श्रमिकको उद्धारका लागि ‘सेल्टर हाउस’ स्थापना गर्न सरकारसँग एनआरएनएको माग

काठमाडौँ, साउन ३१ गते । नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार तथा सुरक्षित बसोबासका लागि सेल्टर हाउस स्थापना गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारसँग आग्रह गरेको छ ।
चीनको गोन्जाउमा शनिबारदेखि जारी एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनअन्तर्गत आयोजित ‘सुरक्षित वैदेशिक रोजगार र पुनःएकीकरण’ विषयक सत्रमा सहभागीहरूले श्रमिक समस्यामा पर्दा तत्काल सुरक्षित स्थानमा राख्ने व्यवस्था नभएकाले उद्धारमा खटिने एनआरएनए प्रतिनिधि समेत समस्यामा पर्ने गरेको भन्दै सेल्टर हाउस स्थापना गर्नुपर्ने माग गरे ।
यसका साथै वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, मर्यादित र अधिकारमुखी बनाउन पश्चिम एसियालगायत विभिन्न एसियाली मुलुकमा रहेका नेपाली श्रमिकको सुरक्षा, ठगी, मानव ओसारपसार, शोषण तथा असुरक्षित आप्रवासन नियन्त्रण गर्न समेत माग उठेको छ ।
त्यसका लागि सूचना, कानुनी सहायता र संरक्षण कार्यक्रम सञ्चालन गर्न, मलेसिया लगायत प्रमुख गन्तव्य मुलुकमा सेल्टर, अस्पताल तथा सिपमुलक तालिम केन्द्र स्थापना गर्न, वैदेशिक रोजगार राहत कोषको प्रभावकारी उपयोग गर्न भनिएको छ ।
आवश्यकताअनुसार एनसीसी अध्यक्षहरूलाई वाणिज्य दूत तथा श्रमदूतको जिम्मेवारी प्रदान गर्न, विदेशबाट फर्किएका श्रमिकको पुनःएकीकरण तथा उद्यमशीलता प्रवद्र्धन गर्न, नेपाली राजदूतावास तथा नियोगको डिजिटल सेवा विस्तार गरी प्रमुख श्रम गन्तव्य मुलुकका दूतावासमा अनिवार्य श्रमिक आवासगृह स्थापना गर्न नेपाल सरकारसँग माग गरिएको छ ।
सत्रका सभापति तथा एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेले धेरै नेपाली श्रमिक रहेका मुलुकमा सरकारले नै सेल्टर हाउस स्थापना गर्नुपर्ने बताए । श्रमिक समस्यामा पर्दा तत्काल सुरक्षित स्थानमा राख्ने व्यवस्था नहुँदा एनआरएनए प्रतिनिधिहरूले आफ्नै पहलमा व्यवस्थापन गर्नुपर्ने र कतिपय अवस्थामा त्यसैका कारण कानुनी तथा अन्य समस्या झेल्नुपर्ने अवस्था रहेको उनले बताए ।
उनले वैदेशिक रोजगारीमा जाने नेपालीलाई सिप सिकाएर मात्र विदेश पठाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए । सरकार र एनआरएनएको सहकार्यमा स्किल एकेडेमी वा सिप परीक्षण केन्द्र स्थापना गर्नुपर्ने उनले बताए । विदेशमा नेपाली समस्यामा पर्दा एनआरएनए प्रतिनिधिले तत्काल सहयोग गर्दै आए पनि औपचारिक कानुनी मान्यता नहुँदा समस्या हुने गरेको भन्दै उनले एनआरएनए प्रतिनिधिलाई अवैतानिक श्रमिक दूतका रूपमा मान्यता दिन सरकारसँग आग्रह गरे ।
एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले वैदेशिक रोजगारीको क्षेत्रमा अझ धेरै काम गर्नुपर्ने भएकाले यस विषयमा वृहत् छलफल आवश्यक रहेको बताए । उनले केही महिनाभित्रै नेपालमा वैदेशिक रोजगारसम्बन्धी छुट्टै वृहत् सम्मेलन आयोजना गर्ने जानकारी दिए ।
प्रतिनिधिसभा सदस्य तथा पूर्वसञ्चारमन्त्री जगदिश खरेलले विदेशमा रहेका एनआरएनहरूले राजदूतसरह नेपालीका समस्या समाधानका लागि काम गरिरहेको भन्दै प्रशंसा गरे । अवैतानिक दूतको पद सानो देखिए पनि नेपाली श्रमिकका समस्या समाधानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउँदै उनले आवश्यक विषयमा सरकारसमक्ष पहल गर्ने प्रतिवद्धता जनाए ।
प्रवासमा रहेका नेपालीका समस्या सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीले नजिकबाट बुझेको उल्लेख गर्दै उनले समाधानका लागि काम गर्ने बताए । वैदेशिक रोजगारीमा जाने श्रमिकको सिप विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनले बताए ।
प्रतिनिधि सभा सदस्य ऐन महरले वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउनुपर्ने बताए । नेपाललाई अदक्ष कामदार पठाउने देशका रूपमा मात्र चिनिने अवस्थाको अन्त्य गर्न सिप विकासमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । परराष्ट्र मन्त्रालयको डायस्पोरा समन्वय महाशाखाका उपप्रमुख कृशु क्षेत्रीले विदेशमा नेपाली दूतावास तथा नियोगपछि नेपालीले एनआरएनएलाई नै सम्झने गरेको बताइन् । सरकारले औपचारिक रूपमा मान्यता नदिए पनि एनआरएनले व्यवहारमा श्रमिक दूतकै रूपमा काम गरिरहेको भन्दै उनले प्रशंसा गरिन् ।
एनआरएनए उपाध्यक्ष जुनु गुरुङले वैदेशिक रोजगारीमा रहेका नेपालीको मानसिक स्वास्थ्यका विषयमा भइरहेको काम तथा आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमबारे जानकारी दिइन् । सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रमा सुरक्षित वैदेशिक रोजगार, सिपयुक्त जनशक्ति, विभिन्न मुलुकमा रहेका नेपाली श्रमिकका समस्या, समाधानका उपाय तथा स्वदेश फर्किएपछि पुनःएकीकरणका विषयमा छलफल भएको थियो ।
सहभागीहरूले अदक्ष कामदार मात्र नभई दक्ष जनशक्ति उत्पादन गरी विदेश पठाउने व्यवस्था गर्न सरकार, निजी क्षेत्र र एनआरएनएबीच सहकार्य आवश्यक रहेको बताए ।