चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन, असार मसान्तसम्म पुनर्तालिकीकरण सुविधा

काठमाडौँ, फागुन २९ गते । नेपाल राष्ट्र बैंकले एक पटकका लागि आवधिक प्रकृतिको स्थायी चालु पूँजी कर्जा आगामी असार मसान्तसम्म पुनर्तालिकीकरण गर्न सक्ने सुविधा दिएको छ । यसअघि मौद्रिक नीतिको समीक्षामार्फत घोषणा गरिएको व्यवस्थालाई निर्देशन जारी गर्दै बैंकले कार्यान्वयनमा ल्याएको हो ।
बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषण गरेर आवश्यकता र औचित्यका आधारमा मात्रै आगामी असार मसान्तसम्म यस्तो कर्जा पुनर्तालिकीकरण गर्न सक्ने राष्ट्र बैंकले प्रष्ट पारेको छ ।
‘यसरी गरिएको कर्जा पुनर्तालिकीकरणलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनर्तालिकीकरण भएको मानिने छैन’ राष्ट्र बैंकले निर्देशनमा भनेको छ ।
बैंक तथा वित्तीय संस्थाले चालु पूँजी कर्जाको आवश्यकता विश्लेषण गर्दा २ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा ४ करोडसम्म) चालु पूँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा समेत आवश्यकता पहिचान भएमा ‘स्थायी चालु पूँजी आवश्यकता’का लागि आवधिक प्रकृतिको चालु पूँजी कर्जा प्रदान गर्न सक्ने निर्देशनमा उल्लेख छ ।
चालु पूँजी कर्जाका विभिन्न खातामध्ये क्यास क्रेडिट कर्जा खातामा आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार ७ दिन कर्जा सीमाको ३० प्रतिशतभन्दा कम वक्यौता कायम भएको हुनुपर्नेगरी व्यवस्था गरिएको छ । यसअघि १० प्रतिशतको सीमा थियो ।