डिजिटल रूपान्तरणका लागि सरकार र एडिबीबिच ऋण सम्झौता

काठमाडौँ, वैशाख १४ गते । नेपाल सरकार र एसियाली विकास बैँक (एडिबी) बिच ‘नेपाल डिजिटल रूपान्तरण परियोजना’ कार्यान्वयनका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित एक विशेष समारोहका बिच ४० मिलियन अमेरिकी डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय र एडिबीका तर्फबाट नेपालका लागि देशीय निर्देशक आर्नो कास्वाहले हस्ताक्षर गर्नुभयो ।

अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालका अनुसार यो परियोजना दक्षिण एसियामै पहिलो पटक एडिबी र विश्व बैँकको पूर्ण पारस्परिक निर्भरता ढाँचा (एफएमआरएफ) अन्तर्गत सह-वित्तीय लगानीमा सञ्चालन हुन लागेको हो । परियोजनाका लागि प्रमुख ऋणदाताको रूपमा विश्व बैँकले ५० मिलियन डलर उपलब्ध गराउने छ, जसको सम्झौता यसअघि नै भइसकेको छ ।

यस परियोजनाले सरकारी डेटा होस्टिङ तथा साइबर सुरक्षा पूर्वाधारलाई सुदृढ गर्दै डिजिटल प्रणालीको सुरक्षा र लचिलोपन अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।

आधुनिक र सेवाग्राहीमैत्री सेवा प्रवाहका लागि आवश्यक डिजिटल सार्वजनिक पूर्वाधारको विकास गर्नु यसको मुख्य उद्देश्य रहेको छ । यसले सरकारी डिजिटल प्रणालीको आधुनिकीकरण, संस्थागत संरचनाको सुदृढीकरण तथा डिजिटल प्लेटफर्मको प्रयोग विस्तार गरी पारदर्शिता र नागरिकको सरकारी सेवामा पहुँच पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

विशेष गरी यो परियोजना सरकारको सोह्रौँ पञ्चवर्षीय योजना तथा प्रधानमन्त्रीको १०० दिने सुशासन सुधार कार्ययोजनासँग प्रत्यक्ष जोडिएको छ ।

परियोजना अन्तर्गत सरकारी डिजिटल प्लेटफर्म र साझा सेवाहरूको स्तरोन्नति गरिनुका साथै साइबर सुरक्षा तयारी र मानव स्रोत क्षमताको विकासमा जोड दिइने छ । यसमा महिला, कमजोर वर्ग र डिजिटल सेवामा पहुँच सीमित भएका समुदायलाई लक्षित गरी समावेशी डिजिटल समाधानहरू विकास गर्ने कार्यक्रम समेत समावेश छन् ।

हस्ताक्षरपश्चात् मन्तव्य व्यक्त गर्दै एडिबीका देशीय निर्देशक आर्नो कास्वाहले नेपाल सरकारको समावेशी विकास र प्रभावकारी सेवा प्रवाहको प्रतिबद्धतालाई कार्यान्वयन गर्न यो परियोजनाले जगको काम गर्ने बताउनुभयो । उहाँले डिजिटल आधार सुदृढ भएसँगै सार्वजनिक संस्थाप्रति नागरिकको विश्वास अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी, अर्थ सचिव डा. उपाध्यायले नेपालले डिजिटल सुशासनमा प्रगति गरे पनि संस्थागत प्रणाली र अन्तरआबद्धतामा थप सुधार आवश्यक रहेको औँल्याउनुभयो । एडिबीको यो सहयोगले डिजिटल रूपान्तरणका प्राथमिकताहरूलाई तीव्रता दिने र नागरिकमैत्री सेवा विस्तारमा ठुलो मद्दत पुग्ने उहाँको भनाइ थियो ।

समारोहमा अर्थ मन्त्रालयका सह-सचिव डा. धनीराम शर्मासहित परियोजनासँग सम्बन्धित मन्त्रालयका उच्च अधिकारीहरू, एडिबी र विश्व बैँकका प्रतिनिधिहरूको उपस्थिति थियो । सम्झौतासँगै नेपालको सार्वजनिक क्षेत्रको कार्यक्षमता अभिवृद्धिमा नयाँ आयाम थपिने विश्वास लिइएको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter