यो वर्षको फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासक बन्यो : कावा मेयर डंगोल

काठमाडौँ, जेठ ९ गते । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा भएको यस वर्षको फिल्म फेस्टिभल नेपालका लागि ऐतिहसिक बन्न पुगेको बताएकी छिन् ।
फेस्टिभलमा भाग लिएर शनिबार स्वदेश फर्किएपछि त्रिभुबन विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै डंगोलले फेस्टिभलको इतिहासमा नेपाली चलचित्रलाई प्राप्त भएको यो पहिलो अवसर महत्वपूर्ण र ऐतिहासिक बन्न पुगेको बताएकी हुन् ।
फेस्टिभलमा अविनाश विक्रम शाहले निर्देशन गरेको नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग’ले अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ प्राप्त गर्नुले नेपाली चलचित्र तथा रचनात्मक उद्योग र कला क्षेत्रको उचाइ बढेको उनले बताइन् ।
‘फिल्म प्रदर्शनपछि हलमा उपस्थित दर्शकहरूले करिव ७–८ मिनेटसम्म उभिएर सम्मान दिएका थिए । यो क्षण सम्पूर्ण नेपालीका लागि भावुक र गर्विलो थियो । अन्तर्राष्ट्रिय मञ्चमा नेपालीले मन मात्र नभई उपाधि पनि जित्नु ठूलो उपलब्धि हो,’ उनले भनिन् ।
उनले अन्तर्राष्ट्रिय स्तरको ज्ञान, सिप र अनुभवको उपयोग र फिल्म महोत्सव मार्फत रचनात्मक उद्योगसँग सम्बन्धित क्षेत्रको सन्तुलित विकास गराउन महानगर उत्सुक रहेको धारणा राखिन् ।
‘सिर्जनशील क्षेत्रलाई ‘वान टाइम प्रोग्राम’ मात्र नभई संस्थागत स्वरूप दिन हामीले नीतिगत छलफल अगाडि बढाएका छौं । भ्रमणका क्रममा विभिन्न शहरका प्रतिनिधिहरूसँगको भेटमा काठमाडौं महानगरपालिकाले पहिलो पटक ‘काठमाडौं फिल्म फेस्टिभल’ आयोजना गर्न लागेको जानकारी गराउँदा उहाँहरू उत्साहित हुनुभएको छ,’ उनले भनिन् ।
फ्रान्सको कान्स नगरका मेयर डेभिड लिसनार्डको निमन्त्रणा फ्रान्स गएकी डंगोलले मेयर लिसनार्डलाई काठमाडौं चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा पनि दिएकी छिन् ।