साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षको राष्ट्रिय भेला; गगनले नचाहँदासम्म पार्टी मिल्दैन : खड्का

काठमाडौँ, साउन ६ गते । नेपाली कांग्रेसको संस्थापन इतरपक्षले साउन २९ गते राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ ।

कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले भेलाको मिति साउन २९ र स्थान काठमाडौँ तय गरेको घोषणा गरेका हुन् ।

कार्यक्रममा नेताहरू पूर्णबहादुर खड्का, विमलेन्द्र निधी, कृष्णप्रसाद सिटौला, डा. शशाङ्क कोइराला, डा. शेखर कोइराला लगायतले देशको अवस्था अत्यन्त जटिल अवस्थामा रहेको भन्दै यस्तो बेला पार्टीमा मतभेद होइन एकता गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रको आन्तरिक एकता कायम गर्ने साँचो नेतृत्वको हातमा रहेको बताएका छन् । बीपीको ४४औँ स्मृति दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा खड्काले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई इंगित गर्दै उनले सभापति गगन थापाले नचाहँदासम्म पार्टी मिल्न नसक्ने धारणा राखे ।

यद्यपि, आफूहरू पार्टीलाई एकताबद्ध राख्न अन्तिम समयसम्म लागिरहने उनले स्पष्ट पारे । नेता खड्काले ऐतिहासिक उदाहरण दिँदै पार्टीको भविष्य निर्धारण गर्ने निर्णय लिने जिम्मेवारी नेतृत्वकै भएको उल्लेख गरे । ‘यसअघि गिरिजाप्रसाद कोइरालाले फुटेको कांग्रेसलाई मिलाउने ऐतिहासिक निर्णय गर्नुभएको थियो,’ उनले भने, ‘आज पार्टी मिलाउने कि विभाजन गर्ने भन्ने जिम्मा गगनजी तपाईंको हातमा छ । तपाईंले नचाहँदासम्म पार्टी मिल्न सक्दैन, त्यसैले एकताको निर्णय लिन म आग्रह गर्दछु ।’

पार्टी एकताका लागि नियमित (१४औँ) महाधिवेशन र विशेष महाधिवेशनका संरचनाहरूलाई जोड्नुपर्ने प्रस्ताव खड्काले अघि सारे । १४औँ महाधिवेशनबाट बनेको कार्यसमितिलाई पाखा लगाएर विशेष महाधिवेशनको समितिलाई मात्र मान्यता दिँदा कानुनी नजिरहरू भत्किएको उनको तर्क थियो ।

‘नियमित र विशेष महाधिवेशनको केन्द्रीय समितिलाई जोड्नुस्, १५ औँ महाधिवेशन निष्पक्ष र स्वतन्त्र हुने ग्यारेन्टी गर्नुस्, कांग्रेस तत्काल एक हुन्छ,’ उनले भने । आफ्नो भेटमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले मिलाउने प्रतिबद्धता जनाए पनि बाहिर भने फरक कुरा आइरहेको उनले बताए ।

आफूहरूले पदको बार्गेनिङ नगरेको स्पष्ट पार्दै नेता खड्काले युवाहरूको रक्षाकवच बनेर उभिने प्रतिबद्धता व्यक्त गरे । ‘हामीले यसअघि नै सबै पदहरू पाइसकेका छौँ, हामीलाई अब कुनै पद चाहिएको छैन,’ उनले थपे, ‘हामी अन्तिम क्षणसम्म सहमतिका लागि लागिरहन्छौँ । तर, आफ्नो आत्मसम्मान त्यागेर समर्पण गर्न सकिँदैन, बरु त्यसका लागि मर्न तयार छौँ ।’

नेपालको राष्ट्रियता र लोकतन्त्र सङ्कटमा परेका बेला कांग्रेस एकजुट हुनुपर्ने राष्ट्रिय आवश्यकता रहेको खड्काले औँल्याए । बीपी कोइरालाले प्रतिपादन गरेको संवाद, सहमति र एकताको सिद्धान्तलाई व्यवहारमा लागू गरेर मात्र वर्तमान सङ्कट टार्न सकिने उनको बुझाइ छ । कांग्रेस एक भएमा मात्र संविधान निर्माण गर्ने सम्पूर्ण दलहरूलाई एकजुट बनाउने नेतृत्वदायी भूमिका खेल्न सक्ने उनले बताए ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter