९४ खर्ब ८४ अर्बको लेखापरीक्षण: १४ अर्ब ६३ करोड रुपियाँ असुल, बेरुजु दरमा वृद्धि

काठमाडौँ, जेठ १ गते । महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को ६३औँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा शुक्रवार आयोजित एक विशेष समारोहका बीच महालेखापरीक्षक रायाले सो प्रतिवेदन पेस गर्नुभएको हो ।

नेपालको संविधानको धारा २४१ बमोजिम महालेखापरीक्षकको जिम्मेवारी तथा धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन पेस गरिएको जानकारी दिँदै महालेखापरीक्षक रायाले सार्वजनिक स्रोत–साधनको परिचालन नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यका आधारमा लेखापरीक्षण गरी प्रतिवेदन तयार गरिएको बताउनुभयो ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ मा कुल ५ हजार ५२६ निकायको ९४ खर्ब ८४ अर्ब ५० करोड रुपियाँ बराबरको लेखापरीक्षण सम्पन्न गरिएको छ । जसमध्ये संघीय मन्त्रालय तथा निकायतर्फ ३ हजार ५० कार्यालयको २९ खर्ब १७ अर्ब ९५ करोड, प्रदेश मन्त्रालय तथा निकायतर्फ १ हजार १२४ कार्यालयको ३ खर्ब २० अर्ब ३० करोड, स्थानीय तहतर्फ ७२१ निकायको ११ खर्ब ९ अर्ब ५२ करोड तथा समिति एवं अन्य संस्थातर्फ ५७७ निकायको ४ खर्ब ४७ अर्ब ७७ करोड रुपियाँको लेखापरीक्षण गरिएको छ । यस्तै, संगठित संस्था तथा संघीय कानुनद्वारा स्थापित ४४ संस्थाको ५४ आर्थिक वर्षको ४६ खर्ब ८८ अर्ब ९६ करोड रुपियाँ बराबरको लेखापरीक्षण गरिएको छ ।

अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब

यस वर्षको लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपियाँ बेरुजु कायम भएको छ । जसमध्ये संघीय सरकारी कार्यालयतर्फ ५३ अर्ब ४८ करोड ७७ लाख, प्रदेश सरकारी कार्यालयतर्फ ५ अर्ब २२ करोड ८७ लाख, स्थानीय तहतर्फ १९ अर्ब ४ करोड ७७ लाख तथा समिति एवं अन्य संस्थातर्फ १० अर्ब ३२ करोड ७० लाख रुपियाँ रहेको छ । कुल १ लाख ८८ हजार ९१४ बेरुजु दफामध्ये ९४ हजार ४३८ दफा सैद्धान्तिक तथा ९३ हजार ४७६ दफा लगती बेरुजु रहेका छन् ।

यससँगै मुलुकको कुल अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड रुपियाँ पुगेको छ । गत वर्षको तुलनामा अद्यावधिक बेरुजु २.९९ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । अद्यावधिक बेरुजुमध्ये संघीय सरकारी कार्यालयतर्फ ३ खर्ब ७८ अर्ब ५४ करोड, प्रदेशतर्फ ३३ अर्ब ९६ करोड, स्थानीय तहतर्फ २ खर्ब २० अर्ब ४७ करोड तथा समिति एवं अन्य संस्थातर्फ १ खर्ब २२ अर्ब २० करोड रुपियाँ रहेको छ । यसबाहेक अतिरिक्त लेखापरीक्षण, राजस्व, शोधभर्ना तथा वैदेशिक अनुदान र ऋण रकमसम्बन्धी समयमै कारबाही हुनुपर्ने रकम ७ खर्ब ८७ अर्ब ८६ करोड ३ लाख रुपियाँ रहेको छ ।

१४ अर्ब ६३ करोड असुल

लेखापरीक्षणको प्रभावस्वरूप यस वर्ष कुल १४ अर्ब ६३ करोड २७ लाख रुपियाँ असुल भई सम्बन्धित राजस्व खातामा जम्मा भएको छ । जसमध्ये लेखापरीक्षणका क्रममा ५७ करोड ६९ लाख, प्रारम्भिक प्रतिवेदन पठाएपछि ९० करोड ४८ लाख तथा सम्परीक्षणका क्रममा १३ अर्ब १५ करोड १० लाख रुपियाँ असुल भएको हो । यस वर्ष कुल ६३ अर्ब १२ करोड ९५ लाख रुपियाँ बराबरको बेरुजु सम्परीक्षण गरिएको छ ।

वार्षिक प्रतिवेदन पेस गर्नुअघि कार्यालयबाट प्राप्त भएका सबै परीक्षण गरी संघीय, प्रदेश र स्थानीय तहसमेत गरी ९ सय २ वटा राय–सुझावसहितका प्रतिवेदन जारी गरिएको महालेखापरीक्षक रायाले जानकारी दिनुभयो ।

लेखापरीक्षणलाई थप पारदर्शी, निष्पक्ष र गुणस्तरीय बनाउन वेबसाइट, एफएम रेडियो तथा भर्चुअल अन्तरक्रियामार्फत सरोकारवालासँग समन्वय गरिएको तथा टोल–फ्री नम्बर र इमेलमार्फत गुनासो लिने व्यवस्था गरिएको कार्यालयले जनाएको छ । महालेखापरीक्षकको कार्यालयले यस वर्ष १५ विषयमा कार्यमूलक तथा एक विषयमा वातावरणीय विशेष लेखापरीक्षण सम्पन्न गरेको छ ।

महालेखापरीक्षक रायाले प्रतिवेदनमा औँल्याइएका विषयमा अपेक्षित सुधार नहुँदा उस्तै प्रकृतिका बेरुजु दोहोरिने गरेको उल्लेख गर्दै संघीय संसद्, प्रदेशसभा तथा स्थानीय तहबाट प्रतिवेदनमाथि प्रभावकारी कार्यान्वयन हुने अपेक्षा व्यक्त गर्नुभयो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter