राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण; दुई विधेयक दफावार छलफलका लागि पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ, असार ३० गते ।राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
उहाँले आज सङ्घीय संसद्बाट पारित आर्थिक वर्ष २०८३र८४ को बजेटसँग सम्बन्धित तीन विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई आर्थिक वर्ष २०८३र८४ का लागि विनियोजित बजेट कार्यान्वयन गर्ने संवैधानिक तथा कानुनी बाटो खुलेको छ ।
दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत
प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलेले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावहरू बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । उहाँले प्रस्तुत गर्नुभएका ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत गरिएको हो ।
यसअघि बैठकमा मन्त्री गौतमले प्रधानमन्त्री शाहको तर्फबाट आर्थिक वर्ष २०८१/८२ का न्याय परिषद्को वार्षिक प्रतिवेदन, न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन र लोकसेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो ।
त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्नभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक असार ३१ गते बिहान ११ बजे बस्ने छ ।