रास्वपासँग पद खोजेको होइन, विकास र समृद्धिको एजेन्डा साकार पार्न सहयोग गरेको हो : डा. भट्टराई

काठमाडौं, असार २२ गते । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि पुरानो पुस्ताले आफ्नो ज्ञान, अनुभव र सीप नयाँ पुस्तामा हस्तान्तरण गरेर सहयोग गर्नुपर्ने बताएका छन् । सोमबार राजधानी काठमाडौँमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
पुरानो पुस्ताको अनुभव र नयाँ पुस्तासँग रहेको विज्ञान तथा प्रविधिमा आधारित ज्ञान र सीपलाई मुलुकको स्रोत–साधनसँग जोडेर उपयोग गर्न सक्नुपर्नेमा उनले जोड दिए ।
हाल केही व्यक्तिले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको निकटताबारे प्रश्न गर्ने गरेको उल्लेख गर्दै डा. भट्टराईले आफूले पाँच दशकदेखि उठाउँदै आएको विकास र समृद्धिको एजेन्डालाई साकार पार्नका लागि नयाँ पुस्तालाई सहयोग गरिरहेको जिकिर गरे । देशमा विकास र समृद्धि हासिल गर्न सबैले दलगत स्वार्थभन्दा माथि उठेर नयाँ पुस्तालाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै उनले भने, ‘केहीले यसले रास्वपासँग के खोज्न लाग्यो भन्ने गर्नुभएको छ । मैले हिजो ५० वर्षदेखि जे भन्दै आएको छु, त्यही खोज्न लागेको हो । विकास र समृद्धि अब ल्याउनुपर्छ । हाम्रो पुस्ताले उहाँहरूलाई सहयोग गर्नुपर्छ । हामीसँग भएको ज्ञान र सीप हस्तान्तरण गर्नुपर्छ र उहाँहरूसँग भएको प्रविधिमा आधारित जुन ज्ञान र सीप छ, त्यसको आधारमा मुलुकमा उपलब्ध स्रोत र साधनको ठिक ढङ्गले प्रयोग गरेर देशलाई समृद्ध बनाएर लग्नुपर्छ । र तपाईँ हामीले पनि यो वा त्यो बहाना, यो पार्टी, त्यो पार्टी नभनी सहयोग गर्नुपर्छ । पार्टीहरू त हिजो राजनीतिक अधिकार र अधिकारको लडाइँको निम्ति बनाएको सङ्गठन हो । अहिले विज्ञान र प्रविधिको युगमा त्यो हतियार काम लाग्छ? त्यसकारण नयाँ हतियारसहित नयाँ पुस्ता अगाडि आउँदैछ त्यसलाई हामीले सहयोग गरेर मात्रै देशमा विकास र समृद्धि आउँछ ।’
पूर्वप्रधानमन्त्री भट्टराईले विज्ञान र प्रविधिको अहिलेको युगमा राजनीतिक अधिकार र व्यवस्थाको लडाइँका लागि स्थापना गरिएका पुराना राजनीतिक सङ्गठनहरू अब काम नलाग्ने दाबी समेत गरे ।