पर्यटनसँगै संस्कृति जोगाउने अभियान

शालिग्राम नेपाल / चितवन, असार २१ गते । पर्यटन केवल घुमफिरको माध्यम मात्र होइन, स्थानीय अर्थतन्त्र, संस्कृति र सामाजिक एकतालाई सशक्त बनाउने आधार पनि हो । यसको उदाहरण बनेको छ चितवनको माडी नगरपालिका–६, लक्ष्मीवासमा सञ्चालित माडीभ्यू मध्यवर्ती सामुदायिक घरवास (होमस्टे) ।
केही वर्षअघिसम्म पर्यटकीय सम्भावना भएर पनि ओझेलमा रहेको यो गाउँ आज सामुदायिक घरबासमार्फत आर्थिक समृद्धि, सांस्कृतिक संरक्षण र ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।
यस अभियानको सुरुवात स्थानीयवासी जितबहादुर चापागाइँको एउटा सोचबाट भएको हो । कामको सिलसिलामा कञ्चनपुरको भीमदत्त नगरपालिका –१४, नयाँ कटानस्थित राना थारु होमस्टे अवलोकन गरेपछि आफ्नै गाउँका खाली कोठालाई पर्यटक बस्ने स्थानका रूपमा विकास गर्न सकिने उहाँको कल्पना थियो ।
त्यही कल्पनाले २०७६ सालमा मूर्तरूप लियो र स्थानीय समुदायको सहकार्यमा माडीभ्यू मध्यवर्ती सामुदायिक होमस्टे सञ्चालनमा आयो । २०२६ सालमा पर्वतबाट चितवन बसाइँ सरेका चापागाईं हाल बागमती प्रदेश सामुदायिक होमस्टे महासंघका उपाध्यक्षसमेत हुनुहुन्छ । उहाँको नेतृत्व र स्थानीयको सक्रिय सहभागिताले होमस्टे प्रदेश तथा राष्ट्रियस्तरमै परिचित बनेको छ ।
सुरुवातमा पाँच घरबाट सञ्चालन भएको होमस्टे अहिले नौ घरपरिवारको सहभागितामा विस्तार भएको छ । एक पटकमा ४० जनासम्म पाहुना राख्न सक्ने क्षमता रहेको यस होमस्टेमा बिदाका दिन अग्रिम बुकिङबिनै कोठा पाउन मुस्किल पर्छ ।
अध्यक्ष चापागाईका अनुसार साउन महिना यता प्रत्येक घरमा करिब ६ सय पर्यटक बसेका छन् भने सामुदायिक हलमा सातसयभन्दा बढी कार्यक्रम सम्पन्न भएका छन् । पछिल्लो समय पाहुनाको चाप उल्लेखनीय रूपमा बढेको छ ।
होमस्टेले स्थानीय परिवारको आर्थिक अवस्था सुधार्न पनि महत्वपूर्ण योगदान पु¥याएको छ । प्रत्येक सहभागी परिवारले मासिक करिब ४० हजार रुपियाँ आम्दानी गर्न थालेका छन् । यसले गाउँमै रोजगारी सिर्जना गर्नुका साथै स्थानीय उत्पादनको बजारसमेत विस्तार गरेको छ । तर, यहाँको आकर्षण केवल बासको सुविधा मात्र होइन ।
पाहुनाको स्वागत पञ्चेबाजाको धुनबाट गरिन्छ । स्थानीय लोकभजन, सांस्कृतिक प्रस्तुति, मौलिक खानपान र आत्मीय आतिथ्यले आगन्तुकलाई गाउँको जीवनशैलीसँग प्रत्यक्ष जोड्ने अवसर दिन्छ । घरकै उत्पादन भएको अन्न, विषादीरहित तरकारी र स्थानीय परिकारले पाहुनाको स्वाद मात्र होइन, गाउँको आत्मीयता पनि झल्काउँछ ।
अध्यक्ष चापागाईंका अनुसार आधुनिक जीवनशैलीसँगै लोपोन्मुख अवस्थामा पुगेका संस्कार र लोकसंस्कृतिलाई जोगाउने उद्देश्यले होमस्टेमार्फत नियमित रूपमा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिन्छ । उहाँका अनुसार होमस्टे अहिले आयआर्जनसँगै संस्कृति संरक्षणको प्रभावकारी माध्यम बनेको छ ।
क्षेत्री–बाहुन बाहुल्य लक्ष्मीवासमा विभिन्न समुदायका मानिसको बसोबास छ । यहाँ जितबहादुर चापागाईं, षडानन्द अधिकारी, खडक प्रसाईं, प्रेमकुमारी रेग्मी, धनकुमारी बरूवाल, कौशिला रेग्मी, झलकमाया सापकोटा, सीता सापकोटा र पदम पौडेलले संयुक्त रूपमा होमस्टे सञ्चालन गरिरहनु भएको छ ।
होमस्टेमा बस्ने पर्यटकका लागि आसपासका पर्यटकीय आकर्षण पनि तयार पारिएका छन् । पुष्प–मदन स्मृति वाटिका, निर्माणको अन्तिम चरणमा रहेको संग्रहालय, वनभोजस्थल तथा दृश्यावलोकन स्तम्भ प्रमुख आकर्षण हुन् । दृश्यावलोकन स्तम्भबाट माडीको फाँट, नवलपुरको दाउन्ने क्षेत्र तथा धौलागिरि र अन्नपूर्ण हिमशृङखलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
चापागाईंका अनुसार शान्त वातावरण, प्राकृतिक सौन्दर्य र मौलिक संस्कृतिको अनुभव लिन चाहनेका लागि लक्ष्मीवास उपयुक्त गन्तव्य हो । “सहरको कोलाहलबाट केही समय टाढा रहेर शान्त वातावरणमा बस्न, स्थानीय संस्कृति बुझ्न र मौलिक परिकारको स्वाद लिन यहाँ आउन आग्रह गर्छौं” उहाँले भन्नुभयो ।
उहाँले पर्सा जिल्लातर्फ रहेको हाल बन्द छोटी भन्सार सञ्चालनमा आए भारतबाट समेत ठुलो सङ्ख्यामा पर्यटक सहज रूपमा माडी भित्रिन सक्ने बताउनुभयो । त्यसबाट पर्यटनसँगै व्यापार, कृषि उत्पादन र स्थानीय अर्थतन्त्रले थप गति लिने उहाँको विश्वास छ ।
निजी र सामुदायिक दुवै प्रयासबाट पर्यटन प्रवर्धन भइरहेको माडी क्षेत्र आज संस्कृति, प्रकृति र सामुदायिक सहकार्यको उत्कृष्ट उदाहरण बनेको छ । आवश्यक पूर्वाधार विकास, प्रभावकारी प्रचार–प्रसार, सरकारी सहयोग र सिमा आवागमन सहज बनाउन सके माडीको पर्यटन राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि विशिष्ट पहिचान बनाउन सक्ने सम्भावना प्रबल छ ।