एमाले सचिवालय बैठक: निर्वाचन र पार्टीको समीक्षा सुरु, ४ उपाध्यक्षले राखे नेतृत्व रुपान्तरणको माग

भक्तपुर, जेठ ८ गते । नेकपा (एमाले) को सचिवालय बैठकमा पार्टीको समग्र सांगठनिक अवस्था र गत निर्वाचनको समीक्षा सुरु भएको छ ।
शुक्रबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा नेताले पार्टीको आगामी कार्यदिशा र सांगठनिक सुदृढीकरणका विषयमा धारणा राख्नुभएको हो । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीका उपमहासचिव लेखराज भट्टले शुक्रबारको बैठकमा पाँच जना उपाध्यक्षले आफ्नो विचार प्रस्तुत गर्नुभएको जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठक मुख्यतया पार्टीको समग्र अवस्था र निर्वाचनको समीक्षामा केन्द्रित रहेको छ । निर्वाचनको समीक्षालाई दुई वटा पाटोबाट विश्लेषण गरेर अगाडि बढ्ने पार्टीको तयारी छ । उपमहासचिव भट्टले कार्यविभाजनको विषयमा आजको बैठकमा प्रवेश नभएको स्पष्ट पार्नुभयो । बैठकमा अध्यक्ष ओलीले छलफलका क्रममा आएका विषयहरूमा सहजीकरण गर्नुभएको थियो । नेताहरूले निकै खुलेर र गम्भीरतापूर्वक आफ्ना विचारहरू प्रस्तुत गरिरहेको भट्टले बताउनुभयो ।
उपमहासचिव भट्टले भन्नुभयो, “कार्यविभाजनको प्रस्तावमाथि आउने सुझावका आधारमा आवश्यक परे परिमार्जन वा संशोधन गरेर जान सकिनेछ । यो विषय कार्यसूची (एजेन्डा) का रूपमा आएपछि हामी आफ्ना कुराहरू राख्नेछौँ ।”
सचिवालयका बाँकी १२ जना सदस्यहरूले भोलिको बैठकमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ । अर्को बैठक शनिबार बिहान साढे ११ बजे पुनः अध्यक्ष ओलीकै निवासमा बस्ने गरी स्थगित भएको छ ।
एमाले बैठकमा ४ उपाध्यक्षले राखे नेतृत्व रुपान्तरणको माग
एमालेको सचिवालय बैठकमा पार्टीका चार जना उपाध्यक्षहरूले नेतृत्व रुपान्तरणको माग मागेका छन् ।
ओलीबाट पार्टी रुपान्तरण हुन नसक्ने निष्कर्षमा पुगेका उनीहरूले पार्टी रुपान्तरण र पुस्तान्तरणको माग गरेका हुन् । आजको बैठकमा ५ जना उपाध्यक्षहरूले बोलेका थिए ।
ती मध्ये विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विस्ट र रघुजी पन्तले रुपान्तरण र पुस्तान्तरणको धारणा राखेका हुन् । उपाध्यक्ष रामबहादुर थापाले भने ओलीको नेतृत्वको पक्षमा बोलेका थिए ।
‘हामीले रुपान्तरणको कुरा गरेका छौं’ एक उपाध्यक्षले भने,’यसबारेमा पार्टीका अन्य नेताहरूले धारणा राख्न बाँकी छ ।’ पाँच उपाध्यक्षले बोलेपछि आजको बैठक स्थगित भएको छ ।