अपाङ्गता भएका बालबालिकाको लागि घरदैलो अभियान
कञ्चनपुर, २८ असोज । अपाङ्गता भएका बालबालिकाको विद्यालयमा पहुँच पुयाउन कञ्चनपुरमा घरदैलो अभियान सञ्चालन गरिएको छ ।
सुस्त मनस्थिति र अपाङ्गता भएका बालबालिकालाई विद्यालयसम्मको पहुँच पुयाउनका लागि घरदैलो अभियानअन्तर्गत सचेतामूलक कार्यक्रम, तथ्याङ्क सङ्कलन र अभिभावकसँग भेटघाट कार्यक्रम सञ्चालन गरिएको हो ।
अधिकांश सुस्त मनस्थिति र अपाङ्गता भएका बालबालिकालाई अभिभावकले विद्यालय भर्ना गर्न नरुचाउने रहेका छन् । विद्यालय भर्ना गरिएका बालबालिकासमेत हीनता बोधका कारण निरन्तर विद्यालय नआउने गरेको झलारीको कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुदेवी बोहराले बताउनुभयो ।
अभिभावकको आर्थिक अवस्था कमजोर र अशिक्षित हुनेजस्ता कारणले सुस्त मनस्थिति र अपाङ्गता भएका बालबालिकालाई विद्यालयसम्म नपुयाउने गरेको पाएका छौँ उहाँले भन्नुभयो – “विद्यालयमा कुनै किसिमको विभेद नहुने भएकाले विद्यालय बाहिर रहेका सुस्त मनस्थिति र अपाङ्गता भएका पाँच बालबालिकालाई विद्यालय भर्ना गर्ने तयारीमा छौँ ।”
झलारी पिपलाडी नगरपालिका क्षेत्रमा मात्रै सुस्त मनस्थिति र अपाङ्गता भएका बालबालिकाको सङ्ख्या तीन दर्जनभन्दा बढी रहेको छ । जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले गत साउन महिनादेखि विद्यालय बाहिर रहेका बालबालिकाको तथ्याङ्क सङ्कलन गर्ने जिम्मा विद्यालयलाई दिएको छ ।
चालु शैक्षिकसत्रमा विद्यालय भर्ना भएका एक लाख ५५ हजार बालबालिकामध्ये छ प्रतिशत अर्थात् छ हजार बालबालिका विद्यालय बाहिर रहेको सहायक जिल्ला शिक्षा अधिकारी पदमराज भट्टले बताउनुभयो । उहाँका अनुसार जसमध्ये सुस्त मनस्थिति र अपाङ्गता बालबालिकाको सङ्ख्या पाँच प्रतिशतभन्दा बढी रहेको छ ।
“तथ्याङ्क सङ्कलनपछि विद्यालय बाहिर रहेका सुस्त मनस्थिति र अपाङ्गता भएका बालबालिकालाई विद्यालयसम्म पुयाउनका लागि विशेष कार्यक्रम ल्याउँदै छौँ” – उहाँले भन्नुभयो ।
त्यसैगरी, जुम्लाको तातोपानी गाविसको स्वास्थ्य चौकीमा अपाङ्गतामैत्री याम्प निर्माण गरिएको छ । अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य सेवा लिन सहज होस् भन्ने हेतुले गैरसरकारी संस्था आइएनएफ जुम्लाले याम्प निर्माण गरेको हो ।
आइएनएफ कार्यक्रम जुम्लाको करिब रु ३८ हजार सहयोग तथा तातोपानी स्वास्थ्य चौकीको साझेदारीमा २० मिटर लामो याम्प निर्माण कार्य सम्पन्न भएको हो ।
याम्प अपाङ्गतामैत्री बनेपछि बिरामी, गर्भवती, अपाङ्गता भएका व्यक्तिका साथै ज्येष्ठ नागरिकको उपचारको क्रम बढेको चौकी इन्चार्ज कमलसिंह कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार सानो लगानी भए पनि यो कार्य नतिजामुखी भएको छ ।
यसअघि जुम्ला अपाङ्ग पुनःस्थापना तथा विकास केन्द्रले जिल्लामा बन्ने सबै नयाँ संरचना अपाङ्गमैत्री बनाउने सवालमा वकालत गर्दै आएको छ ।
सरकारले २०६९ सालमा नेपाल सरकारका सबै भौतिक संरचना अनिवार्य अपाङ्गमैत्री बनाउनुपर्ने निर्देशिका ल्याए पनि त्यसको सही कार्यान्वयन हुन नसकेको केन्द्रका महासचिव रामकृष्ण न्यौपानेले बताउनुभयो । गाविसस्तरमा यसलाई पहिलो नमुना याम्पका रुपमा लिइएको छ । रासस