बालेनलाई ओलीको बधाई– तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्; विश्वप्रकाशले भने- पराजयको मेरो भागमा पर्ने जिम्मेवारी लिन्छु

काठमाडौँ, फागुन २३ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह (बालेन)लाई बधाई दिनुभएको छ ।
झापा–५ मा बालेनसँग ४९ हजार ६१४ मतले पराजित भए लगत्तै ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् बधाई तथा शुभकामना दिनुभएको हो।
झापा–५ मा बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत ल्याउनुभएको छ । ओलीलाई साहले ४९ हजार ६१४ मतान्तरले पराजित गर्नुभएको हो ।
यसअघि काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएपछि तबला उपहार दिएको तस्बिर साझा गर्दै ओलीले शुभकामना दिनुभएको हो ।
विश्वप्रकाशले भने- पराजयको मेरो भागमा पर्ने जिम्मेवारी लिन्छु
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनमा पार्टीले भोगेको पराजयको आफ्नो भागमा पर्ने जिम्मेवारी लिन तयार रहेको बताएका छन् । शनिबार भिडिओ वक्तव्य जारी गर्दै उपसभापति शर्माले यस्तो बताएका हुन् ।
‘नेपाली कांग्रेस पार्टीको नेतृत्वमा रहेको नाताले अहिलेको पराजयको जिम्मेवारीको भाग मेरो जिम्मेवारीमा पनि पर्छ,’ उपसभापति शर्माले भने, ‘त्यसको मात्रात्मक रूपमा हामी भोग्छौँ नै । यसको सम्पूर्ण दोष बोक्नैपर्छ भने म बोक्न तयार छु, हामी बोक्न तयार छौँ ।’
मुलुकको नेतृत्व गर्नेगरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएको जनमत स्वीकार गर्ने पनि उनले बताए । उनले कांग्रेस लगायतका मूलधारका दलहरूप्रति जनताको विश्वास किन गुम्दै गयो भन्ने विषयमा गम्भीर समीक्षा हुने पनि बताए ।
तत्कालीन महामन्त्री र हालको नेतृत्वको रूपमा पार्टीलाई रूपान्तरण गर्न नसकेको कमजोरी आफूले स्वीकार गर्ने उपसभापति शर्माले बताए । ‘निर्वाचनमा सामेल भएर लोकतन्त्रलाई बलियो बनाउन मतदान गर्ने सम्पूर्ण मतदातालाई काँग्रेस पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गर्दछु,’ उनले भने ।
विशेष महाधिवेशनमार्फत आफूलाई बदलेको सन्देश जनतामा लिएर जाने प्रयास गरेपनि त्यसका लागि पर्याप्त समय नपुगेको उनले दाबी गरे ।
विशेष महाधिवेशन सकिएको ५० दिन पुग्दा नपुग्दै निर्वाचनमा जानुपरेको उल्लेख गर्दै उपसभापति शर्माले कांग्रेसको अवस्थालाई ‘इन्जुरी टाइम’ मा मैदानमा उत्रिएको खेलाडी र भर्खरै अस्पतालबाट डिस्चार्ज भएर रेस्लिङ खेल्न पठाइएको बिरामीसँग तुलना गरे ।