प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ, जेठ २७ गते । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहले सीमासम्बन्धी दिनुभएको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ (सीमापार उपयोग) सँग सम्बन्धित रहेको स्पष्टीकरण दिनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै मन्त्री खनालले नेपाल–भारत सीमाका विभिन्न स्थानमा ‘क्रस बोर्डर अकुपेसन’ सम्बन्धी विवाद रहेको बताउनुभयो । उहाँले सरकारले सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न नेपाल र भारतका संयन्त्रमार्फत नक्साङ्कन (म्यापिङ) को काम गरिरहेको समेत जानकारी दिनुभयो । सीमासम्बन्धी विस्तृत विवरण नक्साङ्कन सम्पन्न भएपछि सार्वजनिक हुने उहाँको भनाइ थियो । सीमा क्षेत्रमा दुवै पक्षले आ–आफ्नो उपभोगमा रहेको भूभागमाथि दाबी गर्दै आएको बताउँदै प्रधानमन्त्रीले संसद्‍मा व्यक्त गर्नुभएको भनाइ पनि यही प्राविधिक यथार्थ र ‘क्रस बोर्डर अकुपेसन’ को सन्दर्भसँग सम्बन्धित रहेको उहाँले दोहोऱ्याउनुभयो ।

सदनमा जवाफ दिनुहुँदै परराष्ट्रमन्त्री खनालले भन्नुभयो, “नेपाल–भारतको सीमा नाकामा क्रस बोर्डर अकुपेसनसहित के–कति ठाउँमा समस्या वा विवाद रहेको छ भन्ने विषयमा संयन्त्रहरूले नक्साङ्कनको कार्य गरिरहेका छन् । यस विषयमा विस्तृत विवरण पछि प्राप्त हुने छ । प्राविधिक समितिको अध्ययनले कतिपय स्थान हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ ।” आ–आफ्नो उपभोगमा रहेको दाबी दुवै पक्षले गर्ने गरेको उल्लेख गर्दै उहाँले सम्माननीय प्रधानमन्त्रीज्यूले संसद्‌मा राख्नुभएको भनाइको सन्दर्भ यही प्राविधिक यथार्थसँग जोडिएको स्पष्ट पार्नुभयो ।

परराष्ट्रमन्त्री खनालले सीमा विवादको मूल प्रश्न यसको शान्तिपूर्ण निरूपण नै भएको बताउनुभयो । नेपाल–भारत सीमा द्विपक्षीय विषय भएकाले दुई देशबिच रहेको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि, सम्झौता तथा नक्साका आधारमा यस समस्याको समाधान कूटनीतिक संवाद र वार्तामार्फत गर्न नेपाल प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter