सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह नै जनताको चाहना : राष्ट्रपति पौडेल

काठमाडौँ, असार १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि सङ्घर्ष र बलिदान गरेका नेपाली जनताको चाहना भनेको नै सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तीब्र विकास, शान्ति र प्रगति भएको बताउनुभएको छ ।

लोकसेवा आयोगको ७६ औँ वार्षिकोत्सवमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले जनताको यो अभिष्ट पूरा गर्न आधुनिक समयमा राज्य संयन्त्रलाई समायानुकुल अझ जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन जरुरी रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “स्वउत्प्रेरित, अनुशासित, आचरणशील, नैतिकवान, जिम्मेवार तथा राष्ट्रपति समर्पित कर्मचारीले यो भूमिकालाई परिणाममुखी बनाउन सक्दछन् । प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्दछ । यसले नै लोकतन्त्रमा जनताको हित हुन्छ भन्ने भरोसालाई अभिवृद्धि गर्दछ ।”

राष्ट्रपति पौडेलले संविधानले अङ्गीकार गरेको समावेशी लोकतन्त्रको मर्म अनुरूप स्थापित योग्यता प्रणालीको रक्षा गर्नु र यसको जगलाई थप मजबुत बनाउनु पर्ने खाँचो अझै रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,“आयोगप्रतिको भरोसा र विश्वास एवम् यसले अवलम्बन गरेको सिद्धान्त र प्रणालीका कारण मिहिनेती युवाले लोकतान्त्रिक शासन व्यवस्थामा आफ्नो भविष्य सुरक्षित देख्न पाएको यथार्थलाई हामीले बिर्सन हुँदैन । विगतमा हासिल गरको अनुभव, ज्ञानसँगै विश्वव्यापीरूपमा विकसित यससम्बन्धी सिद्धान्त र प्रणालीसमेतको अध्ययनको आधारमा आफ्नो कामलाई भविष्यमा थप परिष्कृत गर्न आयोगले विशेष योगदान दिने नै छ भन्ने म ठान्दछु ।”

उहाँले लोकसेवा आयोग सरकारी सेवामा कर्मचारी छनाेट र भर्ना गर्ने एउटा महत्त्वपूर्ण निकाय भएको उल्लेख गर्दै यसले सदैव असल र उम्दा कर्मचारी छनाेट गर्न सक्ने गरी आफ्ना कामलाई आधुनिक प्रविधिमा आधारित बनाउँदै कर्मचारी छनाेटमा समयसापेक्ष परीक्षण विधि-प्रविधि अवलम्बन गर्दै जानुपर्नेतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “कर्मचारी छनाेट, बढुवा र परामर्शका क्षेत्रमा आयोगले आजसम्म गरेको योगदान प्रशंसनीय छ । यो विश्वास, भरोसा एवं प्रतिष्ठालाई आगामी दिनमा अझ प्रभावकारी तवरले पूरा गर्न तपाईँहरूले विशेष मिहिनेत गर्नु नै हुने छ भन्ने मैले विश्वास लिएको छु ।”

राष्ट्रपति पौडेलले लोकसेवा आयोगको कार्यक्षेत्र विस्तारसँगै आफ्ना कार्य सम्पादनलाई प्रविधिमैत्री, वैज्ञानिक, व्यवस्थित र गुणस्तर कायमै राखी भाबी योजना तय गर्नुपर्ने चुनौती रहेको भन्दै वार्षिकोत्सवको क्षणमा विगतको कामको समीक्षा र भाबी चुनौतीलाई सामना गर्ने गरी योजना तय गर्न सुझाव दिनुभयो ।

उहाँले राज्य सञ्चालनमा आवश्यक सरकारी निकायमा स्थायी सरकारका रूपमा रहने योग्य कर्मचारी छनाेट गर्ने संवैधानिक जिम्मेवारी पाएको लोकसेवा आयोगले साढे सात दशक लामो अवधिमा “योग्यता, निष्पक्षता र स्वच्छता” जस्तो मूल सिद्धान्तको जगमा रहेर प्रभावकारी तवरले कार्य सम्पादन गर्नु खुसीको विषय भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “विशेषतः निष्पक्षता र योग्यता कर्मचारी छनाेटको उच्चतम कसी हो । मूल्याङ्कनको यही अन्तर्यलाई अवलम्बन गरेकै कारण आयोगप्रतिको भरोसा आजसम्म अटुट छ । यो भरोसा र विश्वास नै आयोगको ठुलो सम्पत्ति हो । यसलाई अझ थप सुदृढ गर्दै आयोगलाई अझ सबल बनाउन तपाईँहरूको सतप्रयास निरन्तर रहने मैले विश्वास लिएको छु ।”

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter