कलङ्की–बसुन्धरा सडक विस्तारका सम्झौता : चीनले ११ अर्ब अनुदान दिने

काठमाडौँ, वैशाख १७ गते । चिनियाँ सहयोगमा चक्रपथ विस्तारको दोस्रो चरणको काम अघि बढ्ने भएको छ । चक्रपथ विस्तारअन्तर्गत सहायतासम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएसँगै निर्माणको बाटो खुलेको हो ।
भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबिच बुधबार यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार दोस्रो चरणमा कलङ्कीदेखि बसुन्धरासम्मको ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिने छ । यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपियाँ अनुदान उपलब्ध गराउने छ ।
यसअघि सन् २०१९ मा पहिलो चरण अन्तर्गत कोटेश्वरदेखि कलङ्कीसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ । चक्रपथको दोस्रो खण्डमा कुल ११.६ किलोमिटर विस्तार गर्ने लक्ष्य रहे पनि हाल बसुन्धरासम्मको खण्डलाई प्राथमिकता दिइएको छ ।
कलङ्की–महाराजगन्ज क्षेत्र विस्तारका लागि वि.सं. २०७४ फागुनमा समझदारी भए तापनि विभिन्न कारणले काम सुरु हुन सकेको थिएन । सन् १९७७ मा चीनकै सहयोगमा २७.२ किलोमिटर चक्रपथ निर्माण भएको थियो भने पहिलो खण्ड (कोटेश्वर–कलङ्की) को १०.३९ किलोमिटर सडक २०७५ माघमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा आउने समस्या तत्काल समाधान गर्दै सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालको पूर्वाधार विकासमा चीनबाट थप लगानीको अपेक्षासमेत गर्नुभयो। चिनियाँ राजदूत माओमिङले उपयुक्त वातावरण बनेमा धेरै चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको र विकासमा चीनको सहयोग निरन्तर रहने बताउनुभयो ।