको साधन बनेका छन् ।

विश्वविद्यालयहरू आफैं यसमा संलग्न छन् — सम्बन्धन शुल्कबाट राजस्व बढाउने लोभले उनीहरूले आफ्नो प्रतिष्ठा बेचिरहेका छन् Kant (१९४६) ले यसलाई “संस्थागत आत्माहीनता” भन्छन् — जब प्रणालीले आत्मा गुमाउँछ ।

मानविक मूल्यको ह्रास

शिक्षक र विद्यार्थी दुवै यस प्रणालीका पीडित हुन् । युजिसी (२०२३) अनुसार ७० प्रतिशतभन्दा बढी शिक्षक अस्थायी करारमा छन् । उनीहरू दिनमा तीन–चार कलेजमा पढाउँछन्, जसले सिर्जनात्मक शिक्षण सम्भव बनाउँदैन । विद्यार्थीहरू अद्यावधिक सीप र अनुसन्धान बिना डिग्री लिएर बेरोजगार भइरहेका छन् ।

हाल अधिकांश विश्वविद्यालयका स्नातक दर २० प्रतिशतभन्दा पनि तल पुगेका छन् — यो केवल विद्यार्थीको कमजोरी होइन, प्रणालीको असफलता हो । योग्य शिक्षक , पुराना पाठ्यक्रम र प्रयोगात्मक शिक्षणको अभावले सिकाइको गुणस्तर खस्किँदै गएको छ ।

Nussbaum (२०१०) ले लेखेकी छन् — “जब शिक्षा नफाको लागि हुन्छ, समाजले सोच्ने होइन, चल्ने मानिस उत्पादन गर्छ ।” नेपाल त्यही दिशामा छ । Freire (१९७०) को भनाइमा — “शिक्षा कहिल्यै तटस्थ हुँदैन; यसले या त स्वतन्त्र गर्छ, या नियन्त्रण ।” हाम्रो प्रणालीले विद्यार्थीलाई स्वतन्त्रभन्दा बढी नियन्त्रणमा राखेको छ ।

दोष कहाँ छ ?

नीति, संस्था, लगानीकर्ता, शिक्षक, विद्यार्थी र राष्ट्र — सबै तहमा उत्तरदायित्व हराएको छ । युजिसी (२०२३) ले गुणस्तर मापन गर्छ, तर शिक्षाको दर्शन परिभाषित गर्दैन । विश्वविद्यालयहरू राजस्व र राजनीतिक भागबन्डामा फसेका छन् । शिक्षक असुरक्षित छन् । विद्यार्थी प्रमाणपत्रमा सीमित छन् । मूल कारण हो — चेतनाको पतन । जब शिक्षा सेवा होइन, व्यवसाय बन्छ, तब विश्वविद्यालयले आफ्नो आत्मा गुमाउँछ ।

स्वायत्तता र समानताको दर्शन

सुधारको केन्द्रमा अब एक नयाँ आवश्यकता छ — शैक्षिक स्वायत्तता । नेपालका सबै शैक्षिक संस्था अब स्वतन्त्र र स्व–उत्तरदायी बन्न पर्छन् । अहिलेको सम्बन्धन प्रणाली आफैं नीति–भ्रष्टाचारको माध्यम बनेको छ— जसले शिक्षा क्षेत्रमा समान अवसरभन्दा विपरीत असमानता र शोषण बढाएको छ ।

स्वायत्त संस्था भएको अर्थ अराजकता होइन — उत्तरदायित्वसहितको स्वतन्त्रता हो । प्रत्येक शिक्षण संस्थाले आफ्नै पाठ्यक्रम, मूल्याङ्कन र गुणस्तर मापदण्ड निर्धारण गर्न सक्ने तर सरकारद्वारा प्रमाणित “श्रेष्ठता केन्द्र” को मान्यता पाउनुपर्ने व्यवस्था आवश्यक छ । राज्यले अब “सम्बन्धन दिने” भूमिकाबाट “मान्यता प्रमाणित गर्ने” भूमिकामा रूपान्तरण गर्नुपर्छ ।

यसरी सबै संस्थाले प्रतिस्पर्धा नैतिकता र गुणस्तरमा गर्ने छन्, संख्यामा होइन । शिक्षा संस्थाहरूबीच सम्बन्ध उच्च–गुणस्तर आदान–प्रदान, अनुसन्धान र सीप विकासमा केन्द्रित हुनुपर्छ ।

अन्तर्राष्ट्रिय साझेदारीको पुनर्परिभाषा

नेपालमा अहिले केही विदेशी विश्वविद्यालयका सम्बन्धन प्राप्त कलेजहरू सञ्चालनमा छन् । तर यस्ता सहकार्यहरू प्रायः “फ्रान्चाइज मोडेल” मा आधारित छन् — जसले विदेशी नाम त प्रयोग गर्छ, तर स्थानीय सन्दर्भलाई सम्बोधन गर्दैन। अब यसलाई “साझेदारी मोडेल” मा रूपान्तरण गर्न आवश्यक छ — जहाँ विदेशी संस्था नेपालका राष्ट्रिय उद्देश्य र आवश्यकता अनुसार ज्ञान सृजनामा सहभागी बनून्।

राज्यले नीति बनाएर यस्ता सहकार्यहरूलाई अनुसन्धान, प्रविधि र नवीन शिक्षण विधामा केन्द्रित गर्नुपर्छ। नेपालले आफ्नो “राष्ट्रिय उद्देश्य” स्पष्ट गरेपछि मात्र विदेशी साझेदारी सार्थक बन्न सक्छ। यो आयातित शिक्षा होइन — सह–सृजित ज्ञानको मोडेल हो।

नैतिक र पुनरुत्थानमुखी सुधार

नीति र संरचना परिवर्तन भन्दा अगाडि आवश्यक छ — नैतिक पुनर्जागरण । Dewey (१९१६) ले भन्नुहुन्छ, “Education is life itself.” CEM (Karki, २०२४) ले त्यही आत्मालाई फेरि जागृत गर्दछ। शिक्षा ज्ञान, सीप र नेतृत्वको समन्वय हो। Nussbaum (२०१०) ले लेखेकी छन् — “सहानुभूति लोकतन्त्रको आधार हो।” त्यसैले मानवताको पुनर्जागरण शिक्षाको केन्द्रबाट सुरु हुनुपर्छ।

राजनीतिक हस्तक्षेप र आर्थिक व्यापारीकरणबाट शिक्षा मुक्त नभएसम्म संविधानले दिएको अधिकार केवल शब्दमा सीमित रहन्छ। Freire (१९७०) ले भनेका छन् — “साँचो शिक्षा त्यो हो, जसले चेतना जगाउँछ।” यही चेतना पुनरुत्थानको सुरुवात हो।

नेपालका विश्वविद्यालयहरूले संख्यामा विस्तार त गरे, तर अर्थमा सङ्कुचन। अब शिक्षा नीति नयाँ संख्या घोषणाको प्रतिस्पर्धा होइन — चेतनाको प्रतिबद्धता हो। जब विश्वविद्यालयहरूले स्वायत्तता, उत्तरदायित्व र नैतिकतालाई संस्थागत मूल्य बनाउँछन्, त्यो दिन शिक्षा पुनः राष्ट्रको आत्मा बन्नेछ।

“शिक्षा प्रमाणपत्र होइन — चेतनाको पुनर्जागरण हो।”

Related News

Comments are closed

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter