करदाता प्रोत्साहनको पहिलो नतिजा : २५० को सामान किन्दा १० लाख उपहार

काठमाडौँ, साउन २२ गते। कर प्रणालीमा व्यापक सुधार, वित्तीय सुशासन र आर्थिक पारदर्शिता कायम गर्ने नेपाल सरकारको नीति अनुरूप आन्तरिक राजस्व विभागले सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को पहिलो चरणको भाग्य चिठ्ठा (लकी ड्र) नतिजा सार्वजनिक भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा शुक्रबार आन्तरिक राजस्व विभागले साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता एवं करदाताहरूमध्येबाट पारदर्शी ढङ्गले पहिलो चरणका विजेता छनोट कार्यक्रम सम्पन्न गरेको हो। सो अवसरमा एक किराना पसलबाट २५० रुपैयाँको सामान खरिद गरी कुपन नम्बर ००७३१५२५४४९३ प्राप्त गर्ने उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार प्राप्त गर्नुभएको छ। उक्त पुरस्कार रकममा नियमानुसार २५ प्रतिशत कर कट्टा गरी तत्कालै ७ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिने विभागले जनाएको छ।
त्यसैगरी, अन्य १५ जना उपभोक्ताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ (कर कट्टा गरी नगद १ लाख रुपैयाँ) उपहार प्राप्त गरेका छन्। दुई करोड ५६ लाख ८ हजार ९४ वटा विद्युतीय र सात हजार ७७ वटा नगद कारोबारमध्येबाट पारदर्शी रूपमा विजेता छनोट गरिएको हो। विजेता छनोटका लागि निष्पक्ष र सुरक्षित मानिने ‘क्रिप्टोग्राफिकली सेक्योर युनिफर्म र्यान्डम स्याम्पलिङ विदआउट रिप्लेसमेन्ट’ विधि प्रयोग गरिएको विभागले जनाएको छ।
उपभोक्तामा सामान वा सेवा खरिद गरेपछि अनिवार्य रूपमा बिजक (बिल) माग्ने र व्यवसायीमा पनि अनिवार्य रूपमा बिल जारी गर्ने संस्कारको विकास गर्न सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यो योजना ल्याएको हो। मूल्य अभिवृद्धि कर (भ्याट) तथा अन्य कर चुहावट नियन्त्रण गर्न र मुलुकलाई सुरक्षित विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) को आधुनिक युगमा लैजान यो कार्यक्रम कोशेढुङ्गा साबित हुने सरकारको विश्वास छ।
यस उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताले www.prize.ird.gov.np वेबसाइटमा गई खरिद बिलको विवरण र बिक्रेताको स्थायी लेखा नम्बर (पान) प्रविष्ट गर्नुपर्नेछ। नगद भुक्तानी गरी कम्तीमा १०० रुपैयाँको खरिद गर्ने उपभोक्ताले बिल अपलोड गर्नुपर्नेछ भने विद्युतीय भुक्तानीमार्फत गरिने कारोबार प्रणालीबाट स्वतः समावेश हुने व्यवस्था गरिएको छ।