किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वाेच्चकाे अन्तरिम आदेश; कांग्रेस-एमालेलाई बागमतीमा प्रत्यक्षमा भन्दा समानुपातिकमा कम मत, रास्वपालाई धेरै

काठमाडौँ , फागुन २८ गते। सर्वोच्च अदालतले किशोरी साह कमलको नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश दिएको छ।
धनुषा १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका साहको कर्जा सूचना केन्द्रले कालोसूचीमा नाम राखेका कारण उम्मेदवारी खारेज भएको थियो । साहले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले कालोसूचीबाट नाम हटाउन अन्तरिम आदेश जारी गरेको छ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले साहको उम्मेदवारी खारेजी गरेपछि कर्जा सूचना केन्द्रलाई विपक्षी बनाएर दायर गरेकाा थिए । सर्वोच्चले कालोसूचीबाट हटाउन अन्तरिम आदेश दिएसँगै साहको उम्मेदवारी कायम रहने बाटो खुलेको अधिवक्ता दिपेन्द्र झाले रातोपाटीसँग बताए।
निर्वाचनको दुई दिनअघि मात्र निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । सो विरुद्ध सर्वोच्च अदालतमा उनले दिएको रिट शुक्रबारका लागि पेसी छ ।
उम्मेदवारी खारेज भए पनि धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न घण्टीमा भने अत्यधिक मत परेको थियो । तर, सो क्षेत्रमा आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मात्रिका यादव निर्वाचित भएको घोषणा गरिसकेको छ ।
कांग्रेस-एमालेलाई बागमतीमा प्रत्यक्षमा भन्दा समानुपातिकमा कम मत, रास्वपालाई धेरै
बागमती प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फका उम्मेदवारले पाएको भन्दा समानुपातिक तर्फ धेरै मत पाएको छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार रास्वपाले बागमती प्रदेशबाट समानुपातिकतर्फ ११ लाख १९ हजार २७० मत पाएको छ । यो प्रदेशमा ३३ वटा निर्वाचन क्षेत्र रहेका छन् । ३३ वटै क्षेत्रमा रास्वपाले उम्मेदवार उठाएको थियो । त्यसमध्ये ३१ क्षेत्रमा रास्वपाका उम्मेदवारले चुनाव जिते । दुई क्षेत्रमा पराजित हुन पुगे । रास्वपाबाट उम्मेदवार रहेका सबैले पाएको मत जोड्दा ९ लाख ६० हजार ३११ हुन्छ । यो समानुपातिक तर्फको मत भन्दा कम हो ।
कांग्रेसका प्रत्यक्षतर्फका उम्मेदवारहरूले पाएको कुल मत ३ लाख ६७ हजार ४९१ छ । यो प्रदेशबाट कांग्रेसले समानुपातिकतर्फ पाएको मत भने ३ लाख २१ हजार १०६ छ ।
एमालेको अवस्था पनि कांग्रेसको जस्तै छ । एमालेका उम्मेदवारहरूले पाएको मत जोड्दा ४ लाख ८८ हजार ८६३ पुग्छ । तर, एमालेले यो प्रदेशबाट समानुपातिक तर्फ भने २ लाख ६१ हजार ८९७ मत पाएको छ ।
बागमती प्रदेशबाट नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ १ लाख ८८ हजार १८२ मत पाएको छ भने राप्रपाले समानुपातिकतर्फ ७६ हजार ५२१ र श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ३१ हजार ४९३ मत पाएका छन् ।