चालु खातामा करिब ५ खर्ब बचत, वैदेशिक लगानीमा पनि वृद्धि; उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत

काठमाडौँ, फागुन २७ गते । नेपालको चालु खातामा करिब ५ खर्ब बचत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को सात महिनाको तथ्याङ्क अनुसार मुलुकको बाह्य क्षेत्र सुदृढ रहेको देखाएको छ ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्षको माघ मसान्तसम्मा चालु खाता ४ खर्ब ९३ अर्ब ७८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ८४ अर्ब १४ करोड रुपैयाँले मात्र बचतमा थियो।
अमेरिकी डलरमा तुलना गर्दा पनि यो सुधार निकै आकर्षक देखिन्छ । अघिल्लो वर्षको सात महिनामा १ अर्ब ३७ करोड डलर बचतमा रहेको चालु खाता यस वर्षको सोही अवधिमा बढेर ३ अर्ब ४७ करोड डलर पुगेको छ । यसले मुलुकमा भित्रिने र बाहिरिने रकमको सन्तुलन सकारात्मक रहेको पुष्टि गर्दछ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफरमा पनि वृद्धि भएको छ । गत वर्ष ५ अर्ब ८३ करोड रुपैयाँ रहेको पुँजीगत ट्रान्सफर यस वर्ष बढेर ११ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।
त्यसैगरी वैदेशिक लगानीको क्षेत्रमा पनि सकारात्मक सङ्केत देखिएको छ । तथ्याङ्क अनुसार खुद प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १० अर्ब २२ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ७ अर्ब ४३ करोड रुपैयाँ मात्र रहेको थियो । यसले नेपालमा वैदेशिक लगानीकर्ताको आकर्षण क्रमिक रूपमा बढ्दै गएको देखाउँछ ।
शोधनान्तर स्थिति ५ खर्ब माथि
मुलुकको समग्र वित्तीय लेनदेनको ऐना मानिने शोधनान्तर स्थिति पनि निकै बलियो देखिएको छ । ७ महिनामा शोधनान्तर स्थिति ५ खर्ब ३२ अर्ब ७३ करोड रुपैयाँले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले मात्र बचतमा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको २ अर्ब ११ करोड डलरको तुलनामा वृद्धि भई यस वर्ष ४ अर्ब ३ करोड डलर बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ।
उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशतमा सीमित, पेय पदार्थ, घ्यू तेल र फलफूलको मूल्य बढ्यो
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२ को माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशतमा झरेको छ । यो अघिल्लो वर्षको सोही महिनाको ४.१६ प्रतिशतको तुलनामा उल्लेखनीय रूपमा कम हो, जसले मूल्यवृद्धिमा सामान्य कमी आएको सङ्केत गरेको छ ।
यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ४.९५ प्रतिशत थियो । गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ३.६६ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ३.७४ प्रतिशतभन्दा केही कम हो ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनाको औसत मुद्रास्फीति १.९२ प्रतिशत रहेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.८६ प्रतिशत थियो । यसले यस आर्थिक वर्षमा समग्र मूल्यवृद्धि नियन्त्रणमा रहेको देखाउँछ ।
माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६३ प्रतिशत, घ्यू तथा तेलको ७.६१ प्रतिशत र फलफूलको ७.४१ प्रतिशतले बढेको छ । यद्यपि, दाल तथा गेडागुडी उपसमूहको मूल्य ५.१९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको २.९७ प्रतिशत र मरमसलाको २.६१ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाको मूल्य सूचकाङ्क २१.९८ प्रतिशत, शिक्षाको ७.४६ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ५.२८ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले वृद्धि भएको छ । यस समूहमा सञ्चार उप–समूहको मूल्य ०.०८ प्रतिशतले घटेको छ ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.५२ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको मूल्य सूचकाङ्क ३.५१ प्रतिशतले बढेको छ ।
प्रदेशगत रूपमा मधेस प्रदेशको मुद्रास्फीति ५.१४ प्रतिशतसहित सबैभन्दा बढी रहेको छ । कोशी प्रदेशको ३.५३ प्रतिशत, बागमती प्रदेशको ३.१० प्रतिशत, गण्डकी प्रदेशको २.४२ प्रतिशत, लुम्बिनी प्रदेशको ३.२९ प्रतिशत, कर्णाली प्रदेशको १.६२ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १.६४ प्रतिशत मुद्रास्फीति रहेको छ ।
भौगोलिक क्षेत्रअनुसार काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४८ प्रतिशत, तराईको ३.६६ प्रतिशत, पहाडको २.६८ प्रतिशत र हिमालको २.५८ प्रतिशत रहेको छ ।
यस्तै २०८२ माघ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.२१ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको ३.४७ प्रतिशतभन्दा बढी हो । उपभोग्य वस्तुको थोक मुद्रास्फीति ०.७२ प्रतिशत रहँदा मध्यवर्ती वस्तुको ९.८३ प्रतिशत र पुँजीगत वस्तुको ३.२१ प्रतिशतले वृद्धि भएको छ । निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क २.०४ प्रतिशतले बढेको छ ।
सन् २०२६ जनवरी महिनामा भारतको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७५ प्रतिशत रहेको थियो, जबकि नेपालको सोही अवधिको मुद्रास्फीति ३.२५ प्रतिशत छ । यसले नेपालमा भारतको तुलनामा मूल्यवृद्धि केही बढी रहेको देखाउँछ ।