एनआरएनए १२ औँ विश्व सम्मेलन:’विदेशमा बगाएको पसिना नेपालमा लगानी गर्न कर्मचारीतन्त्र बाधक बन्यो’; पश्चिम एसियाको द्वन्द्वप्रति सरकार सजग छ : परराष्ट्रमन्त्री शर्मा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले विदेशमा रहेका नेपालीले पसिना बगाएर कमाएको पुँजी नेपालमा लगानी गर्न सरकार र कर्मचारीतन्त्र बाधक बनेको गुनासो गरेका छन्।
शनिबार एनआरएनएको महाधिवेशनमा बोल्दै उनले लगानीको वातावरण बनाउन र कानुनी अड्चन तत्काल फुकाउन सरकारसँग माग गरेका हुन्। अध्यक्ष केसीले विदेशी लगानी मात्र नभई नेपालीहरूकै लगानी नेपाल भित्र्याउन सकिने भए पनि विद्यमान ऐनमा तोकिएका न्यूनतम र अधिकतम लगानीको सीमाले समस्या पारेको बताए।
“पैसाको पनि लिमिट हुन्छ र? विदेशमा रगत पसिनाले कमाएको पैसा आफ्नो भूमिमा लगानी गर्न र देशलाई समृद्ध बनाउन बाटो खुलाइयोस्,” केसीले भने, “हामीले ल्याएको लगानीको नाफा तत्कालै विदेश फिर्ता लैजान खोजेका होइनौँ। हाम्रा छोराछोरीले यहीँ पढ्न पाउन्, यहाँ घर बनाउन र गाडी किन्न पाइयोस्। पैसा ल्याउन किन तगारो लगाइन्छ?”
५ वर्षअघि सुरु गरिएको १० अर्ब रुपैयाँको ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’ एउटा सामान्य सरकारी कागजको अभावमा अझै अगाडि बढ्न नसकेको भन्दै उनले मन्त्रालय र कर्मचारीतन्त्रको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरे। १५ दिनको अभियानमै ३७ करोड जम्मा भएको उक्त फन्डमा सरकारी अड्चन नभए एक महिनामै १० अर्ब जम्मा गर्न सकिने उनको दाबी थियो।
कार्यक्रममा अध्यक्ष केसीले साढे दुई वर्षअघि वितरण सुरु भएको ‘गैरआवासीय नेपाली नागरिकता’ सम्बन्धी अधिकार स्पष्ट गर्ने कानुन नबन्दा उक्त नागरिकता कागजको खोस्टो मात्र बनेको गुनासो गरे। उनले वर्तमान सरकारको १०० दिनको कार्यक्रमभित्रै एनआरएन नागरिकता ऐनलाई संसदबाट पारित गरी कार्यान्वयनमा ल्याउन माग गरेका छन्।
साथै, उनले विगतमा ३ वटा समूहमा विभाजित भएको एनआरएनए अब एकताबद्ध भएको सन्देश दिँदै यो एकतालाई बचाउन सम्पूर्ण गैरआवासीय नेपालीलाई आग्रह समेत गरे।
पश्चिम एसियाको द्वन्द्वप्रति सरकार सजग छ : परराष्ट्रमन्त्री शर्मा
अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिम एसिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र सजग रहेको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेका हुन् ।
पछिल्लो समय मध्यपूर्वमा विकसित घटनाक्रम र त्यसले हवाई सेवामा पारेको प्रभावका कारण नेपाली नागरिकहरूको आवतजावतमा प्रत्यक्ष असर परेको उल्लेख गरे । सम्भावित आपतकालीन अवस्थामा नागरिकका समस्या तत्काल सम्बोधन गर्न परराष्ट्र मन्त्रालयले ‘इमर्जेन्सी कन्ट्रोल रूम’ (आपतकालीन नियन्त्रण कक्ष) सञ्चालनमा ल्याइसकेको जानकारी उनले दिए ।
कन्ट्रोल रूममार्फत विदेशमा रहेका नेपाली नागरिक र स्वदेशमा रहेका उनीहरूका परिवारबिच मन्त्रालयले सूचना आदानप्रदान र समन्वयको सेतुका रूपमा काम गर्ने मन्त्री शर्माले प्रष्ट पारे । सम्बोधनकै क्रममा उनले पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकहरूलाई कुनै समस्या वा कठिनाइ परेमा तत्काल त्यहाँस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहन र आफ्नो अवस्थाबारे जानकारी गराउन अपिल समेत गरेका छन् ।
उनले भने- ‘वर्तमान समयमा विश्वका केही क्षेत्रहरूमा देखिएका अस्थिरता र द्वन्द्वले प्रवासमा रहेका नेपालीहरूको सुरक्षाप्रति चिन्ता बढाएको छ । नेपाल सरकार यसप्रति सजग छ । विशेषगरी पश्चिमी एसिया तथा मध्यपूर्व क्षेत्रका विकसित घटनाक्रमहरूका कारण त्यहाँ कार्यरत नेपाली नागरिकहरूको अवस्थाप्रति स्वाभाविक रूपमा हाम्रो चासो बढेको छ । यो क्षेत्रमा हवाई सेवा प्रभावित हुँदा नेपाली नागरिकहरूको आवत जावतमा समेत प्रत्यक्ष प्रभाव परेको देखिएको छ । यस परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षा, हित र सहायतालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक समन्वय र समन्वयात्मक कार्यहरू अघि बढाएको छ ।’
उनले थप भने, सम्भावित आपतकालीन अवस्थामा नागरिकको समस्या सम्बोधनका लागि परराष्ट्र मन्त्रालयले ‘इमर्जेन्सी कन्ट्रोल रूम’ सञ्चालनमा ल्याएको छ । यस कन्ट्रोल रूममार्फत विदेशमा रहेका नेपाली नागरिकहरू तथा नेपालमा रहनुभएका उहाँका परिवार र आफन्तहरूको बीचमा परराष्ट्र मन्त्रालयले पुनः सेतुको काम गर्नेछ । यसैगरी पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकहरूले कुनै समस्या वा कठिनाइको सामना गर्नुपरिरहेको छ भने सोको बारेमा जानकारी राख्नु हुन र त्यहाँ रहेको नेपाली राजदूतावासको सम्पर्कमा रहन समेत म यसै मञ्चबाट अनुरोध पनि गर्न चाहन्छु ।’
उनले विषम परिस्थितिमा विदेशमा रहेका नेपाली नागरिकहरूको हकहित संरक्षणका लागि एनआरएनएले गर्दै आएको सहयोग र सहकार्य उल्लेखनीय रहेको बताए ।