शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल

काठमाडौँ, वैशाख १३ गते । सरकारले मुलुकको समग्र शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जिम्मेवारी सम्हालेको एक महिनाको अवधिमा शिक्षा क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त राख्न विद्यालय र विश्वविद्यालय हाताभित्र रहेका दलीय विद्यार्थी सङ्गगठनका संरचना हटाउनेदेखि शैक्षिक वातावरण, गुणस्तर अभिवृद्धि, अनलाइनबाट एनओसी लिनेजस्ता महत्त्वपूर्ण निर्णय गरिएको छ ।

यसबिचमा विद्यार्थी भर्ना र शुल्क व्यवस्थापन, शैक्षिक क्यालेन्डर सुधारका कामलाई पनि कार्यान्वयनमा ल्याइएको छ । शिक्षामन्त्री पोखरेलले शिक्षाक्षेत्र दलीय राजनीतिमुक्त बनाउन हस्तक्षेपकारी पहल गर्नुभएको छ ।

दलीय सङ्गठनको विकल्पमा विद्यार्थीको वास्तविक प्रतिनिधित्व गराउन आगामी ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ जस्ता गैरराजनीतिक संयन्त्रको विकास गरिने छ ।

साठी दिनभित्र शिक्षण संस्थाबाट दलीय आधारमा बनेका सङ्गठनका संरचना हटाइने १०० बुँदे कार्यसूचीमा उल्लेख छ । काठमाडौँ विश्वविद्यालयबाट ‘स्टुडेन्ट’ काउन्सिल कार्य सुरु भएको छ ।

विश्वविद्यालय समन्वय समितिको हालैको निर्णय अनुसार सबैलाई विद्यार्थी सङ्गठन स्थापनका लागि भवन, जमिन उपलब्ध नगराउने, सङ्गठनका भौतिक सङ्केत हटाउने र कुनै कानुनी व्यवस्था गरेको भए खारेज गर्ने निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

स्नातक तहसम्मको अध्ययन गर्न नागरिकता नचाहिने

शिक्षा क्षेत्रको संरचनागत सुधारका लागि स्नातक तहसम्मको अध्ययनमा नागरिकताको अनिवार्यता हटाउने निर्णय गरिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले सार्वजनिक गरेको शासकीय सुधारको १०० बुँदे कार्यसूचीको बुँदा नम्बर ८८ मा विद्यार्थीलाई स्नातकसम्मको अध्ययनका लागि नागरिकता आवश्यक नपर्नेगरी विश्वविद्यालयले तत्काल कार्यविधि बनाउनुपर्ने उल्लेख छ । काठमाडौँ विश्वविद्यालयले कार्यविधि बनाउन लागेको छ भने अन्य विश्वविद्यालय कार्यान्वयनमा गइसकेका छन् ।

यस्तै, शैक्षिक क्यालेन्डर अनुसार समयमै नतिजा सार्वजनिक गर्ने र आगामी शैक्षिकसत्रदेखि कक्षा ५ सम्मका आन्तरिक परीक्षा बन्द गरी ‘वैकल्पिक मूल्याङ्कन प्रणाली’ लागु गर्ने तयारी गरिएको छ ।

नतिजामा आधारित शासकीय प्रबन्ध ‘डेलिभरी बेस्ट गभर्नेन्स’का लागि विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले परीक्षा सम्पन्न भएको मितिले दुई महिनाभित्र परीक्षाफल प्रकाशन गर्न परिपत्र भएको र सम्बन्धित संस्थाबाट कार्यतालिका तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीको क्षमता विस्तार गर्नका लागि जिआइडिसीमा भएको ‘नेटवर्क इस्यु’को समाधान भएको छ ।

परीक्षाको दुई महिनाभित्रै नतिजा

सिकाइ चौतारी मोबाइल एप विकास गरी सञ्चालनमा ल्याइएको छ । माध्यमिक शिक्षा परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको दुई महिनाभित्र नै रिजल्ट आउनेगरी तयारी भइरहेको छ ।

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ बमोजिम संस्थागत विद्यालयले अनिवार्य रूपमा छात्रवृत्ति उपलब्ध गराउनका लागि मन्त्रालयबाट सबै स्थानीय तहलाई परिपत्र भई सोको प्रतिवेदनसमेत प्राप्त भइसकेको छ ।

जेनजी आन्दोलनबाट प्रभावित परिवार र नागरिकलाई सरकारी सार्वजनिक तथा निजी क्षेत्रमा रोजगारीका अवसर, सीप, विकास, मनोसामाजिक परामर्श तथा पुनःस्थापना गर्न मन्त्रालयबाट परिपत्र भएको छ ।

प्रमाणपत्रहरू नागरिकले आधिकारिक मोबाइल एप, नागरिक एप वा इमेलमा डाउनलोड गर्न मिल्ने व्यवस्था मिलाउन विश्वविद्यालयलाई पत्राचार गरिएको छ ।

नेपाललाई आरोग्य पर्यटनको ‘हब’ बनाउन पाठ्यक्रम विकास केन्द्रलाई मौजुदा पाठ्यक्रम तथा पाठ्यपुस्तक परिमार्जनका बखत आरोग्य पर्यटनको नीति र सिद्धान्तलाई अनुशरण गर्न परिपत्र गरिएको छ ।

अब घरबाटै ‘एनओसी लेटर’

वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनसक्ने भएका छन् ।

शिक्षा मन्त्रालयअन्तर्गतको एनओसी शाखाले ‘एनओसी सर्टिफिकेट’लाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौँ विश्वविद्यालय(केयू)बिच हालै एपिआई गर्ने कार्य सम्पन्न गरेको हो ।

केयूसँग यसअघि नै सम्झौता भइसकेको छ । योसँगै विद्यार्थीले घरमै बसेर अनलाइनमार्फत एनओसीका लागि आवेदन दिन सक्नेछन् । अटिजम भएका बालबालिकालाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यसहित सरकारले सातै प्रदेशमा अटिजम नमुना विद्यालय स्थापना गर्ने घोषणा गरेअनुरूप उक्त कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन विभिन्न मन्त्रालयबिच समन्वय गरी अवधारणापत्र तयार गर्न प्राविधिक समिति गठन गरिएको छ । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter