सेवा प्रवाहमा सुधार : फेरिँदै कर्मचारीको कार्यशैली

नगेन्द्र सापकोटा / काठमाडौँ, असार ३२ गते । सरकारले सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएसँगै अहिले अधिकांश सरकारी कार्यालयमा सेवा प्रवाह सहज बन्दै गएका छन् । यसअघि अत्यावश्यक सेवा प्रवाह हुने जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग, भूमि प्रशासन कार्यालय (साबिकको मालपोत, नापी) यातायात कार्यालयलगायतका निकायमा अहिले सेवा सहज र प्रभावकारी बन्दै गएका छन् । नयाँ सरकारको आगमनसँगै स्थायी सरकारका रूपमा रहेको कर्मचारी संयन्त्रको कार्यशैलीमा पनि परिवर्तन देखिएको छ । यसअगाडि कार्यकक्षमा प्रायः नभेटिने कतिपय कर्मचारी अहिले दैनिक कार्यसूचीमै व्यस्त हुने गरेका छन् ।

दोलखा चरीकोट स्थायी घर भई जग्गाको काम लिएर भक्तपुरको भूमि प्रशासन कार्यालय आइपुग्नुभएका सुदन रिमालले पहिलाको तुलनामा भूमि प्रशासनको काम झन्झटरहित भएको आफूले पाएको बताउनुभयो । पहिला फाइल लिएर कोठैपिच्छे कुद्नुपर्ने थियो तर अहिले कर्मचारी आफैँले फाइलको सहजीकरण गर्ने गरेकाले भूमि प्रशासनसम्बन्धी अधिकांश काम सहज हुने गरेको उहाँले बताउनुभयो । रिमालले थप्नुभयो, “अहिले धेरै सेवाग्राही आफैँ सचेत भएका छन् । कर्मचारीको मनसाय पनि अलमल गर्ने छैन । निश्चित समय छुट्याएर कार्यालय गएपछि करिब सोही समयमै काम सम्पन्न भएको पाएको छु ।”

ललितपुर महानगरपालिकामा विज्ञापनका लागि आवेदन दिन जानुभएका भक्तपुरको लोकन्थली बस्ने गोविन्द पौडेलले अन्य कार्यालयमा जस्तो महानगरपालिकामा लाइन लागेर सेवा लिनुपर्ने झन्झट नभएको बताउनुभयो । “अहिले एकद्वारा सेवा केन्द्रमा फाइल छाडेपछि त्यहीँबाट काम हुन्छ । सेवाग्राहीले फाइल बोकेर कर्मचारी खोज्दै हिँड्नुपर्ने अवस्था महानगरमा नभएको आफूले पाएको छु,” पौडेलले भन्नुभयो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले गत छ महिना अगाडि प्रशासन कार्यालयमा सार्वजनिक सम्बोधन प्रणाली विकास गरी कार्यान्वयनमा ल्याएसँगै सेवा प्रवाह र सुशासनमा आमूल परिवर्तन भएको बताउनुभयो । यस प्रणालीबाट स्वतः बिचौलिया निरुत्साहित भई सेवा प्रवाहमा बिचौलियाको भूमिका शून्य भएको छ । सेवाग्राहीका लागि कागजात रुजु गर्ने, टोकन प्रणालीमा लिएर जाने र सार्वजनिक सम्बोधन प्रणालीबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । कर्मचारीले नै आवश्यक कागजात तयार गरिदिने फ्रन्ट डेस्क र हेल्प डेस्कमा कर्मचारी तयारी हुने गरेको प्रशासन कार्यालयले जनाएको छ । “यस प्रणालीले सेवाग्राही ठगिनुपर्ने अवस्था अन्त्य भएको छ । आमसरकारी कार्यालयलाई सेवा प्रवाह सञ्चालन गर्ने प्रणालीमा सुधार्नुपर्ने आन्तरिक दबाबसमेत यस प्रणालीले दिएको छ,” उहाँले भन्नुभयो ।

ललितपुर महानगरपालिकाले भने एकद्वार सेवा केन्द्रद्वारा सेवा प्रवाह गरेसँगै सेवा प्रविधिमैत्री र झन्झटरहित भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले भन्नुभयो, “एकद्वार सेवा केन्द्र सञ्चालनमा आएदेखि सेवाग्राहीलाई पटक पटक कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । अहिले पनि कतिपय सरकारी कार्यालयमा काम मिलाउन घण्टौँसम्म पनि लाइनमा बस्नु पर्छ भन्ने गलत भाष्य ललितपुर महानगरपालिकाले अन्त्य गरेको छ ।”

उहाँका अनुसार सेवाग्राहीको काम तत्काल सकिने भए एकद्वार सेवा केन्द्रबाटै जानकारी आउँछ । समय लाग्ने भए कति समय लाग्छ त्यसबारे सेवाग्राहीलाई जानकारी गराइन्छ । केही समय कुर्नुपर्ने अवस्था आयो भने सेवाग्राहीलाई यहाँ कुरेर बस्नु पर्दैन । आफ्नो अरू काम गर्न जान सक्नुहुन्छ भन्ने गरिएको छ । काम सकेपछि सक्यो भनेर हामीले म्यासेज पठाउने गरेका छौँ । अहिले महानगरपालिकामा सेवाग्राहीको खासै भौतिक उपस्थिति हुँदैन । सेवाग्राहीका सबै काम प्रणालीबाटै हुन्छ । कतिपय काम कार्यालयमै नआई सेवाग्राहीले घरैबाट वा अनलाइन माध्यमबाट सेवा लिने गरेको महानगरपालिकाले जनाएको छ । सरकारले यसअगाडि सार्वजनिक गरेको शासकीय सुधार अन्तर्गतको एक सय कार्यसूचीमा सेवा प्रवाहलाई सहज अनुगमन डिजिटल प्रणाली अपनाउने उल्लेख गरी कार्यान्वयनमा ल्याएको थियो । सरकारको शासकीय सुधारको अभियानको सकारात्मक प्रभावस्वरूप अहिले अधिकांश सरकारी कार्यालयमा सेवा प्रवाह र सुशासनमा परिवर्तन आएको हो ।

‘डेस्क’ मा कर्मचारी

यसअगाडि कतिपय कार्यालयमा कर्मचारी एक अर्का कार्यकक्षमा पुगेर अनावश्यक गफ गर्ने, क्यान्टिनमा बसेर समय बिताउने र विभिन्न ट्रेड युनियनको कार्यालय धाउने गरेकोमा अहिले भने सबै सरकारी कार्यालयको डेस्कमा कर्मचारी भेटिन थालेका छन् । खाजा खाने समयमा पनि सेवाग्राहीको सेवामा बाधा नपर्ने गरी पालोपालो गरेर खाजा खान थालेका छन् भने कतिपय कर्मचारीले त घरैबाट खाजा बोकेर ल्याउने गरिएको पाइएको छ ।

राष्ट्रिय सकर्तकता केन्द्रका सूचना अधिकारी सरिताकुमारी खतिवडाले केही अपवादबाहेक अधिकांश सरकारी कार्यालयको डेस्कमा कर्मचारी भेटिने गरिएको बताउनुभयो । केन्द्रले हरेक दिन जस्तो गर्ने अनुगमनबाट पनि सेवाग्राहीको चाप हुने र सेवा प्रवाह गर्नुपर्ने अधिकांश कार्यालयमा कर्मचारी डेस्कमै भेटिने गरिएको उहाँले स्पष्ट पार्नुभयो । विशेष गरी नीति निर्माण गर्ने निकाय सिंहदबारभित्रका मन्त्रालयमा भने कर्मचारी बिहान ९ देखि बेलुका ५ बजेसम्मै कार्यालयमा सेवा प्रवाह र भावी योजना बनाएर बस्ने गरेका छन् । काम नभएका समयमा भने सरकारका नीति, योजना कार्यक्रम र बजेटबारे अध्ययन गरी त्यसका लागि आवश्यक योजना तयार गर्ने गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रले गरेको कार्यालय र कर्मचारीको छड्के अनुगमन क्रममा पनि विगतका तुलनामा अहिले कर्मचारीको कार्यशैलीमा परिवर्तन आएको पाइएको खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारी खाजा खान जाँदा पनि लामो समयसम्म बस्ने, कार्यालयमा आकस्मिक रूपमा साथीहरू भेट्ने, एक अर्काको शाखा कार्यालयमा गएर अलमलिने कार्य अहिले रोकिएको छ ।”

स्वविवेक प्रयोग गर्दै कर्मचारी

अहिले अधिकांश कार्यालयका कर्मचारीले आफ्नो स्वविवेक प्रयोग गरेर समय, डे«सकोर्ड, अनुशासन पालना गरी कार्यान्वयन गर्न थालेका छन् । सरकारले कतिपय कुरामा नीतिगत सुधार गरेकाले त्यसको सकारात्मक प्रभाव कर्मचारीमा परेको हो । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले कर्मचारीले स्वविवेक प्रयोग गरी आत्मअनुशासित हुन थालेको बताउनुभयो । “मन्त्रालयले यस अवधिमा कर्मचारीकै लागि लक्षित गर्दै विभिन्न परिपत्र, नीतिगत निर्णय गरेकाले कर्मचारी आफैँले स्वविवेक प्रयोग गर्न थालेका हुन्,” उहाँले थप्नुभयो । कतिपय कार्यालयमा भने अझै पनि कार्यालयको संरचनागत सुधार भने आवश्यकै भएको मन्त्रालयले जनाएको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter